मार्तडीमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत जडान
मार्तडी-प्रदेशमै सबैभन्दा कम विद्युतीकरण भएको बाजुराको सदरमुकाम मार्तडीमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत आपूर्ति भएको छ ।
स्थानीय बाजुरा साना जलविद्युत केन्द्रबाट मागअनुसार विद्युत आपूर्ति हुन नसक्दा दैनिक आठ घण्टा लोडसेडिङ हुँदै आएको मार्तडीमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत आपूर्ति भएपछि लोडसेडिङ अन्त्य भएको छ । नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्रका अनुसार सबस्टेसन बनी नसकेको भए पनि डाइरेक्ट कनेक्सन दिएर विद्युत आपूर्ति गरिएको छ । बाजुरा साना विद्युत केन्द्रको उत्पादन प्रणालीलाई काटेर पावर हाउसबाट राष्ट्रिय प्रसारण लाइनको विद्युत जोडिएको छ ।
विद्युत प्राधिकरणबाट बाजुरा साना जलविद्युत केन्द्र २० वर्षका लागि लिजमा लिएर विद्युत आपूर्तिको काम गरिरहेको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थासँंग लिज सम्झौता रद्द गरी विद्युत सेवा सञ्चालन गर्न निर्देशन आएपछि मार्तडीका नागरिकलाई राहत दिन सो व्यवस्था गरिएको वितरण केन्द्रका प्रमुख ललितकुमार मण्डलले बताए ।
उनले कागजी प्रक्रिया पूरा हुँदै गर्दा मार्तडी बजार क्षेत्रमा भइरहेको लोडसेडिङको समस्या हटाउन प्राधिकरणले प्रयास गरेको बताए । “प्रक्रियागत काम हुँदै जान्छ,” केन्द्रका प्रमुख मण्डलले भने, “लोडसेडिङको समस्या तत्काललाई समाधान गर्नुपर्ने दबाब बढेको हुनाले वितरण केन्द्रले राष्ट्रिय प्रशारण लाइनबाट विद्युत आपूर्ति गरेको छ ।”
प्राधिकरणको माघ ४ गते बसेको बैठकले ३ महिनाको सूचना दिएर सहकारीसँंग गरिएको लिज सम्झौता रद्द गर्ने र बाजुरा साना जलविद्युत केन्द्र र सोसँंग सम्बन्धित वितरण प्रणाली फिर्ता लिई सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्काल आवश्यक कार्य गर्न ६ माघमा सुदूरपश्चिम प्रदेश कार्यालयलाई निर्देशन पठाएका थिए ।
निर्देशनअनुसार सहकारीलाई सूचना पठाइसकिएको प्राधिकरणको प्रदेश कार्यालयले जनाएको छ । प्रदेश कार्यालयका लेखा अधिकृत मेघमणि गौतमले सम्झौता रद्द गर्नका लागि ग्राहकको मिटर अंक सर्भेक्षण गर्ने कार्य सहकारी र प्राधिकरणको तर्फबाट संयुक्त रूपमा भइरहेको जनाए । उनले प्राधिकरणको निर्णयअनुसार प्रक्रियागत काम जारी रहे पनि मिटर अंक एकिन भएपछि राष्ट्रिय प्रशारण लाइनबाट आपूर्ति गर्न मिल्ने बताए ।
साना विद्युत केन्द्रबाट दैनिक २ सय किलोवाट विद्युत आपूर्ति हुँदै आएको छ । तर २ हजार १ सय ग्राहकलाई ८ सय किलोवाटभन्दा बढी विद्युत आपूर्ति गर्नुपर्ने भएकाले मार्तडीमा लोडसेडिङको समस्या आएको थियो । साना विद्युत केन्द्रको उत्पादन ग्राहकलाई नपुग्ने भएपछि प्राधिकरणले सहकारीसँंग १२ वर्षपिछ सम्झौता रद्द गर्दैछ ।