६ महिनामा सवारी कारबाहीबाट पौने २ करोड राजस्व संकलन

सुर्खेत – कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी कारबाहीबाट छ महिनामा पौने २ करोड राजस्व संकलन भएको छ ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूबाट ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुससम्म २० हजार ५ सय १ कारबाहीबाट १ करोड ७१ लाख ९७ हजार पाँच सय राजश्व संकलन गरेको हो । कर्णाली प्रदेश प्रहरील मंगलबार सार्वजनिक गरेको आफ्नो ६ महिने प्रगति विवरणअनुसार ६ महिनामा १ करोड ३४ हजार ५६४ बराबरको लत्ताकपडा, सुर्तीजन्य र खाद्यान्न सामान र ११ जना व्यक्तिहरूलाई अवैध भन्सार छलीका सामानसहित पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयमा पठाइएको छ ।
यही समयमा नदीजन्य तथा खानीजन्य प्राकृतिक श्रोतहरूको गैरकानुनी उत्खनन तथा ओसारपसार गर्ने ५८ सवारी साधन र ५१ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको र सोबापत २ लाख ४० हजार ५७० रुपैयाँ राजश्व संकलन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै २७३ दशमल ६९ क्युफिट काठ, ५ किलो ३ सय ग्राम यार्सागुम्बा, ४ थान रेडपाण्डाको छाला, ४ थान कस्तुरीको बिना १ थान सालकको खप्पर बरामद गरेको र त्यसमा संलग्न १८ जनालाई प्रक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीले लागू औषध दुव्र्यसनी तथा अवैध वेचविखन गर्ने ९० जनालाई पक्राउ गरी ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर,१ किलो २१३ ग्राम चरेश बरामद गरी कारवाही गरेको छ । गत वर्षको ६ महिनामा भने ३५ जना पक्रा परेका थिए । यही समयमा २४ नाल बन्दुक बरामद र १५ जनालाई पक्रा गरेको प्रदेश प्रहरीले आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ ।
छ महिनामा बिभिन्न मुद्दाका फरार १४१ जनालाई पक्राउ गरी ७३ वर्ष ९ महिना २८ दिन कैद सजाय भुक्तान गरेको र १६ लाख १० हजार ८९० रुपैयाँ जरिवाना संकलन गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार बितेका छ महिनामा प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम पनि गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न लागूऔषध, घरेलु हिंसा न्यूनिकरणको लागि ३ हजार ५७९ वटा जनचेतनामूलक कार्यक्रम गरिएको र त्यसबाट ३ लाख ४९ हजार ३ सय ७९ जना लावान्वित भएको उल्लेख गरिएको छ ।
यस्तै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी कर्मचारी परिवार, पूर्व प्रहरी कर्मचारी र सर्वसाधारण र मुगुका अग्नि पीडितलाई लक्षित गरी कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र सुपथ मेडिकल हलको समन्वयमा २ लाख मूल्य बराबरको स्वास्थ्य सामग्रीसहित कालिकोट र मुगुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको पनि प्रहरी जनाएको छ ।