Logo

पूर्वसांसद डा.मिठाराम विकद्वारा लिखित ‘डा.अम्बेडकरको जीवन र दर्शन’ पुस्तक विमोचन

पूर्वसांसद डा.मिठाराम विकद्वारा लिखित ‘डा.अम्बेडकरको जीवन र दर्शन’ पुस्तक आज विमोचन गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाली कांग्रेस (बीपी) केन्द्रीय कार्यसमितिले एक कार्यक्रमबीच उक्त पुस्तक विमोचन गरेको हो ।
किताबको विमोचन गर्दै नेपाली कांग्रेस (बीपी)का सभापति तथा पूर्वमन्त्री सुशीलमान शेरचनले जातीय प्रथा अन्त्यका लागि मानिसहरूको सोच परिवर्तन गर्नपर्ने बताए । उनले भने, ‘समाज परिवर्तनका लागि युवा तथा नयाँ पीढिहरू अगाडि बढ्नु पर्छ । बुढापाकाले गरेर अब केही हुँदैन ।’ शिक्षा अगाडि बढेमा मात्र आयस्रोत बढ्ने उनको भनाइ थियो । डा.मिठारामले लेखेको पुस्तकले समाजमा भएका नेता तथा जनताहरूलाई धेरै नै उर्जाशिल बनाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।
यसैगरी, नेपाली कांग्रेस (बीपी) का वरिष्ठ उपसभापति गोविन्द शर्मा पौडेलले डा.विकद्वारा लिखित पुस्तकबाट समाजमा एउटा व्यक्तिलाई आँट, साहस र हिम्मत प्राप्त हुने बताए । इमानदारिता र लगनशिलता भएमा प्रत्येक कुरामा सफलता प्राप्त गर्न सकिन्छ भन्ने पुस्तकमा दर्शाइएको टिप्पणी गरे ।
त्यस्तै, नेपाली कांग्रेस (बीपी)का महामन्त्री देवेन्द्र प्रकाश पौडेलले शहिदको विशेष दिनमा पुस्तक विमोचन गर्ने अवसर प्राप्त भएकोमा निकै खुशी लागेको बताए । उनले डा.अम्बेडकरले भारत स्वतन्त्रताको क्रममा भएको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराए । डा.अम्बेडकरले सामाजिक संघर्षको प्रार्दुभाव गराउन महत्वपूर्ण भूमिका निभाएको बताए ।
पौडेलले पूर्वसांसद डा.मिठाराम विश्वकर्मा पर्वतमा जन्मेर शिक्षण सेवामा काम गरेर २०६३ सालको आन्दोलनपछि सांसद भई काम गरेको दलितका छोरा भएको सुनाए । विकद्वारा लिखित पुस्तकबाट सबै समुदायका विशेष गरी आर्य समाजमा भएको विषयवस्तुहरूको ज्ञान लिन सकिने जिकिर गरे । उनले भने, ‘यो पुस्तकले बिग्रेको नेपाली संस्कृतिलाई रक्षा गर्ने पनि गर्नेछ ।’ शासकहरूलाई पनि यो पुस्तकले ज्ञान दिने उनको भनाई थियो । सबैले यो किताबको अध्ययन गर्न पर्नेमा जोड दिए ।
पुस्तकका लेखक तथा पूर्वसांसद डा.मिठाराम विश्वकर्माले जातिय र धर्मको परिवर्तन गर्न सबैभन्दा पहिला समाजको परिवर्तन हुनुपर्ने बताए । मानसिक परिवर्तन हुँदा मात्र वास्तविक खोजेको जस्तो परिवर्तन सम्भव हुनेमा उनले जोड दिए । समानुपातिक व्यवस्थानै उपयुक्त हुने भन्दै उनले आफ्नो पुस्तकमार्फत राज्य व्यवस्थाको तुलनात्मक अध्ययन गरेको पनि सुनाए । आफू लेखक नभएको भन्दै उनले साथीहरूको कारण मात्रै लेखन कार्य अगाडि बढाएको र उनीहरूकै हौसलाले गर्दा आज पुस्तक तयार भएको पनि जानकारी दिए ।
कार्यक्रममा बोल्दै पुस्तक प्रकाशक प्यासिफिक पब्लिकेसनका सञ्चालक ओमप्रकाश शर्माले आफ्नो पब्लिकेसनले हालसम्म धेरै किताब छापे पनि विकद्वारा लिखित ‘डा.अम्बेडकरको जीवन र दर्शन’निकै उत्कृष्ट रहेको सुनाए ।
डा.विकको प्रस्ताव राम्रो लागेर पुस्तकको सम्पादन पनि आफैंले गरेको बताए । पुस्तकमा दलित परिवारका डा.अम्बेडकरले दलित भएकै कारण अवसर नपाउने भन्ने कुराको भ्रम चिरेको बताए । अब नेपालमा हुँदै आएको प्रथाहरूको अत्न्य भइरहेको बताउँदै कयौ वर्षदेखि चल्दै आएको जातिय प्रथा पनि अन्त्य गर्न पर्ने उनले धारणा राखे । उनले भने, ‘अब समाजमा जातिय प्रथाको अन्त्य गर्नुपर्छ । ५ हजार वर्षदेखि दलित भनिने शब्दले दलितहरूलाई दबाउँदै आएको छ ।’ उनले समानताको समाज निर्माण गर्नुपर्ने बेला आएको बताए । पुस्तकको बारेमा थप जानकारी दिँदै उनले भने,‘यो पुस्तकमा डा.अम्बेकरको व्यक्तिगत जीवन, दोस्रोमा राजनैतिक र सामाजिक र तेस्रोमा धर्मको विश्वव्यापी धारणाको बारेमा प्रस्ट पारिएको छ ।’ उनले यो पुस्तक नेपाली सहित्यमा कोसेढुंगा साबित हुने पनि जिकिर गरे । महामन्त्री भक्तराज भुषालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्