Logo

म्याग्दी नदीमा सम्झौताभन्दा बढी उत्खनन

फाइल तस्बिर ।

म्याग्दी – बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदीको बगरमा सम्झौताभन्दा बढी उत्खनन भएको छ । सम्झौताभन्दा बढी नदीजन्य वस्तु निकालेको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनबाट भेटाएको छ ।
कानुनमा रहेको नदीजन्य वस्तु उत्खननसम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र बेनी नगरपालिकासँंग भएको सम्झौताविपरीत जुम्ली निर्माण सेवाले निकाल्दै आएको थियो । मापदण्डभन्दा बढी नदीजन्य वस्तु कम्पनीले निकालेपछि जिल्ला अनुगमन समिति स्थलगत अनुगमनमा पुगेको थियो । निर्माण कम्पनीले सम्झौताविपरीत तोकिएको भन्दा गहिरो खाडल बनाएर उत्खनन गरेको भेटिएको अनुगमन समितिले जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालको नेतृत्वमा पुगेको अनुगमन समितिले कानुनमा नदीको सतहदेखि ९० सेन्टिमिटर उत्खनन गनुपर्ने मापदण्डभन्दा एक मिटर ७६ सेन्टिमिटर गहिरो गरी उत्खनन गरेको भेटाएको छ ।
कम्पनीले तीन हजार ७ सय ४२ घनमिटर उत्खनन गर्नुपर्नेमा नौ हजार २ सय ५१ घनमिटर उत्खनन भएको अनुगमन समितिले जनाएको छ । सम्झौताभन्दा बढी उत्खनन गरेवापत कारबाहीका विषयमा अनुगमन समितिको बैठकले निर्णय गर्नेछ ।
अनुगमनमा केसी संँगै नगरप्रमुख हरिकुमार श्रेष्ठ, कोष तथा लेखा नियन्त्रक युक्तप्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल, प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङ, अनसन्धान अधिकृत विजय पौडेललगायत प्रतिनिधि पुगेका थिए । निर्माण कम्पनीका निराजन खतिवडाले सरोकारवालासँंग समन्वय गरेर उपकरण प्रयोग गरेको दाबी गर्छन । मापदण्डविपरीत उत्खनन गर्ने कम्पनीले जिल्लाका योजनालाई प्राथमिकता दिएर ढुंगा, गिटी र बालुवा उपलब्ध गराएको भनिए पनि सुरक्षा निकायलाई चुनौती दिँदै बाहिरी जिल्लामा पु¥याउने गरेको जनगुनासो छ । यस गतिविधिप्रति सरोकारवाला मौन छन् ।

प्रतिक्रिया दिनुहोस्