Logo

राष्ट्रियसभा सदस्यको निर्वाचन


राष्ट्रियसभामा रिक्त १९ सदस्यका लागि बुधबार निर्वाचन हुँदैछ । १९ सिटका लागि ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले १९ वटै सिटमा उम्मेदवारी दर्ता गराएको छ । सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मदेवार उठाएका छन् । कांग्रेसले ६ सिट लिएको छ भने माओवादी र एकीकृत समाजवादीले ५–५ सिट पाएका छन् ।
जसपाले २ र राजमोले एक सिट गरी पाँच दलीय गठबन्धनले १९ सिटमा तालमेल गरेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले पनि दुई–दुई सिटमा उम्मेदवार उठाएका छन् । मधेश प्रदेशमा लोसपा र एमालेले गठबन्धन गरेका छन् ।
प्रदेश १ मा राष्ट्रिय सभा सदस्यको तीन पदका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । मधेश प्रदेशमा दुई राष्ट्रिय सभा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । बागमती प्रदेश तर्फको दुई सिटको निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट दुई जना र एमालेका तर्फबाट दुई जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्यसैगरी, नेमकिपाबाट पुरुषतर्फ कृष्णबहादुर तामाङ र महिलामा गीता काफ्लेले उम्मेदवारी दर्ता गरेका छन् ।
गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यको ३ पदमा हुने निर्वाचनका लागि गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच मुल प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय सभामा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ दलका तर्फबाट तीन जना र नेकपा एमालेका तर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
कर्णाली प्रदेशमा तीन पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिम प्रदेशमा तीन सदस्य राष्ट्रिय सभा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनका तर्फबाट र नेकपा एमालेका तर्फबाट तीन तीन जनाले उम्मेदवारी दिएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश नं १ मा पार्टीका उम्मेदवार अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न आग्रह गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले पार्टीका आफ्ना मतदातालाई सो निर्देशन गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिएका छन् । बैठकले अन्य प्रदेशमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदातालाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्