तरकारी खेतीमै व्यावसायिक बन्दै किसान «
Logo

तरकारी खेतीमै व्यावसायिक बन्दै किसान

तेह्रथुम जिल्लामा ३ हजार २९ हेक्टरमा तरकारी उत्पादन हुँदै आएको छ ।
अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएपछि जिल्लाका कृषकले तरकारी खेती विस्तार गर्दै आएका छन् । चालु आर्थिक वर्ष २०७७-०७८ मा ६२ हजार ३ सय मेट्रिकटन तरकारी उत्पादन भएको छ ।
जिल्लाका ६ वटै स्थानीय तहमा उत्पादन हुँदै आएको तरकारी गत आर्थिक वर्षको तुलनामा भने ४ प्रतिशतले कमी आएको हो । आर्थिक वर्ष २०७६-०७७ मा ६४ हजार ३ सय १७ मेट्रिकटन तरकारी उत्पादन भएको थियो । गत बैशाखमा आएको असिनाका कारण यस वर्ष तरकारी उत्पादनमा गिरावट आएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ ।
असिनाले बिक्री हुन लागेको बन्दा र आलुमा क्षति गर्दा तरकारी उत्पादनमा कमी आएको होे । जिल्लाको छथर गाउँपालिकामा अकबरे र तरकारी ब्लग २ वटा, लालिगुराँस नगरपालिकामा तरकारी ब्लग १ वटा, म्याङलुङ नगरपालिकामा आलु बाली ब्लग १, मेन्छ्यायेम गाउँपालिकामा तरकारी ब्लग १ वटा गरी ५ वटा तरकारी ब्लगहरु सञ्चालनमा रहेको ज्ञान केन्द्रका प्रविधिक सहायक बिशाल राईले जानकारी दिए । जिल्लाबाट बन्दा, काउली, अकबरे, स्कुस र गोलभेँडा बढी निर्यात हुने गरेको छ ।
जिल्लाका ६ स्थानीय तहमध्ये छथर गाउँपालिका, लालिगुराँस नगरपालिका, मेन्छ्यायेम गाउँपालिका र आठराई गाउँपालिकामा उत्पादन भएको तकारी मात्रै निर्यात हुँदै आएको छ । म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकामा उत्पादन भएको तरकारी गाउँमै खपत हुने गरेको छ । जिल्लाको गाउँगाउँमा स्थापना गरिएका कृषक समुह, कृषि सहकारी तथा व्यक्तिगत फर्ममार्फत तरकारी निर्यात गर्दै आएको कृषकहरु बताउँछन् । अन्नबाली भन्दा राम्रो आम्दानी दिने भएकाले जिल्लाको सबै गाउँमा तरकारी उत्पादनमा कृषक आकर्षित हुँदै आएका छन् ।
मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै जिल्लामा बर्सेनि करोडौं रुपैयाँ भित्र्याउँदै आएका छन् । रासायनिक मलको प्रयोग गर्दै आएका किसान पछिल्लो समय अर्गानिक रुपमा खेतीलाई विस्तार गर्दै आएको छथर १ कादलुमु सेर्पाले बताए ।
तरकारी बालीमा पनि तेह्रथुममा भने आलु अधिक मात्रामा उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार आ व. २०७७-०७८ मात्रै ३५ हजार ७ सय ४० मेट्रिकटन आलु उत्पादन भएको थियो । तरकारी खेतीले कृषकको जिवनस्तरमा सुधार भएसँगै आधुनिक प्रविधिको प्रयोग गरी उत्पादनलाई जोड दिन थालेका छन् ।
बेमौसमी तरकारी उत्पादनका लागि प्लाष्टिक घर निर्माण गरी उनीहरुले विभिन्न प्रजातीका तरकारी खेती गर्दै आएका छन् । यहाँका किसानले ५० हजारदेखि ५ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्दै आएको कृषक जंगशेर लिम्बुको भनाइ छ । “अन्नबालीले ३ महिना पनि खान पुग्दैन तर, तरकारी खेती गर्न थालेपछि परिवार पाल्नका साथै केही रकम समेत जोहो हुन थालेको छ” उनले भने । कृषकलाई अझ व्यावसायिक बनाउन स्थानीय सरकारको सहयोगमा कृषि शाखाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्