खलंगामा २६ हजार ट्याब्लेट सिटामोल मौज्दात

जुम्ला सदरमुकाम खलंगामा हाल २६ हजार ट्याब्लेट सिटामोल मौज्दात रहेको छ । दैनिक रुघाखोकी ज्वरोका बिरामी बढ्न थालेपछि कर्णालीमा सिटामोल अभाव भइरहेको बेलामा जुम्ला सदरमुकाम खलंगामा मात्रै २६ हजार ट्याब्लेट सिटामोल मौज्दात अवस्थामा भेटिएको हो ।
कोरोना संक्रमण बढेसँंगै रुघाखोकीका बिरामीले अत्यधिक रूपमा सिटामोल र डिकोल्ड औषधिको प्रयोग गरिरहेका छन् । तर कर्णालीमै सिटामोल अभाव रहेको कुरा बाहिरिएपछि जिल्ला प्रशासन जुम्लाको अगुवाइमा गरिएको अनुगमले कर्णाली प्रतिष्ठानको फार्मेसी र खलंगामा सञ्चालित मेडिकलमा गरी झण्डै २६ हजार ट्याब्लेट सिटामोल मौज्दात रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । जसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जुम्लाको निःशुल्क औषधि वितरण क्लिनिकमा २० हजार ट्याब्लेट सिटामोल मौज्दात छ ।
त्यस्तै जुम्ला सदरमुकाम खलंगामा सञ्चालित मेडिकलमा मात्रै डिकोल्ड करिब ५ हजार ट्याब्लेट राइनोज औषधि तीन हजार ट्याब्लेटसम्म मौज्दात रहेको छ । थप मात्रा ल्याउने तयारीमै रहेको मेडिकल सञ्चालकहरूले बताएका छन् ।
रुघाखोकी ज्वरोका विरामी बढेकाले जुम्ला बजारका हरेक मेडिकलमा दैनिक १५÷२० जनाले सिटामोल र डिकोल्ड किन्ने गरेका छन् । सिटामोल उत्पादनका कच्चा प्रदार्थ अभाव हुनथालेपछि कम्पनीले नै उत्पादन गर्न छोडेका छन् । शिव मेडिकलका सञ्चालक पूर्ण बुढ्थापा भन्छन्, “थप दुई लाख ट्याब्लेट सिटामोल माग गरेका छौं । २÷४ दिनमा आइपुग्छ । सिटामोल धेरै कम्पनीले नै उत्पादन गर्न छोडेपछि बजारमा कमी देखिएको हो । तर आवश्यकता अनुसारको सिटामोला माग भइरहेको छ ।”
यता जनस्वास्थ्य कार्यालय जुम्लाका स्टोर प्रमुख हरि बुढाका अनुसार ११ देखि १५ हजार ट्याब्लेट सिटामोल यहाँका आठवटै स्थानीय तहमा पठाइएको छ । यता कर्णाली प्रतिष्ठानमा २० हजार ट्याब्लेट सिटामोल मौज्दात भएको जानकारी प्राप्त भए पनि अनुगमनमा फार्मेसीमा भने सिटामोल र डिकोल्ड भेटिएको थिएन । प्रतिष्ठानले भने खरिदको औषधि चाँडै आउने र सिमाटोल अभाव नहुने दाबी गरेको छ ।
यहाँका प्रत्येक मेडिकल, अस्पतालका फार्मेसी र जनस्वास्थ्य कार्यालयको स्टोर अनुगमन गरेपछि तत्काल सिटामोलको अभाव नदेखिएको सहायक प्रजिअ रिजालको भनाइ छ । उनले भनिन्, “हालै माज्दात देखिए पनि दैनिक संक्रमण बढ्दै गएको अबस्थामा थप औषधि माग गर्न आवश्यक छ । साथै सबै मेडिकल र फार्मेसीले बिरामीलाई लिमिटमा खेर नजाने गरी सिटामोल बिक्रीमा ध्यान दिन जरुरी छ ।”