Logo

साताव्यापी निःशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न

थानकोट जेसिज र महानगरीय प्रहरी वृत्त थानकोटद्वारा संयुक्त रुपमा आयोजित ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ अन्तर्गत चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रमा निःशुल्क मास्क वितरण गरी कार्यक्रम समापन गरिएको छ ।
पछिल्ला दिनमा बढ्दै गरेको ओमिक्रोन कोरोना संकमण न्यूनीकरण गर्न चन्द्रागिरि नगरका मुख्य स्थान थानकोट, चेकपोस्ट, बलम्बु गुर्जुधारा, सतुंगल, तीनथाना, नैकाप, दहचोक, सिर्जनाचोकमा निःशुल्क मास्क वितरण गरिएको थियो ।
शनिबार कार्यक्रमको समापन गर्दै चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले कोरोना नियन्त्रणमा नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको बताए । उनले भने, “आफूलाई पायक पर्ने स्थानमा गई कोरोनाविरुद्धको खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न म नगरबासीलाई आग्रह गर्दछु ।”
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिकाको सहकार्यमा आयोजित सो कार्यक्रममा चन्द्रागिरि–१ का वडाध्यक्ष राजेन्द्र केसीले समाज रूपान्तरणमा जेसिजको अभियान महत्वपूर्ण रहेको जनाउँदै कोरोना महामारी रोकथाम र न्यूनीकरणमा सामूहिक प्रयत्नको खाँचो रहेको औंल्याए । चन्द्रागिरि–१३ का वडाध्यक्ष बालमुकुन्द विडारीले कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधारणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै ?’ अभियान फलदायक रहेको विश्वास व्यक्त गरे ।
कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जनचेतना कार्यक्रमले आम नागरिकको स्वास्थ्य सुरक्षामा प्रभावकारी भूमिका खेलेको जनाउँदै संक्रमणबाट बच्न र बचाउन मास्क अहिलेका लागि प्रभावकारी माध्यम रहेको बताए । उनले भने, “चेतना फैलाउने काम प्रहरीले निरन्तर जारी राख्छ ।”
थानकोट जेसिज २०२२ का अध्यक्ष रोशन दानीले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि थप जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे । उनले भने, “सामाजिक कामका लागि जेसिज सबैसँग सहकार्य गर्न तयार छ ।” संस्थापक अध्यक्ष नन्ददास अमात्यले बजारक्षेत्रमा सर्वसाधारण र सवारी चालकलाई मास्क वितरण अभियानका क्रममा मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुन सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिए ।
महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले पछिल्लो समय मुलुकमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई जोगाउनका लागि अभियान सञ्चालन गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्