Logo

सहिदको सत्यतथ्य विवरण राख्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
आइतबार सहिद दिवसको अवसरमा प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरुको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताए । सहिद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा सहिद सम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै यस विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन् । उनले सहिदहरुको योगदानलाई चिरस्थायी बनाउन सरकारले सहिदका परिवारलाई सहयोग गर्ने तथा सहिदहरुको बारेमा युवा पुस्तालाई जागरुक बनाउनुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले सहिदहरुले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेको भन्दै सहिदहरुको परिकल्पनाअनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनुपर्ने बताए । प्रधानमन्त्री देउवाले अबको देशको गन्तव्य आर्थिक रुपान्तरण र सुशासन भएकोले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै र लोकतन्त्र संघीय शासन व्यवस्थालाई बलियो बनाएर मुलुकलाई चाँडै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रुपान्तरण गर्नुपर्ने बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहिदहरुको योगदानलाई सम्मान गरेर देश र जनताको लागि अठोटकासाथ अघि बढ्नुपर्ने बताए। उनले सहिदका सपनाहरुलाई साकार गर्न उनीहरुका सपनाको पहिचान गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्