सुनसरीका पानी उद्योगलाई कारवाही «

सुनसरीका पानी उद्योगलाई कारवाही

सुनसरीका विभिन्न स्थानमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले बजार अनुगमन गरेको छ ।
अनुगमनका क्रममा एक पानी उद्योगलाई सिलबन्दी गरेको छ भने दुई पसललाई जरिवाना समेत गरेको छ । सुनसरीको इनरुवा नगरपालिका –२ मा सुर्दशन माधवले सञ्चालन गरेको जयप्रकाश जल उद्योगलाई सरसफाईको न्यूनतम मापदण्ड पूरा नगरेको तथा विगतमा गरेको अनुगमनका क्रममा दिएको निर्देशन पालना नगरी पानी उत्पादन गरेको भन्दै अनुगमन टोलीले सो कम्पनीलाई सिल गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
सुनसरीको इनरुवा नगरपालिका–४ मा सञ्चालन भएको आरएन डिपार्टमेन्ट स्टोरले भारतबाट भन्सार छली क्यारिङ, साइकलबाट बिस्कुट भुजिया, चिनीलगायतका दैनिक उपभोग्य वस्तु खरिद गरी बिक्रीमा राखेको भनदै जरिवाना गरीएको अनुगमन टोलीले जनाएको छ ।
यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–१७ मा एडि ट्रेड एण्ड सप्लायर्सले भन्सार छली गरेर ल्याएका सामान बिक्रीमा राखेको कसुरमा २० हजार जरिवाना गरिएको पोखरेलले बताए । विशेष उजुरीको आधारमा अनुगमन गर्दा उक्त पसलले ‘अन कल एक्ट्रा ब्रान्ड’ को रगतमा ग्लुकोजको मात्रा परीक्षण गर्न मूल्य बराबरको सामग्री बिक्री गरेकाले जरिवाना गरिएको पोखरेलले बताए ।
अनुगमन टोलीले व्यापारीहरूलाई खाद्य वस्तुको कालोबजारी तथा मूल्य वृद्धि नगरी बिक्रीवितरण गर्न निर्देशन दिइएको र पुनःबिल बिजक बिना सामान बिक्री गरेको भेटिए जरिवाना वृद्धि तथा पसल सिल गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्