Logo

रात्रिकालीन व्यवसायीद्वारा ४ लाखलाई सडकमा उतार्ने चेतावनी

रात्रीकालीन व्यवसायीहरूले एक साताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी दिएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै व्यवासायीहरूले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदुरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।
कार्यक्रममा बोल्दै दरबारमार्ग व्यवसायी संघ (किङ्स लाउन्ज)का संयोजक कुमार गुरुङले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न नदिए आफूहरू लाखौंको संख्यामा एकसाथ सडकमा उत्रने चेतावनी दिए । उनले भने, ‘वार्षिक ५ अर्बसम्म कर बुझाउने हाम्रो व्यवसाय बन्द हुँदा आत्महत्याको अवस्थामा पुगिसक्यौं । हाम्रा लागि सडकमा उत्रनुको विकल्प छैन ।’ गृह मन्त्रालय, पर्यटन मन्त्रालय तथा सम्बन्धित निकायमा पुगेर आफूहरूको पीडा सुनाए पनि सुनुवाई नभएको बताए । गुरुङले रात्रिकालिन पेशा व्यवसाय सबैभन्दा पहिला बन्द गर्ने र सबैभन्दा पछि खोलिने गरिएको भन्दै असन्तुष्टि पोखे । यस क्षेत्रमा काम गर्ने हजारौं बेरोजगार भई देशमा अर्को संकट आउने खतरा औल्याए । उनले भने,‘सार्वजनिक स्थानमा हजारौको संख्यामा भेला हुँदा कोरोना नसर्ने तर राति ८ बजेपछि मात्र कोरोना सर्ने ?’ उनले प्रश्न गरे ।
अमेरिका जस्ता ठूलो देशमा पहिलो यही पेशा बन्द गरिए पनि पछिल्लो समयमा भने खुलाएको बताए । नेपालमा कुनै आधार नभई बन्द गरिएकोमा आफूहरूको आपत्ति रहेको सुनाए । उनले भने,‘यो पेशाको आधारमा मात्रै कतिलाई कोरोना सर्यो र यो व्यवसाय बन्द गर्दा कति कोराना घट्यो ? त्यसको कुनै डाटा छैन् बिना आधार हाम्रो व्यवसाय बन्द गरिँदैछ ।’ देशमा राज्य नभएको महसुस गरिरहेको बताए ।
कानुनी राज्य भएको देशमा सबै पेशा व्यवसायको सुरक्षित र व्यवस्थित हुनुपर्नेमा उनले जोड दिए । राज्यलाई आफूहरूको समस्याको समाधान गर्न उनले आग्रह गरे । सरकारले सञ्चालन गर्ने अनुमति दिएमा आफूहरूले आदेशको उल्लंघंन नगरी रात्रिकालिन व्यवसायहरू संचालन गर्ने पनि बताए । धेरै जनता रोगले भन्दा पनि भोकले मर्ने अवस्थामा पुगेको बताए ।
रात्रिकालीन मनोरन्जन व्यवसायको अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रन वाध्य हुने चेतावनी दिए । उनले भने, ‘एक लाख व्यवसायीहरू र ३ लाख मजदुर एकसाथ सडकमा उत्रनेछौं, समयमै सरकारको चेत खुलोस् ।’ आफ्ना समस्याहरू सुनाउन धेरै मन्त्रालयलमा पुगिसकेको बताए । तर, आश्वासन आउने कार्यान्वयन नहुने गरेको बताए । जिम्मेवार निकायमा पुग्दा आफूहरूले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनेमा ढुक्क नभएको खड्काले बताए । उनले भने, ‘उहाँहरूले जतिसक्दो चाँडो खुलाउने आश्वासन दिनुभएको छ तर कार्यान्वयन हुनेमा ढुक्क छैनौं ।’ उनले अन्य पेशा व्यवसायलाई जस्तै रात्रिकालिन व्यवसाय पनि स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चानल गर्न पाउनुपर्ने माग राखे । उनले भने, ‘हामी पनि अन्य व्यवसायी जस्तै हौ । आफूहरूले कानुनअनुसार व्यवसाय गर्ने अधिकार पाउनुपर्ने बताए । त्यसको तत्काल वातावरण बनाइदिन आग्रह गरे ।
त्यस्तै, दोहोरी व्यवसायी संघको अध्यक्ष बिनोद श्रेष्ठले रात्रिकिालीन व्यवसाय बन्द हुँदा कामदाहरूले धमाधम आत्महत्या गरिरहेको बताए । आफूहरूका लागि अब संघर्षमा उत्रनुको विकल्प नभएको बताए । उनले भने, ‘कोरोना पहिलो र दोस्रो भेरियन्टको समयमा २ सय ५० जनाभन्दा बढी कामदारले आत्महत्या गरिसके ।’ सरकारले बिना अध्ययन नै यो व्यवसायलाई बन्द गराउँदा संचालक मात्र नभएर त्यहाँ कार्यरत श्रमिकहरूको समेत बिजोग भएको बताए । यसले सामाजिक र आर्थिक क्षेत्रमा दूरगामी समस्या आइसक्दा पनि सरकारको चेत नखुलेको बताए ।

पहिलो पटक कोरोना महामारीमा झ्याप्पै बन्द गरेको सुनाए । उनले भने, ‘कोरोनाको पहिलो पटक डराएर सरकारले भने अनुसार सोही समयमा व्यवसाय बन्द गरायौं । तर अहिले सुरक्षित भएर व्यवसाय सञ्चालन गर्न सक्ने भएका छौ ।’ कोरोनाको दोस्रो भेरियन्टमा पनि निर्देशिका अनुसार व्यवसाय सञ्चालन गर्न आफूहरू तयार रहेदाँ राज्यले जबरजस्ती बन्द गराएको गुनासो पोखे । उनले यो व्यवसायलाई अन्य पेशाजस्तै मर्यादित बनाएर चलाउन दिएमा उत्कृष्ट तरिकाले स्वास्थ्य मापदण्डअनुसार सञ्चालन गर्न सकिने जिकिर गरे ।
सरकारले माघ १५ पछि खोल्छौ भनेर आश्वासन दिएपनि आफूहरू अझै विश्वस्त नभएको उनले बताए । उनले भने, ‘उनले घरभाडा तिर्न गाह्रो हुन्छ । स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले व्यवस्थित गरेर व्यवसाय संचालन गर्न पाउनुपर्छ ।’ सरकारले अझै व्यवसाय खोल्न नदिए सम्पूर्ण क्षतिपूर्ति व्यहोर्नुपर्ने माग गरे ।
यसैगरी, कार्यक्रममा बोल्दै व्यवसायी केशरबहादुर बुढाथोकीले अन्य पेशा व्यवसायभन्दा सबैभन्दा बढी मर्कामा पर्ने रात्रिकालीन व्यवसाय भएको बताए । यसरी पटक–पटक व्यवसाय बन्द गराइदा अरबौं नोक्शान भएको बताए । उनले युवाहरूलाई विदेश पलायन हुनबाट जोगाउन नेपालमै रोजगारी श्रुजना गरेको तर राज्यले आफूहरूलाई बर्बादीमा धकेलेको सुनाए । उनले भने, ‘कर तिर्ने व्यवसायीको बर्बादी राज्यको बर्बादी हो ।’
राज्यले आफूहरूलाई उपेक्षित र हेलित व्यवहार गरेको टिप्पणी गरे । उनले भने,‘रातीको ८ बजेपछि मात्र कोरोना सर्ने ? राज्यले हामीलाई सौतेलो व्यवहार गरेको छ ।’ लामो समयसम्म व्यवसाय बन्द हुँदा घरको भाडा पनि तिर्न गाह्रो भएको बताए । आधा व्यवसायीहरू विस्थापित भएको र बाँकी रहेकाहरू पनि अब पलायनतर्फ लागेको सुनाए । कोभिड–१९ को महामारी पश्चात जम्मा २ वर्ष यता ५ महिनामात्रै व्यवसाय सञ्चालन गरेको भन्दै अन्य महिनामा कता कता खोजेर भाडा तिरेको उनले सुनाए । उनले सरकारसँग एक साताभित्र व्यवसाय खुलाउन नदिए सडकमा उत्रने चेतावनी दिए ।
व्यवसायीहरूले लकडाउन अवधिले पारेको असर न्यूनीकरण गर्न यस क्षेत्रको व्यवसायी, मजदुर तथा कर्मचारीहरूलाई प्रत्यक्ष अनुभुति हुने गरि विशेष आर्थिक राहत प्याकेजको व्यवस्था गर्न, अन्य पेशा जस्तै दोहोरी साँझ तथा रात्रिकालीन मनोरन्जन व्यवसायलाई पनि सरकारले आफ्नो प्राथमिकतामा समावेश गर्नेलगायतका मागहरू राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्