आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र एपीएफको भिडन्त

२० औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिको लागि मनाङ मस्र्याङदी क्लबले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसंग प्रतिष्पर्धा गर्ने भएको छ । पोखरा रंगशालामा बिहिबारको भएको दोश्रो सेमिफाइनल खेलमा मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
उपाधि सहित नगद १० लाख पुरस्कारको लागि मनाङले १४ बर्ष पछि पहिलो पटक यही माघ १५ शनिबार एपिएफसँग फाइनल खेलमा प्रतिष्पर्धा गर्ने भएको आयोजक सहारा क्लवले जनाएको छ । विहिबारको खेलमा ९० मिनेटको निर्धारित समय र ३० मिनेट थपिएको अतिरिक्त समयमा दुबै तर्फ गोल हुन नसके पछि खेल निर्णायकको लागि टाइब्रेकरमा पुगेको हो । टाईब्रेकरमा आर्मीका कप्तान भरत खवास, प्रीन्स कार्की, विवेक बस्नेतले गोल गरे भने दिपक गुरुङको प्रहार बारमा लाग्दै बाहिरियो । युद्ध शाहिको प्रहार गोलरक्ष अशोक बरालले उत्कृष्ट बचाउ गरे । मनाङका अशोक खेलमा म्यान अफ दि म्याच घोषित भए । मनाङका विदेशी खेलाडी कुति ताला, शिव गुरुङ, रुपेश केसि र अर्को विदेशी खेलाडी ओलावालाले गोल गरे भने विश्व अधिकारिको प्रहार गोलरक्षक विकेश कुथुले बचाए ।
आहा रारामा यस अघि ४ वटा संस्करणमा फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको आर्मीले यसपाली दोश्रो सेमिफाइनलबाटै यात्रा टुंगाउनु प¥यो । आर्मीले ७ औं, ८ औं, १४ औं र १७ औं आहामा फाइनलमा पुगे पनि क्रमशः पुलिस, पुलिस, मनाङ र थ्रिस्टारसंग पराजित भएको थियो ।
आहा राराको इतिहासमा बढी सफलता हासिल गरेको मनाङले हालसम्म ६ वटा उपाधि जितेको छ भने आहा रारामा क्याराभान, २० औं आहा रारा सहित १२ पटक फाइनलमा प्रबेश गर्न सफल भएको टिम हो । बुधबार भएको पहिलो सेमिफाइनलमा एपिएफले लिग विजेता मछिन्द्र क्लवलाई १ का बिरुद्ध ३ गोल बर्षाउदै फाइनलमा यात्रा बनाएको हो । मनाङले नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको थियो ।
एपिएफले उद्घाटनमा आयोजक सहारा क्लब र क्वारफाइनलमा पाहुना टोली अमेरिकाको बिवाईएससी क्लब मिनेसोनाटालाई पराजित गर्दै आफ्नो अपराजिनत यात्रा जारी राखेको हो । एपिएफ २०६४ सालको छैटौं आहा रारामा फाइनलमा पुगेको थियो । पटक पटक आहा रारामा सहभागि भए पनि उपाधि चुम्न सकेको छैन ।
यसैबीच, आयोजक सहारा क्लब पोखराले बुधबार देखि दर्शकलाई टिकट लिएर मैदान प्रबेश गराएको थियो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर रंगशालामा एकतिहाइ दर्शक छिराउने गरी प्रतिदर्शक ३ सय टिकट व्यवस्था गरिएको क्लवले जनाएको छ । सेमि र फाइनलमा दर्शकसंग क्लवले जनही ३ सय रुपैयाँमा आहा राराको फुटवल खेल हेर्न रंगशालामा प्रबेश गराउने भएको छ । खोपकार्ड अनिवार्य, मास्क, सेनिटाइजर, निश्चित दुरी कायम गरी सिटमा बस्ने व्यबस्था मिलाइएको महासचिव रामजी प्रसाद अधिकारीले बताए । नेपाल सरकारको गत पुष २९ गतेको निर्णय बमोजिम सिट क्षमताको २५ प्रतिशत मात्र दर्शक प्रबेश गर्ने गरी दर्शक प्रबेशमा कुनै अवरोध नगर्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।