पहिलो प्रादेशिक महोत्सव सम्पन्न «

पहिलो प्रादेशिक महोत्सव सम्पन्न

नेपालगन्जमा १० दिनअघि सुरु भएको पहिलो प्रादेशिक महोत्सवको बुधबार सम्पन्न भएको छ । महोत्सवको समापन सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले गरे ।
समापन कार्यक्रममा उनले आयात र निर्यातको खाडल दिनदिनै बढ्दै गएको भन्दै यस्तै अवस्था रहे देशको समग्र अर्थतन्त्र नै धराशायी हुने खतरा बढ्दै जाने चेतावनी दिए । उनले निजी क्षेत्र र सरकारले मिलेर आयातलाई निरुत्साहित गर्दै निर्यातलाई तिव्र गतिमा बढाउनुपर्नेमा जोड दिए । निर्यात बढाउने भन्ने कुरा धेरै पहिलेदेखि गरिँदै आए पनि त्यसको सकारात्मक परिणाम नदेखिएको प्रति उनले चिन्ता व्यक्त गरे । “यो अवस्था धेरै दिनसम्म राख्नु हुँदैन,” उनले भने, “अवस्था यस्तै रहने हो भने स्वदेशमा उत्पादन बढाउने र उद्योग व्यवसाय चलाउने सोच बनाएकाहरू निरुत्साहित हुनेछन् ।”
ढकालले कृषि, पर्यटन, उद्योग र कलकारखानामार्फत लाखौं नयाँ रोजगारी सिर्जना गरेर विदेशिएका लाखौं युवालाई फर्काउन नसकेसम्म आर्थिक समृद्धि सम्भव नरहेको बताए । बैंकको चर्को ब्याजका कारण उद्योग व्यवसाय धराशायी बन्दै गएको भन्दै उनले देशका दुई प्रमुख निजी क्षेत्र उद्योगी व्यवसायी र वित्तीय क्षेत्रबीच समझदारी गरेर ब्याजदरको समस्या समाधान गर्नुपर्ने जोड दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरू हेमराज ढकाल र कृष्णप्रसाद श्रेष्ठले देशको आर्थिक विकास र समृद्धिका लागि लगानीको वातावरण तयार पार्नुका साथै कानुनहरू बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर ५ का सदस्य नरेन्द्रराज शर्मा, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौला, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अच्यूत प्रसाईं र कोहलपुर उद्योग बाणिज्य सघका अध्यक्ष चक्र अधिकारीलगायतले नेपालगन्जलाई जडिबुटी र पर्यटन हब बनाउन माग गरेका थिए ।
कार्यक्रममा महोत्सव सफल पार्न सहयोग गर्ने तीन दर्जनभन्दा बढी उद्योगी, व्यवसायी, प्रायोजक, कलाकार र संघका पदाधिकारीलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्