महामारीमा जनताको घरदैलो चहार्दै तिलाकी उपाध्यक्ष

जुम्लाको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढा कोरोनाको बढ्दो संक्रमणलाई सतर्कता अपनाउँदै जनताको सेवामा अग्रसर भएकी छिन् । उपाध्यक्ष बुढा ‘सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष’ कार्यक्रमसहित तिलाका गाउँबस्तीमा पुगेर कोरोना बारे सचेत गराउन र सुनौला हजार दिनका आमालाई पोषण खानाको महत्वबारे सचेतना फैलाउन घरदैलो अभियानमा जुटेकी छन् ।
उपाध्यक्ष बुढाले भनिन्, ‘कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी पालिकाका स्वास्थ्यकर्मी सहित घरदैलो अभियानमा जुटेका छौं । जेष्ठ नागरिकलाई सम्मान, न्यानो कपडा वितरण सहित निःशुल्क स्वास्थ्य जाँच गरिरहेका छौं भने आमासँग उपाध्यक्ष अन्तर्गत गाउँका महिलालाई पोषणबारे सचेतना फैलाएका छौं ।”
पोषिलो खानेकुरा र आवश्यक सचेतनासँगै गाउँमै उपाध्यक्ष पुगेपछि स्थानीय सरकार गाउँमा पुगेकोे महसुश भएको तिला–७ की लक्ष्मी रोकायाले बताइन् । महिलासँग उपाध्यक्ष कार्यक्रमले पछिल्लो समय स्वास्थ्यचौकीमा सुत्केरी गराउने महिलाको संख्या पनि उल्लेखीय रुपमा बृद्धि भएको छ ।
हरेक महिनाको एक पटक घरमै जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचार गर्ने तिलाको नीति अनुसार नियमित रुपमै चेकजाँच भइरहेको उपाध्यक्ष बुढाको भनाइ छ । जस अन्तर्गत तिला १ का जेष्ठ नागकिको स्वास्थ्य जाँचसँगै हर्लिक्स, टोपी वितरण गरिएको छ ।
विगतमा सुत्केरी गर्भवती महिलाई फिल्टर, अण्डा, तेल, साबुन पनि बाँडिएको थियो । अब गर्भवती तथा सुत्केरी आमालाई आफैंले पोषिलो खानेकुरा बनाउने विधि सिकाउन गाउँमा पुगेको उपाध्यक्ष बुढा बताउँछिन् । रैथाने बालीबाट बनाउन सकिने पोषिला खाने कुराको तरिका पनि सिकाइएको छ ।
सुरक्षित रूपले सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्ने, नियमित जाँच गर्दै खानपानमा ध्यान दिनुपर्ने, बच्चालाई नियमित स्तनपान गराउँदै पोषिलो खानेकुरा खुवाउनका लागि हरेक आमा तयार हुनुपर्ने जस्ता सन्देश दिइएको छ ।
अर्गानिक सिमी, फापर बेचेर मैदा किनेर रोटी बनाएर खुवाउने गरिन्छ, यो कार्य पटक्कै राम्रो भएन आफ्नै खेतबारीमा उत्पादित प्रांगारिक र पोषिलो खानेकुरा खुवाउनुपर्छ । यहाँ उत्पादित अन्नबाली मिसाएर बनाएको लिटो जाउलोको प्रयोग गर्नुपर्छ भन्ने सन्देश बोकेर गाउँका महिलाई सचेत गराइएको उपाध्यक्ष बुढाको भनाइ छ ।
बालबालिकाको ८० प्रतिशत बौद्धिक विकास दुई वर्षमै हुने भएकोले सुनौलो हजार दिनभित्रका आमाले पोषणको महत्वबारेमा निकै संवेदनशील हुनुपर्ने स्वास्थ्यकर्मी बिराजु जिसीले बताए । गाउँका बालबालिकामा हुने कुपोषणको चक्र तोड्न नसकिने भएकाले गाउँपालिकाले ल्याएको कार्यक्रम निकै समयानुकूल र प्रभावकारी भएको महिला स्वास्थ्य स्वयंसेविका गोइली बुढाले बताइन् ।