राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका अधिकांश उम्मेदवार विजयी

राष्ट्रियसभामा रिक्त १९ पदका लागि बुधबार सातै प्रदेशमा निर्वाचन सम्पन्न भएको छ । बुधबार रातिसम्म धेरैजसो प्रदेशको मतपरिणाम पनि आइसकेको छ ।
प्रदेश–१ बाट गठबन्धनका २ र एमालेका एक जना उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचित हुनेहरूमा गठबन्धनबाट गोपालकुमार बस्नेत र जयन्ती राई भएका छन् । यस्तै नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भए । गठबन्धनका उम्मेदवार गोपालकुमार बस्नेत र एमालेका उम्मेदवार गुरु बरालले बराबरी मत प्राप्त गरेपछि गोला प्रणालीबाट निर्णय गरिएको थियो । दुवैले ४ हजार ४ सय ८८ मतभार प्राप्त गर्नुभएको थियो । यस्तै गठबन्धतर्फकी जयन्ती राईले ४ हजार ६ सय ९२ मत प्राप्त गर्दै विजयी भइन् । उनको निकटतम् प्रतिद्वन्द्वी सुमित्रा भण्डारीले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरिन् ।
यस्तै नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा ४ हजार ७ सय ५२ मतभारसहित निर्वाचित भए । उनको निकटतम प्रतिद्वन्द्वी हेमराज राईले ४ हजार ३ सय ६८ मत भार प्राप्त गरे । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म भएको निर्वाचनमा स्थानीय तहका २ सय ७२ मध्ये २ सय ७० र ९२ जना प्रदेशसभा सदस्यमध्ये ९१ जनाले मतदान गरेका थिए । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश–१ मा स्थानीय तहका प्रमुुख, उप–प्रमुख र प्रदेशसभाका सदस्य गरी कुल ३ सय ६४ मतदाता छन् । प्रदेश–१ मा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण प्रयोगशालाको कार्यालयको प्राङ्गणमा मतदान भएको थियो ।
गण्डकीबाट सत्ता गठबन्धनका ३ जनै उम्मेदवार विजयी भएका छन् । महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन् ।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) गरी ५ दलीय गठबन्धनबाट उनीहरु उम्मेदवार बनेका थिए ।
पन्तलाई स्थानीय तहबाट ९४ मत (१६९२ मतभार) र प्रदेशसभा सदस्यबाट २९ मत (१३९२ मतभार) प्राप्त भएको छ । उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले स्थानीय तहबाट ७४ मत (१३३२ मतभार) र प्रदेशसभा सदस्यको २९ मत (१३९२ मतभार) पाइन् ।
यसैगरी दलित कोटातर्फ भुवनबहादुर सुनारले स्थानीय तहबाट ९१ मत (१६३८ मतभार) र प्रदेशसभा सदस्यको २९ मत (१३९२ मतभार) पाए । उनका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले स्थानीय तहको ७४ (१३३२ मतभार) र प्रदेशसभा सदस्यको २९ मत (१३९२ मतभार) पाए ।
यस्तै अन्य कोटाबाट सुरेश आलेमगरले स्थानीय तहबाट ९२ मत (१६५६ मतभार) र प्रदेशसभा सदस्यको ३० मत (१४४० मतभार) पाए । उनका प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले स्थानीय तहको ७५ (१३५० मतभार) र प्रदेशसभा सदस्यको २८ मत (१३४४ मतभार) पाए ।
उता बागमती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार राष्ट्रिय सभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका लागि निर्वाचन भएको थियो ।
निर्वाचन परिणाम अनुसार गठबन्धन दलका तर्फका उम्मेदवार रहेकी नेकपा (एस) की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरेकी थिइन् । पौडेलले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार प्राप्त गरेका थिए । तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २ हजार ७३६ मतभार गरी कुल ४ हजार ८२४ मतभार प्राप्त गरिन् । पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २ हजार ६८८ मतभार गरी कुल ४ हजार ७९४ मतभार प्राप्त गरे ।
पराजित विपक्षी दल नेकपा एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात् २ हजार २५६ मतभार प्राप्त गरिन् । उनले कुल ४ हजार ३६२ मतभार प्राप्त गरेकी थिइन् ।
एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरे । प्रदेशतर्फ ४७मत अर्थात् २ हजार २५६ मतभार गरी कुल ४ हजार ३४४ मतभार प्राप्त गरेका थिए ।
सुदूरपश्चिमबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी
राष्ट्रियसभा निर्वाचन २०७८ मा सुदूरपश्चिमबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।बुधबार धनगढीमा भएको निर्वाचनमा सत्ता गठनबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी गरिमा कुमारी शाह, नेकपा माओवादीका जगत पार्की र नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका हुन् ।
महिलातर्फ भएको निर्वाचनमा शाहले तीन हजार आठ सय ३४ मत प्राप्त गरेर निर्वाचित भइन् भने उनका प्रतिस्पर्धी एमालेकी सन्तोष कुमारी थापाले एक हजार सात सय २८ मत प्राप्त गरिन् । शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज समेत हुन् ।
माओवादीका उम्मेदवार पार्कीले तीन हजार सात सय ६२ मतले निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी एमाले उम्मेदवार नरेश विकले एक हजार सात सय ८२ मत प्राप्त गरे । खुल्ला (पुरुष) तर्फ नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्रले तीन हजार सात सय ४४ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका तर्फबाटका उम्मेदबार डिल्लीराज भट्ट एक हजार आठ सय ९६ मत प्राप्त गरे ।
निर्वाचनमा शतप्रशितशत (प्रदेश सभाबाट जम्मा ५२ जना र स्थानीय तहबाट १७५ जना) मत खसेको थियो । ५२ प्रदेश सभा सदस्यको ४८ मतभारका दरले दुई हजार चार सय ९६ र एक सय ७५ जना स्थानीय तहका जनप्रतिनिधीको १८ मतभारका दरले तीन हजार एक सय ५० मत गरी पाँच हजार छ सय ४६ थियो ।
कर्णालीमा पनि गठबन्धनकै क्लिन स्वीप
राष्ट्रिय सभा सदस्यमा कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धनका उमेदवार बिजयी भएका छन् ।
बुधबार सम्पन्न राष्ट्रिय सभाका सदस्य निर्वाचनमा संयुक्त गठबन्धनका दुर्गा गुरुङ, नरबहादुर बिष्ट र उदय बोहोरा बिजयी भएका हुन् । कर्णालीमा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य तर्फगरी तीन वटा क्लस्टरका तीन सीट का लागि निर्वाचन भएको थियो । महिला तर्फ नेपाली काँग्रेसकी गुरुङ, अपांगत्ता वा अन्य तर्फ माओवादी केन्द्रका बिष्ट र अन्य तर्फ एकीकृत समाजवादीका बोहोरा निर्वाचित भएको प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार गुरुङले २ हजार ९७० तथा बिष्ट र बोहोरा समान ३ हजार ६ मतभार प्राप्त गरेका छन् ।
निर्वाचनमा सत्ता गठबन्धनका संयुक्त उमेद्वार तीन र एमालेका तीन जना उमेद्वारले भाग लिएका थिए । एमालेबाट महिला तफए गंगा थापा (महत), अपाङ्गगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फबाट पदमबहादुर माझी र अन्य तर्फ चुडामणि शर्मा उमेद्वार थिए । माझीले १ हजार ३ सय ९८ तथा महत र शर्माले समान १ हजार ४ सय ६ मतभार प्राप्त गरेका छन् । अपांग तर्फको १ मत र महिला तर्फको २ मत बदर भएको निर्वाचन अधिकारी चालिसेले जानकारी दिए । उनका अनुसार बदर भएका तीन वटै मत स्थानीय तहका प्रमुख उपप्रमुख तर्फका हुन् ।
कर्णालीमा १ सय ९१ मतदाता संख्या रहेकोमा १ सय ८९ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ३५ र गाउँपालिका तथा नगरपालिकाका प्रमुख उपप्रमुख १ सय ५६ मतदाता रहेका थिए । त्यस मध्य राप्रपाकी प्रदेशसभा सदस्य शोशिला शाही र कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) मतदानमा अनुपस्थित रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । आफ्ना उमेद्वार नउठाएको राप्रपाले मतदानमा सहभागी नहुने निर्णय गरेको थियो भने उपप्रमुख नेपाली दुई बर्षअघि अमेरीका गएर उतै बसेकी छन् ।
प्रदेश निर्वाचन कार्यालयमा दुई वटा मतदान केन्द्रबाट विहान ९ बजेदेखि ३ बजेसम्म मतदान भएको थियो । प्रदेशसभा सदस्यहरुका लागि मतदान केन्द्र ‘क’ र नगरपालिका तथा गाउँपालिका अध्यक्ष उपाध्यक्षका लागि मतदान केन्द्र ‘ख’ बनाइएको थियो ।
लुम्बिनीमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उमेदवार बिजयी भएको छन् । गठवन्धनका उम्मेदवार नेपाली कांग्रेस बाट बाँकेका युवराज शर्माले ४ हजार ३ सय ४४ मत प्राप्त गरेर विजयी भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी राज्य लक्ष्मी गैरेले ४ हजार ३ सय ७४ मत ल्याएर विजयी भएका हुन् भने गठवन्ध कै राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले ४ हजार ३ सय ५६ मत प्राप्त गरेर विजयी भएका छन् । एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ताले ३ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् ।
बाँकेकी भारती खनाल उपाध्यायले ३ हजार ३ सय १२ प्राप्त गरेका थिए । गुल्मीका कृष्ण सुनारले ३ हजार ३ सय ४८ मत प्राप्त गरेका थिए । निर्वाचनमा २ सय ९४ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । २ जना अनुपस्र्थीत भएका थिए । लुम्बिनी प्रदेशमा २ सय ९६ मतदाता रहेका थिए । निर्वाचनका लागि १ मतदान स्थल र २ मतदान केन्द्र निर्धारण गरिएकोे थियो ।
लुम्बिनी प्रदेशमा ३ जनाको लागि निर्वाचन भएको हो । लुम्बिनी महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन गरिएको हो । लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८१ र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ गरी २ सय ९६ मतदाता रहेका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा स्थानिय तहका प्रमुख, उप प्रमुख तथा प्रदेश सभाका सदस्यहरुले मतदान गर्ने पाउने व्यवस्था रहेको छ । घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान गरिएको हो ।
–प्रदेश १ बाट मीनकुमार नवोदित, लुम्बिनीबाट अमरराज आचार्य, कर्णालीबाट गोविन्द खत्री र सुदूरपश्चिमबाट मुकेश चौधरी