दुर्गममा बैंक पुगेनन्

स्थानीय तहको निर्वाचन सकिएको ६ महिना बितिसक्दा पनि कैलालीका केही दुर्गम स्थानमा बैंकिङ सेवा सुरु हुन सकेको छैन । वाणिज्य बैंकहरूले प्रदेश ७ का ३६ वटा स्थानीय तहमा थप शाखा विस्तार गर्ने प्रस्ताव गरेपनि कैलालीका दुर्गम स्थानीय तहमा भने बैंकिङ सेवा सुरु हुन नसकेको हो । कैलालीका मोह्न्याल गाउँपालिका,चुरे गाउँपालिका, गौरीगंगा नगरपालिका, जानकी गाउँपालिका, कैलारी गाउँपालिका र जोशीपुर गाउँपालिकामा बैंक खुल्न सकेको छैन । सरकारको निर्देशन बमोजिम हरेक स्थानीय तहका (गाउँपालिका)मा शाखा विस्तार गर्न केन्द्रिय बैंक (नेपाल राष्ट्र बैंक) ले वाणिज्य बैंकलाई पत्राचार गरेको छ ।
जिल्लाका कैलारी गाउँपालिका, गौरीगंगा नगरपालिका जोशीपुर गाउँपालिकामा एडिबिल बैंक, एनएमबी बैंक र एनआईसी एसिया बैंक खोल्न तयारीमा रहेका छन् भने मोह्न्याल गाउँपालिकामा भौतीक पूर्वाधारका कारण बैंक सञ्चालन गर्न असहज भएको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय,धनगढीका उप–निर्देशक दिर्घ रावलले बताए । मोहन्याल गाउँपालिकामा ग्लोबल बैंकको शाखा विस्तार गर्ने लक्ष्य भएपनि सड्क,विद्युत र बैंकिङ्का आवश्यक सामाग्री पुराउन असहज भएको छ । उनले भने, “दुर्गम तथा विकट्ताका कारण कर्मचारी जान आनाकानी गर्ने गरेका छन् ।” यो जाने नजाने केही दिनमै टुंगो लाग्ने उप–निर्देशक रावलले बताए । चुरे गाउँपालिकामा सनराइज बैंकले फागुन देखी बैंकिङ कारोबार सुरु गर्ने लक्ष्य लिएको छ भन त्यसैगरी जानकी गाउँपालिकामा सिभिल बैंकले पनि कारोबार सुरु गर्ने लक्ष्य लिएको छ ।
जिल्लाका दुर्गम भेगका जनताहरू स्थानीय तहमा बैंकिङ सेवा नहुदाँ बैंकिङ सेवा भएको स्थानीय तहमा आएर बैंकिङ कारोबार गरिरहेका छन् ।‘प्राय: बैंकिङ सेवाहरू सहरमुखी सुविधाजनक ठाउँमा मात्र उपलब्ध हुँदै आएकोमा अब ग्रामिण क्षेत्रमा समेत सेवादिनुपर्ने धनगढी उपमहानगरपालिका १३ का वडा अध्यक्ष विजय जोशीले बताए ।
विकास निर्माण स्थानीय तहका कार्य तथा विदेशबाट आउने रेमिटान्स लिनका लागि यी दुर्गम गाउँपालिकाबाट एक दिन लगाएर धनगढी मुकाम आउने गरेका छन् । यातायातको समस्याका कारण मोह्न्याल गाउँपालिकाबाट १ दिन हिँडेर र १ दिन धनगढी मुकाममैमा बास बस्नुपर्ने अवस्था हुने गरेको स्थानीय वासिन्दा वसन्ती बि.क ले बताइन् ।