खल्ती छैटौं वर्षमा प्रवेश

अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले सेवा सञ्चालनको ५ वर्ष पूरा गरेको छ ।
सन् २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको कम्पनीले आफ्नो पाँचौं वार्षिकोत्सव मनाएको हो ।
हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको भन्दै खल्तीले दैनिक लाखौं मानिसको जीवन सहज गर्दै आएको दावी गरेको छ । कम्पनीले भनेको छ, “तर लामो दूरी तय गर्ने हिसाबले हेर्दा खल्ती, ‘मात्र ५ वर्षको’ भएको हो । यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको छ ।”
युवाहरु माझ बढी प्रचलित खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड रहेको कम्पनीले जनाएको छ ।
वार्षिकोत्स्सवको अवसरमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले आगामी दिनमा हरेक उमेर समूहलाई खल्ती प्रयोग गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ कम्पनीलाई अझै सरल र उपयोगी बनाउने हिसाबले थप सेवा सुविधा ल्याउने लक्ष्य लिएको बताए ।