शिक्षकले मोबाइल बोक्न नपाइने

जिल्लाको पचालझरना गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षाको गुणस्तर वृद्धि गर्न शैक्षिक नीति बनाएको हो ।
गाउँपालिकाले शैक्षिक नीति सार्वजनिक गर्दै अभिभावकले आफ्नो आम्दानीको २० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत लगानी गर्ने शिक्षा नीति सार्वजनिक गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा दरबन्दी पूर्ण गर्ने, विद्यालयमा अनिवार्य बालमैत्री खानेपानी, छात्र÷छात्रा शौचालयको ब्यवस्था, कक्षा ८ सम्मको परीक्षा गाउँपालिका स्तरीय गर्ने, हरेक विद्यालयमा शैक्षिक क्रियाकलाप र अनिवार्य रूपमा शुक्रबारीय कार्यक्रम गर्ने शिक्षा नीति सार्वजनिक गरेको छ ।
कम्प्युटर र अंग्रेजी भाषा शिक्षा अनिवार्य, विद्यालयमा प्रधानाध्यापकबाहेक अन्य शिक्षक शिक्षिकाहरूलाई विद्यालय अवधिमा मोवाइल निषेध गर्ने नीति पनि सार्वजनिक गरेको छ । विद्यालयमा ट्युसन बन्द गरी कोचिङ कक्षा सञ्चालन गर्ने त्यसका लागि गाउँपालिकाले विद्यालयलाई वार्षिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नीति लिएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । “विद्यार्थीको मासिक हाजिरीका आधारमा विद्यालयले विद्यार्थीको घरमा पत्रचार गर्नुपर्ने छ ।” उनले भने, “गाउँपालिकाको शैक्षिक गुणस्तर बढाउन शिक्षा नीति नयाँ बनाउनु परेको हो ।”
विद्यालय परीक्षामा राम्रो नतिजा ल्याएमा शिक्षकलाई पुरस्कृत गर्ने नीति समेत लिइएको गाउँपालिका अध्यक्ष सेजुवालले बताए । “शैक्षिक सुधार नगरी गाउँपालिकाको अन्य विकास सम्भव नै छैन ।” उनले भने, “शैक्षिक गुणस्तर वृद्धिका लागि सबै प्रकारका नयाँ कानुन बनाइएको हो ।”
गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक, राजनीतिक दल, जनप्रतिनिधि, अभिभावक, गाउँपालिकाका पदाधिकारी र शिक्षासँग सराकोरवालाको गोष्ठी आयोजना गरी गाउँपालिकाले शिक्षा नीति पारित गरेको गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले बताइन् । “गाउँपालिका सबै सरोकारवालाको गोष्ठीले यो निर्णय गरेको हो ।” उनले भनिन्, “यसले गाउँपालिकाभित्रको शिक्षा नीतिमा एकरूपता कायम गर्नेछ ।”