अति धनाढ्य १ % सँग ८२ प्रतिशत सम्पत्ति «

अति धनाढ्य १ % सँग ८२ प्रतिशत सम्पत्ति

गत वर्ष सुपर धनी र विश्वका बाँकी मानिसहरूबीचको सम्पत्तिको अन्तरमा वृद्धि भएको छ । अल्पसंख्यकको हातमा धेरै धन थुप्रिएपछि यस्तो अवस्था सिर्जना भएको दावी अक्सफामले गरेको छ ।
गत वर्ष बढेको झन्डै ८२ प्रतिशतको सम्पत्ति विश्वको जनसंख्याको १ प्रतिशतले ओगटेको र सर्वाधिक गरिब ५० प्रतिशतको हातमा कुनै सम्पत्ति नपरेको परोपकारी संस्थाले जनाएको छ ।
कर छली, नीतिमा फर्महरूको प्रभाव, कामदारको अधिकारमा आएको गिरावट र लागत कटौतीले धनी र गरिबबीचको अन्तरमा थप वृद्धि भएको बताइएको छ ।
अक्सफामले विगत पाँच वर्षदेखि समान किसिमको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।
गत वर्ष विश्वका सर्वाधिक धनी आठ जनासँग रहेको सम्पत्ति विश्वका सर्वाधिक गरिब आधासँग रहेको सम्पत्ति बराबर भएको अक्सफामले जनाएको छ ।
अक्सफामका प्रमुख कार्यकारी मार्क गोल्डरिङले असमानताको तह स्वीकार गर्नै नसकिने अवस्थामा पुगेको बताए ।
अक्सफामको यो प्रतिवेदन डाभोसमा आयोजना हुन लागेको वल्र्ड इकोनोमिक फोरमको सम्मेलनकै समयमा आएको छ ।
असमानताले एजेन्डामा उच्च प्राथमिकता पाउने भएको छ ।
१० वटा मुलुकका ७० हजार मानिसमाझ गरिएको सर्भेले दुईतिहाइले आफ्नो सरकारले धनी र गरिबबीचको आम्दानीको अन्तरलाई तत्काल सम्बोधन गरोस् भन्ने इच्छा व्यक्त गरेका छन् ।
खुला बजार थिंक ट्यांक द इन्स्टिच्युट अफ इकोनोमिक अफेयर्सका महानिर्देशक मार्क लिटलवुडले अक्सफाम गरिबसँग भन्दा पनि धनीसँग चिढिएको बताएका छन् ।
“उच्च कर र पुनर्वितरणले गरिबलाई सघाउनका लागि केही पनि गर्नेछैन । धनी मानिसहरू उच्च कर तिर्नेमा पर्छन् । उनीहरूको सम्पत्तिमा आउने गिरावटले पुनर्वितरणको अवस्थातर्फ लादैन,” उनले भने ।
चीन, भारत र भियतनामले नव उदार सुधारलाई कार्यान्वयनमा ल्याएको र यसले सम्पत्तिको अधिकारलाई बल प्रदान गरेको, नियमनलाई घटाएको र प्रतिस्पर्धालाई बढाएको छ । विश्वका गरिबहरूले व्यापक मात्रामा आफ्नो पारिश्रमिकमा वृद्धि भएको पाएका छन् र यसले बढी समान किसिमको विश्वव्यापी आम्दानी वितरणको अवस्था सिर्जना गरेको छ ।
भारतमा पनि सर्वाधिक धनी १ प्रतिशतसँग पूरै मुलुकको ७३ प्रतिशतसँगको बराबर सम्पत्ति भएको अक्सफामको प्रतिवेदनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्