Logo

मोरङ व्यापार संघको अध्यक्षमा रिजाल

विराटनगर – मोरङ व्यापार संघमा नवीन रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
२४ सदस्यीय कार्यसमतिको वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार साह, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार वेगवानी, महासचिवमा अनिल सारडा, सचिवमा संजय श्रेष्ठ र कोषाध्यक्षमा राजेश अग्रवाल चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरूमा अमित सारडा, विनित सिंघानिया, मनिष मारु, श्याम राठी, सुशील सुराना, आशिष जाजु छन् । यस्तै दिपेश सुवेदी, देवाशिष गोल्छा, पवन राठी, चन्द्र भट्टराई, अमित राठी, विवेश अग्रवाल, अरविन्द्र अग्रवाल, गोपाल अग्रवाल, बन्दना जैन र ओमप्रकाश शर्मा कार्यसमिति सदस्यमा चयन भए ।
यसैबीच बिहीबार संघका अध्यक्ष नविन रिजालसहित नवनिर्वाचित २४ सदस्यीय कार्यसमितिका पदाधिकारीहरूले एक समारोहबीच पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष रिजालले १७ बुँदे कार्ययोजना सार्वजनिक गरे । यस्तै संघद्वारा सञ्चालित ‘मेरो देश मेरै उत्पादन’ अभियानअन्तर्गत व्यापार घाटा न्यूनीकरण तथा रोजगारी अभिवृद्धिसम्बन्धी कार्ययोजना अघि बढाउने, विराटनगर जोड्ने मिरगञ्ज पुलको समस्या निराकरणका लागि पहल गर्ने, प्रदेशस्तरीय प्रदर्शनी स्थल निर्माण कार्य थालनी गर्न पहल गर्ने कार्ययोजना अघि सारेका छन् ।
यस्तै औद्योगिक क्षेत्रको स्थापनाका लागि समन्वय गर्ने, क्षेत्रीय विमानस्थल निर्माणका लागि पहल गर्ने, प्रदेश–१ मा धार्मिक, मेडिकल, खेलकुद, पर्यटन तथा कृषि क्षेत्रको प्रबद्र्धनका लागि प्रदेश सरकारसँग पहल गर्ने, विराटनगरको शान्ति सुरक्षाका लागि सीसीटिभीको व्यवस्थापन गर्ने र सहरको सौन्दर्यीकरण गर्ने कार्ययोजना रिजालले सार्वजनिक गरे ।

प्रतिक्रिया दिनुहोस्