गौतमबुद्ध विमानस्थलबाट वैशाखभित्रै अन्तर्राष्ट्रिय उडान

भैरहवा-गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २०७९ वैशाख महिना भित्रै व्यावसायिक उडान (अन्तर्राष्ट्रिय उडान) सुरु गर्ने जनाइएको छ ।
क्यालिब्रेशन फ्लाइटको तयारी भइरहेको विमानस्थलको उदघाटन २०७९ जेठ २ गते सोमबार बुद्ध जयन्तीका दिन गर्ने लक्ष्य रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भैरहवामा बताए । उद्धघाटन अघि नै चार्टड उडान सुरु गर्ने योजना सरकारको रहेको छ । अबका बाँकी काम सबै योजनावद्ध तरीकाले सम्पादन भए वैशाखभित्रै अन्तर्राष्ट्रिय उडान हुन्छ ।
“अहिले क्यालिब्रेशन अन्तरगत एरोथाई कम्पनीका प्राविधिकबाट पहिला नै जडान भएका सम्पूर्ण विद्युतीय उपकरणकको प्राविधिक जाँच भइरहेको छ” मन्त्री आलेले भने, “यो जाँच आठ दश दिनमा सकिए लगत्तै थाइल्याण्डबाट जहाज आएर फागुन ९ गते क्यालिब्रेशन फ्लाइट हुने छ ।”
क्यालिब्रेशन सकिएपछि अहिलेको एरोथाईको प्राविधिक टिमले अन्तरिम प्रतिवेदन ३–४ दिनमा र अन्तिम रिपोर्ट एक हप्तामा आउने बताइएको छ । जहाजबमट क्यालिब्रेशन गर्ने काम बढीमा १० दिनमा सकिनेछ । क्यालिब्रेशन सफल भएपछि फागुन महिनाभित्रै नेपाल एअरलाइन्सको एअरबस ३३० बाट परीक्षण उडान गर्ने बताइएको छ ।
शनिबार भैरहवामा मन्त्री आले, सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाह, प्रतिनिधि सभा सदस्य प्रमोदकुमार यादव, नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरसहित प्राधिकरणका उच्च अधिकारीहरुसँग एरोथाईका प्राविधिकले फागुन ९ गते वा सो भन्दा अगाडी नै क्यालिब्रेशन फ्लाइट हुने बताए ।
अहिले एरोथाईका प्राविधिकहरु भैरहवा आएर उपकरणहरु परीक्षणको काम गरि रहेको र सो काम सकिएपछि मौसम हेरेर जहाजलाई नेपाल ल्याउने प्रकृया सुरु हुने एरोथाईका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले बताए ।
मन्त्री आलेले बुद्ध जयन्तीका दिन उद्धघाटन र त्यस अघिबाट नै व्यावसायिक उडान सुरु हुने दाबी गरे । “बुद्ध जयन्तीमा आउने विदेशी पाहुना सिधै यही आउनेछन्, सेडयुलको फलाईट सम्भव नभए चार्टड फ्लाइट सुरु हुन्छ” मन्त्री आलेले भने । क्यालिब्रेशन पछि अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरणबाट कम्तिमा ५५ दिन र कममा ४२ दिनमा उडानयोग्य भएको पत्र आउने बताइएको छ ।
विमानस्थल निर्माण आयोजनाअन्तर्गत आइसिबी टु को ठेक्का थाइल्याण्डको एरो थाइ कम्पनीले पाएको थियो । आइसिबी टु अन्तर्गत मौसम, सञ्चार, विमानको दिशा पत्ता लगाउने संयन्त्रको, रनवे लाइट, टावरका उपकरणलगायत पर्छन् । एरोथाईका ४ प्राविधिक आएर पहिला नै जडान भएका उपकरण परीक्षण ४ दिन अघिबाटै गरेको विमानस्थल निर्माण आयोजना आइसिबी टु का प्रमुख तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रवीण न्यौपानेले बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सबै सकिएको आयोजना प्रमुख ईन्जिनियर प्रबेश अधिकारीले बताए ।
विमानस्थलमा क्याटोगरी नाइनको अग्नि निवारण तथा जीवनोद्वार सेवाको लागि आधुनिक दमकल तथा एम्बुलेन्स, ३ सय ट्रली, प्रस्थान कक्षका लागि ५ सय कुर्सी आइसकेको छ । नेपाल प्रहरीका एसपीको नेतृत्वमा विमानस्थल सुरक्षा एकाई खडा भइसकेको छ ।
२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया“मा ग्लोबल टेन्डरबाट आईसिबि जिरो वान प्रोजेक्ट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो ।
तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते शिलान्यास गरेको यो विमानस्थल विभिन्न कारणले समयमै सम्पन्न हुन नसके पछि पटक पटक निर्माण सम्पन्न गर्ने मिति पछि धकेलिएको हो ।