Logo

रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

भक्तपुर- संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधिमण्डलले सुपथ मूल्यमा रासायनिक मल उपलब्ध गराउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
सो टोलीले कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई भेटी किसानका समस्या र मलको अभावबारे मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । सांसद सुवालले प्रदेशको सचिवस्तरीय बैठकबाट हचुवाको भरमा रासायनिक मलको कोटा वितरण गरिएको अविलम्ब पुनरावलोकन गर्न कृषि मन्त्रालयको ध्यानाकर्षण गराउँदै सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्नुपर्नेमा जोड दिए ।
उनले नेपाल सरकारबाट अनुदान प्राप्त रासायनिमक मल कृषकहरुले समयमै प्राप्त गर्न नसक्दा कृषि उत्पादनमा कमी आउने र खाद्यान्न उत्पादन समेत घट्ने र खाद्यान्न आयात झन बढ्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण गराए ।
उनले रासायनिमक मल उपलब्ध गराउन कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीमा समेत आवश्यक पदाधिकारीको व्यवस्था गरी पर्याप्त मल आपूर्ति गर्न मन्त्रालयको ध्यानाकर्षण गराए ।
कृषि मन्त्रालयका सचिव डा. शर्माले कृषकहरुको मागबमोजिम मन्त्रालयले आवश्यक मलखाद उपलब्ध गराउन लागिपरेको बताए । उनले भक्तपुरलाई आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कृषि सामग्री कम्पनीका कार्यकारी निर्देशकसहित मल खरिदको १ अर्व ५३ करोड रुपियाँ भ्रष्टाचारको मुद्दामा परेको हुँदा उक्त ठाउँमा नयाँ कर्मचारी पूर्ति गर्न नसकेर मल खरिद प्रक्रिया अघि बढ्न नसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्