Logo

खत्रेठाँटी–कुन्छा–सोतिपसल सडक स्तरोन्नति सुरु

लमजुङको सुन्दरबजार र मध्यनेपालअन्तर्गत पर्ने खत्रेठाँटी–कुन्छा–सोतिपसल सडक स्तरोन्नति सुरु भएको छ । सुन्दरबजार–२ हाँडेटारदेखि मध्यनेपाल–१ निवुवाटारीसम्म करिब ११ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे हुने गरी स्तरोन्नतिको काम सुरु भएको हो ।
सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत बजेट विनियोजन गरेको हो । पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार सडक कालोपत्रेका लागि सोतीपसलतर्फ मध्यनेपाल–१ जिता बेसीबाट काम सुरु भएको हो । आगामी दुई वर्षभित्र कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्यसहित स्तरोन्नतिको काम सुरु भएको कार्यालयले जनाएको छ ।
सडक निर्माणका लागि काठमाडौंस्थित महावीर प्रधान जेभीले जिम्मा पाएको छ । करिब २८ करोड रुपैयाँ लागतमा २०८० को असोज महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्नेगरी सम्झौता भएको कार्यालय प्रमुख सुमन गिरिले बताए ।
पूर्वाधार विकास कार्यालयका अनुसार हाँडेटारदेखि निबुवाटारीसम्मको १० दशमलव ८० किलोमिटरमध्ये तीन किलोमिटर सडक ढलान गरिने छ । सुन्दरबजार नगरपालिकाअन्तर्गत जिल्लाकै पुरानो सदरमुकामसमेत रहेको कुन्छाको दुईतर्फी भिरालो तीन किलोमिटर सडकमा ढलान हुने भएको हो ।
एक दशकअघि सञ्चालित ड्रिलिप परियोजनाबाट बनेको सडक मध्यनेपालको दुईपिप्लेदेखि जिताटारसम्म यसअघि नै कालोपत्रे भइसकेको छ भने यता सुन्दरबजारको परेवाडाँडाअन्तर्गत करिब एक किलोमिटरमात्रै कालोपत्रे भएको छ ।
सडक पहुँच सहज नहुँदा दक्षिण–पश्चिम लमजुङका नागरिकलाई सदरमुकाम आउन निकै सास्ती भएको थियो । हिउँदको समयमा कच्ची सडकको धुलो र वर्षात्को समयमा हिलाम्मे हुँदा यात्रुसँगै स्थानीयले पनि सास्ती बेहोर्दै आएका थिए ।
यसअघि नै कालोपत्रे भइसक्ने स्थानीयले अपेक्षा गरे पनि हालसम्म सडक कालोपत्रे नहुँदा स्थानीय निराश बनेका थिए । अब दुई वर्षभित्रै सडक कालोपत्रे हुनेगरी प्रक्रियाअघि बढेसँगै स्थानीय खुसी भएका छन् । उक्त सडक कालोपत्रे भएसँगै सो भेगका नागरिकलाई सदरमुकाम आउन र जिल्लाको सुन्दरबजार, राईनास, दोर्दी र मस्र्याङदी क्षेत्रका नागरिकलाई प्रदेश मुकाम पोखरा जान निकै सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्