Logo

इसेवाले हरेक व्यवसायमा अनलाइन कारोबारलाई प्रोत्साहन गर्ने प्रयास गरिरहेको छ

सुभास सापकोटा, प्रमुख कार्यकारी अधिकृत, इसेवा


डिजिटल रूपमा भुक्तानी सेवा दिँदै आएको निजी कम्पनी ‘इसेवा’ १३ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पु-याउन सफल भएको छ । यो १३ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ६० लाख पुगेको छ । बिजुलीको महसुल भुक्तानी, इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न इसेवाले सजिलो बनाएको छ । यसै सन्दर्भमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटासँगको कुराकानीको क्रममा उनले विभिन्न सेवाप्रदायक संस्थाको सेवा लिन लाग्ने लाइनलाई धेरै हदसम्म कम गराउन पाएकोमा खुसी व्यक्त गरे । नेपाल हस्तलिखितबाट कम्प्युटराइज अनि कम्प्युटराइजबाट डिजिटलाइज हुने चरणमा रहेकाले सबै क्षेत्र यसमा लाग्नुपर्ने बताए । प्रस्तुत छ इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटासँग गरिएको कुराकानीको सार :

इसेवाको अहिलेसम्मको यात्रा र उपलब्धिहरू केके हुन् ?
इसेवा स्थापना भएको १३ वर्ष पूरा भएको छ । १३ वर्षको अन्तरालमा धेरै अवसर र चुनौतीको सामना गर्नुपरेको छ । स्थापित हुनका लागि धेरै संघर्ष गर्नुपरेको थियो । स्थापना भएपछि सबैभन्दा पहिला हामीसँग डिजिटल कारोबारका लागि चाहिने पूर्वाधारहरू थिएनन् । मोबाइल पेमेन्ट भनिरहेका थियौँ । त्यति बेला मोबाइलसमेत थिएन । इन्टरनेट सेवा सबै स्थानमा पुगेको थिएन । बैंकिङ सेवाको हिसाबले अहिलेको डिजिटल कारोबारका लागि सहज रूपमा भौतिक पूर्वाधारहरू थिएन । हामीले इसेवा सुरु गर्दा यस्ता संरचनाहरूको अभाव झेल्नुपरेको थियो । इसेवा स्थापना भएको चार÷पाँच वर्षको दौडानमा मोबाइल फोन सबैको हात–हातमा पुग्न थाल्यो । २०६२-६३ सालको जनआन्दोलनपश्चात् मोबाइल फोन सहज रूपमा सबैको हातमा पुग्न थाल्यो । त्यस्तै, इन्टरनेट सर्भिस कम्पनीहरूको विकास पनि तीव्र गति बढ्दै गयो । त्यसपछि डिजिटल कारोबारका लागि बिस्तारै संरचनाहरूको विकास भयो । डिजिटल कारोबार गर्नका लागि मोबाइल, इन्टरनेट सेवाको चुनौती पार लगायौँ । तर, कारोबार गर्नका लागि सरकारसँग डिजिटल कारोबारसम्बन्धी कानुन नै थिएन । इसेवा कम्पनी रजिस्टारमा दर्ता भएर अन्तर्राष्ट्रिय प्रयोगका आधारमा चलिरहेको थियो । नेपालमा कानुन बनेको थिएन । त्यतिबेला इसेवाजस्तो संस्थालाई कसले नियमन गर्ने, कसले लाइसेन्स दिने, जनताले कसरी विश्वास गर्ने, इसेवामा राखेको पैसाको सुरक्षा कसरी हुन्छ, त्यहाँ भएको पैसा इसेवाले राख्न पाउने हो कि नपाउने हो भन्ने धेरै चुनौतीहरू थिए । यस्ता चनौतीहरू स्थापनाको दोस्रो फेजमा आएपछिका थिए । अहिले यस्ता खालका चुनौतीहरू समाधान भइसकेका छन् । अहिले राज्यले डिजिटल कारोबारका लागि कानुन बनाएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार गर्न लाइसेन्स दिने, त्यस्ता संस्थालाई नियमन गर्ने गरी छुट्टै विभाग स्थापना गरेको छ । यसरी कुनै पनि संरचना र कानुनबिना स्थापना भएको इसेवा अहिले संरचना र कानुन बनेर सहज रूपमा आइपुगेका छौँ । अब हाम्रो लागि नयाँ चुनौतीहरू थपिएका छन्, जसमा सुरक्षाको चुनौती छ । डिजिटल पेमेन्टबाट मात्रै अब यो इसेवा चल्छ कि चल्दैन भन्ने चुनौती आएका छन् । ग्राहकले इसेवाबाट डिजिटल कारोबार त भयो, अब योभन्दा बाहेक आर्थिक कारोबारको डिजिटल लाइसेनको प्रक्रिया के हो भन्ने ग्राहकको चाहना रहेको छ । पछिल्लो समय इसेवाले यस्ता खालका चुनौतीहरू सामना गरिरहेको छ । यसरी हेर्दा १३ वर्षको दौडानमा इसेवा दुई–चार लाख लगानी गरेर स्थापना गरिएको कम्पनी हो । आजको दिनसम्म आइपुग्दा यस्ता चुनौतीहरूलाई साथसाथै लिएर आउँदा स्टार्टस कम्पनी एउटा उद्योगको रूपमा परिणत भएको छ । यो उद्योग नेपालमा आफैँमा युनिक छ । इसेवाले नेपालको आर्थिक विकासलाई सहयोग गरौँ भने जुनसुकै उद्योगमा राज्यले लगानी गर्छ । राज्यले नै सुरुवात गर्छ । नेपालमा बैंकिङ क्षेत्रलाई हेरौँ, बैंकलाई राज्यले स्थापना ग¥यो । बैंकले यस्तो वस्तु व्यापार गर्न मिल्छ भनेर कानुन निर्माण ग¥यो र जनतालाई जनचेतना जगायो । त्यसपछि निजी क्षेत्रले बैंक खोल्न सुरु गरे । इन्स्योरेन्स पनि बैंकजस्तै प्रक्रियाले यहाँ आएको छ । अन्य विकास निर्माणका कम्पनी पनि राज्यले नै सुरुवात गरेको थियो । पछि निजी क्षेत्रलाई लाइसेन्स दिएको हो । तर, पेमेन्ट कारोबार गर्ने व्यापार राज्यले लगानी गरेर नेपालमा अगाडि सारेको होइन, इसेवाले लगानी गरेर सुरु गरेको हो । इसेवाजस्तो सानो स्टार्टसको कम्पनीले योचाहिँ व्यापारको मोडल हुन्छ भनेर देखाउन सक्यो । मार्केटलाई बुझाउन, नियमन निकाय, राज्यलाई बुझाउन सक्यो । त्यसैले राज्यले हाम्रो व्यापारको मोडललाई स्वीकार गरेर अहिले कानुन बनाएर पेमेन्ट भन्ने पनि नयाँ उद्योग हो भन्ने बनाउनलाई इसेवाले नेतृत्व तहमा बसेर बाटो देखाउने काम गरौँ । सुरुवातमा ५ लाखको लगानीबाट आज आएर सबै सहभागितालाई हेर्दा २७ वटा पीएसपी कम्पनीहरू छन् । १० वटा पीएसो कम्पनीहरू छन् । यसरी सबै लगानीलाई जम्मा गर्दा खर्बाैंमा पुगिसक्यौँ । यो इसेवालाई सही बाटोमा बजारलाई लान सकियो । यसलाई नै इसेवाको उपलब्धिको रूपमा लिन सक्छौँ ।

नेपालमा डिजिटल कारोबारका लागि पूर्वाधार र नीतिगत व्यवस्था कस्तो छ ?
डिजिटल कारोबारमा पूर्वाधार विकासको हिसाबले हेर्दा सहज अवस्थामा छौँ । मोबाइल, इन्टरनेट, डिजिटल कारोबार गर्न आवश्यक मोबाइल डिभाइसको उपलब्धता रहेको छ । यता ग्राहकहरूमा डिजिटल कारोबारसम्बन्धी ज्ञान, पछिल्लो समय सामाजिक सञ्जालहरूले पनि डिजिटल च्यानलमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै मानिसहरूलाई अभ्यस्त बनाएको छ । डिजिटल कारोबार गर्नको लागि पूर्वाधार विकास र मानिसहरूमा डिजिटल कारोबारबारेको जानकारीका आधारमा सहज भएको छ । कोरोना महामारीको पछिल्लो दुई वर्षमा सर्भिस प्रोभाइडरहरूले पनि डिजिटल पेमेन्ट स्वीकार गर्नुभएको छ । डिजिटल पेमेन्टका लागि सरकार समेत राजस्व संकलन शतप्रतिशत गर्ने विषयमा डिजिटल पेमेन्ट स्वीकार गर्ने पक्षमा छ । यसरी पूर्वाधारको विकासका हिसाबले हेर्दा पूरा भएको छ । कानुनी हिसाबमा हेर्दा राष्ट्र बैंकले छुट्टै विभाग खडा गरेर भुक्तानी ऐन नै ल्याएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैँ क्यूआर कोड लागू गर्न अभियान नै चलाउनुभएको थियो । यसरी हेर्दा अबको यात्रा डिजिटल पेमेन्ट नै हो भन्ने नियमन निकाय र सरकारले स्वीकार गरेको छ । अहिले बनेको डिजिटल ऐन छ, त्यो डिजिटल कारोबारका लागि राम्रो रहेको छ । अहिलेको अवस्थामा नेपालमा डिजिटल पेमेन्टका लागि पूर्वाधार र डिजिटल ऐन कानुनका हिसाबले सहज नै रहेको छ ।

हामीले दिएको सेवा र विश्वमा चलिरहेको सेवामा के फरक छ ?
अन्तर्राष्ट्रिय बजारमा रहेका डिजिटल पेमेन्ट कम्पनी नेपालको इसेवामा फन्डामेन्टिली रूपमा फरक छैन । जसमा इसेवा सरकारको लगानीमा स्थापना भएको हो कि निजी क्षेत्रको नेतृत्वमा लगानीमा भन्ने विषयमा मानिसहरूमा ग्याप रहेको छ । यो बाहिरको मोडल र नेपालको मोडलमा फरक हो । यसमा इसेवा जसरी स्थापना भयो यसैमा यो व्यापार आफंैमा युनिक छ । इसेवाजस्तो कम्पनी विश्वका विकसित तथा विकासोन्मुख देशहरूमा भेटिँदैन । इसेवालाई हामीले नेपालको माटो सुहाउँदो रूपमा विकास गरेको भन्न सक्ने अवस्थामा छौँ । जसरी जनतालाई इसेवासहित डिजिटल पेमेन्टलाई जनचेतना जगाउन सक्यौँ, त्यसैले डिजिटल पेमेन्ट कम्पनीको नेतृत्व तहमा छौँ ।

इसेवाले नेपालको बजारमा भुक्तानी र विनिमयमा गरेको परिवर्तनलाई कसरी विवेचना गर्नुहुन्छ ?
इसेवाले १३ वर्ष काम गर्दा दुईवटा विषयमा बजारमा स्थापित ग¥यो, जसमा खुद्रा पैसा भुक्तानीमा प्राइमरी च्यानल अफ पेमेन्ट अनलाइन हो भन्ने कुरा बजारमा सुरुवात गर्न सक्यौँ । अहिले बिजुली, टेलिफोनको बिल तिर्न लाइन बस्नुपर्छ भन्दा कसैले विश्वास गर्दैनन् । त्यो कुराको थालनी पनि इसेवाले नै बनाएको हो । अर्को पेमेन्ट मात्रै होइन, सर्भिस डेलिभरी पनि अनलाइन हुनुपर्छ भन्ने कुरा पनि इसेवाले कायम गरायो । अहिले कुनै एउटा संस्थामा लाइन बस्नु पर्दा कस्तो संस्था हो अनलाइन गर्न नसक्ने भन्ने अवस्थामा पुगिएको छ । अहिलेको सर्भिस डेलिभरी र अहिलेको सर्भिस डेलिभरीमा धेरै परिवर्तन आएको छ । अहिले सर्भिस डेलिभरीमा परिवर्तन के भयो भन्दा लाइन कि अनलाइन भन्नेबीच फरक देखिन्छ । खुद्रा पेमेन्ट अनलाइन हुनुपर्छ भन्ने कुरा विश्वमा स्थापित भएको छ । त्योसँगै इसेवाले सर्भिस डेलिभरी अनलाइन हुनुपर्छ भन्ने कुरा इसेवाले सबैलाई सिकाएको छ । जुनबेला इसेवा सुरु भएको थियो त्यो बेला मानिसहरू लाइन बस्न अभ्यस्त थिए । मानिसहरू सहज रूपमा हरेक कामका लागि लाइन बस्न तयार थिए । यसरी लाइन बस्नु सहज रूपमा तयार रहेको समाजलाई लाइन बस्नु हुन्न भन्ने बनाउन इसेवाले नेतृत्व गर्ने काम गरेको छ । अहिले पनि हामीले गर्ने खर्चको ९० प्रतिशतमा आजको दिनमा प्रिफियन्स च्यानल अनलाइन होइन, यो अलटरनेटिभ च्यानल अनलाइन हो । अहिले किराना पसलमा गएर सामान किने भने इसेवा गरिदिनु भन्ने तरिकाले किराना पसलले भन्न सक्ने अवस्था भयो । तर, पेमेन्ट गर्ने बेलामा कोभिडको समय छ, पैसा नदिनुस्, इसेवा गरिदिनुस् अझै भन्न सकिएको छैन । खुद्राभन्दा बिल पेमेन्ट भन्दा बाँकी रहेको पेमेन्ट अलटरनेटिभ च्यानलमा इसेवालाई स्थापित गराउन सकेछौँ । तर, प्राइमरी च्यानलको रूपमा स्थापित गर्नुपर्ने चुनौती रहेको छ । अझै कतिपय सरकारका अन्य सर्भिसहरू अनलाइनका रूपमा सहज भएको छैन । पासपोर्ट, यातायातलगायतका ठाउँमा सरकारले राजस्व संकलन गरिरहको छ । त्यहाँ डिजिटल पेमेन्ट सहज भएको अवस्था छैन । अनलाइन पेमेन्टले फाइदा के ग-यो, अहिले भइरहेको फाइदामा चित्त बुझाएर बस्ने ठाउँ छ कि छैन । अब इसेवाले हरेक व्यवसायमा अनलाइन कारोबारलाई प्रोत्साहन गर्ने प्रयास गरिरहेको छ । यसरी एउटा किराना पसलले राज्यले दिएको प्यान नम्बरको मान्यतासँगै आर्थिक अनलाइन मान्यता बनाउनको लागि काम गर्नु छ ।

डिजिटल कारोबारमा जहिले पनि सूचना सुरक्षाको सवाल रहन्छ, हाम्रो सूचना सुरक्षा व्यवस्था कस्तो छ ?
यसमा इसेवा आफैँमा टेक्नोलोजी कम्पनी भएको कारणले अन्तर्राष्ट्रिय अभ्यासमा सबैभन्दा राम्रो प्रयोग नेपालमा भइरहेको छ । डाटा प्रोसेसिङ, डाटा वयर हाउजिङ, डाटा युजर, डाटाको स्टोरेजमा स्थापनाको पहिलो दिनदेखि अन्तर्राष्ट्रिय अभ्यासलाई निरन्तरता दिएका छौँ । हामीसँग भएका सूचनालाई मात्रै डाटाबेसमा नराखेर व्यापारको मोडल फाइनल गर्ने प्रक्रियामा पनि विश्वका पेमेन्ट उद्योगमा भएको राम्रो प्रयोग के हो भनेर काम गर्दै आएका छौँ । काम नगरी डिजाइन गर्दा नै इसेवालाई विश्व बजारले नै माग गर्दै आएको थियो । त्यो बेला बजारमा माग मात्रै नभएर इसेवाले थालनी गरेको नयाँ टेक्नोलोजीको प्रयोग रहेको थियो । योभन्दा बाहेक इसेवा अपग्रेट भइरहेको छ । राज्यले कानुन बनाएको छ । राज्यका नियमनकारी निकायले नियमन गरिरहेको छ । इसेवाले गर्ने कारोबारमा पारदर्शिता छ । राष्ट्र बैंकले इसेवाबाट यति कारोबार भएको छ भनेर डाटाहरू प्रकाशित गर्दै आएको छ । इसेवा आजको दिनमा निजी कम्पनी सीमित व्यक्तिको नियन्त्रण भएको कम्पनी मात्रै होइन । इसेवा आम जनसरोकारको विषय भएको छ । सरकारले कानुनको दायराभित्र राखिसक्यो । इसेवाले गरेको डिजिटल कारोबार सबै कमर्सियल बैंकमा हुनुपर्छ भनिएको छ । पछिल्लो समय इसेवाको जसरी विकास भइरहेको छ त्यो सरकारको नियमनकारी निकायले बनाएको कानुनभित्र रहेर काम गरिरहेकाले सबैले निर्धक्क रूपमा इसेवाबाट कारोबार गर्न सक्नुहुन्छ ।

अहिले तपाईंहरूजस्ता संस्थाले भोगेको चुनौती के हो ? कानुनी र नीतिगत पूर्वाधार कस्ता छन् ?
एउटा निजी कम्पनीले भन्दा पनि सरकारले बनाएको कानुनभित्र बसेर काम गर्दा यस्ता खालका चुनौतीहरूलाई सरकारले हेर्छ । पछिल्लो समय राष्ट्र बैंकले निर्देशन पनि दिँदै आएको छ । जसमा कम्पनीको व्यवस्थापन सुरक्षित हुनुपर्छ, बोर्ड सुरक्षित हुनुपर्छ । व्यवस्थापन र बोर्डले के काम गर्नुपर्छ भन्ने कुरा भन्ने कुराको एउटा नियम बनेको अवस्थामा पुगेका छौँ । जसरी सम्पत्ति बढ्दै गएको छ, जुन सूचनाहरू संकलन भएको छ, जुन रूपमा सर्भिस बढ्दै गएको छ त्यसलाई कसरी प्रयोग पर्छ, कसरी प्रयोग गर्नु हुँदैन भन्ने कानुन बनेको छ । अर्कातर्फ यस्तो खालको युनिक डिजिटल पेमेन्टको व्यापार इसेवाले मात्रै गर्न पाउनुपर्छ भन्ने कुरा कानुनमा छैन । किनकि उद्योग भएपछि यसमा सीमित दर्ता गर्न पाउने प्रक्रिया अगाडि नै बनिसकेको छ । यो सबै कारणले गर्दा यसमा हामीले चाहेर मात्रै पनि त्यसलाई प्रयोग गर्न सक्ने अवस्था हुँदैन । जसरी कानुनभित्र समेटिएपछि नेपालको बैंकिङ उद्योगमा सबै ग्राहकले ढुक्कसँग कारोबारको काम गर्न सकिरहेका छन् । बैंकमा राखेको पैसा सुरक्षित होला कि नहोला भन्ने तरिकाले बैंक तथा वित्तीय संस्थालाई प्रश्न गर्ने ठाउँ छैन । अहिले बैंकिङ उद्योग परिपक्व भयो । अहिले बैंकिङ उद्योगजस्तै अवस्थामा छ । जुन बेला इसेवा स्थापना हुँदा इसेवा एक्लो थियो । तर, अहिले यो बजारमा ३७ जना सहभागी छन् । ३७ वटाले काम गरिरहेका छन् । राज्यले सीमा तोकिदिएको छ । जुन डिजिटल पेमेन्ट सम्बन्धी कानुन बनेको छ, त्यसले नै तपाईंको प्रश्नको जवाफ दिन्छ ।

अहिले इसेवाले के नयाँ सेवा सुरु गर्दै छ ?
हामीले यो वर्ष धेरै काम गरिरहेका छौं । धेरै काममध्येको एकदमै माहत्वपूर्ण सर्भिस भनेको सेक्युरेट फन्ट ट्रान्सफर भर्खरै सुरुवात गरेका छौँ । यो पैसा लेनदेन गर्ने क्रममा पैसा लेनदेन गर्नुको उद्देश्य हुन्छ । जसमा आर्थिक कारोबार, विभिन्न सामाजिक सञ्जाल प्रयोग गरेर बेचिरहेको छ । यस्तो अवस्थामा गलत मनसाय भएका मानिसहरूले पैसा लिने तर आफूले गर्नुपर्ने सामानको डेलिभरी नगर्ने कामहरू भइरहेको छ । त्यसलाई व्यवस्थापन गर्नका लागि यो सर्भिसको सुरुवात गरेका छौँ । त्यसले कुनै पनि भुक्तानी दिन मान्छेले आफूले सर्भिस नलिँदासम्म त्यो फन्ड ट्रान्सफर हुन्छ, तर पैसा गएको हुँदैन । सामान लिएपछि मात्रै पैसा दिने गरी ट्रान्सफर फन्ड सुरुवात गरेका छौँ । यसले बजारबाट राम्रो प्रतिक्रियाहरू आएको छ । गलत मनसाय भएर कारोबार गर्न खोज्ने मान्छेहरूलाई निरुत्साहित गर्ने सहयोग गरिरहेको छ । अर्को अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने गरी इसेवाले काम गरिरहेको छ । जुनसुकै देशमा जानका लागि इसेवाबाट अनलाइन हवाई टिकट लिन सकिन्छ । यसरी विभिन्न फरक–फरक सेवाहरू इसेवामा ल्याएर सेवाहरू दिइरहेका छौँ भने बजारको मागलाई इसेवामा आबद्ध गराउने काम पनि गरिरहेका छौँ । त्यस्तै सरकारले गर्ने विभिन्न काममा पनि इसेवा जोडिँदै गएको छ । जस्तो ट्राफिक जरिवाना इसेवामा ल्याएका छौँ । अर्को वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृतिका लागि बुझाउनुपर्ने पैसा र इन्स्योरेन्सको प्रिमियम पनि इसेवाबाट पेमेन्ट गर्न सकिने बनाएका छौँ ।

डिजिटल नेपालको अभियानमा हामी कसरी सहभागी हुन्छौँ ? को अगाडि आउनुपर्छ ?
अहिले जति पनि डेलिभरी सर्भिसका डिजाइनहरू गरिरहेका छौँ, यो डिजिटलाइट छैन, कम्प्युटराइज छ । हामीले जुन फर्म कागजमा भर्ने गरेका थियौं, त्यसैलाई कम्प्युटरमा राखेर यो कुरा भर, हस्ताक्षर गर्न कार्यालयमा आऊँ भन्ने खालको सर्भिस डेलिभरी हो । यसले डिजिटल नेपालको कानुन बनेको छ । यसको कार्यान्वयन हुँदाखेरि कम्प्युटराइज होइन डिजिटलाइट हुन्छ भन्ने अपेक्षा हो । पासपोर्टका लागि अनलाइन फर्म भरे, तर त्यसलाई प्रिन्ट गरेर हस्ताक्षरका लागि राहधानी विभागमा जानुप¥यो भने त्यो अनलाइन होइन । यसरी डिजिटल नेपालको अभियान कार्यान्वयनमा आउँदा सरकारले छनोट गरेर यो–यो क्षेत्र निर्धारण गर्ने प्रक्रिया छ । त्यसले समग्र सर्भिस डेलिभरीलाई कम्प्युटराइजबाट डिजिटलाइज हुन्छ । यसरी डिजिटल नेपाल हुनु सँगसँगै आउँछ । इसेवाले अन्तर्राष्ट्रिय रूपमा जसरी डिजिटल पेमेन्ट सर्भिसले बजार पाएको छ । नेपालको बजारले पनि त्यो चिज माग गरेको छ । इसेवाले भविष्यमा आर्थिक सर्भिसलाई इसेवामार्फत कारोबार गराउनुपर्ने आवश्यकता छ । त्यही काम गर्नलाई तयार बनाउँदै छौँ । नेपालमा राम्रो काम ग-यो भने विदेश जानै पर्दैन भन्ने पनि इसेवाले एउटा राम्रो बाटो देखाएको छ । यो बाटोमा अहिलेका युवा पुस्ताले हिँड्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्