६ महिनामा एक खर्ब ८६ अर्ब लगानी प्रतिबद्धता «

६ महिनामा एक खर्ब ८६ अर्ब लगानी प्रतिबद्धता

चालू आर्थिक वर्षको छ महिनामा लगानी प्रतिबद्धता गत वर्षको सोही अवधिको तुलनामा डेढ गुणाभन्दा बढीले वृद्धि भएको छ ।
उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७७-०७८ को पुस मसान्तसम्म ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएकोमा चालू आर्थिक वर्षको पुससम्म भने एक खर्ब ८६ अर्ब रुपैयाँ प्रतिबद्धता आएको छ । यो लगानी प्रतिबद्धता एक सय ५८.३३ प्रतिशतले बढी हो ।
विभागका अनुसार गत वर्ष १ सय ३ वटा उद्योग दर्ता भएका थिए भने यस वर्षको पुस मसान्तसम्म १ सय ५४ उद्योग दर्ता भएका छन् । जसमध्ये मझौला तथा ठूला उद्योग दर्ता उत्साहजनक रूपमा बढेको छ भने साना उद्योग दर्ता घटेको छ । गत वर्ष १७ ठूला उद्योग दर्ता भएकोमा यस वर्ष ४५ ठूला उद्योग दर्ता भएका छन् । मझौलातर्फ गत वर्ष २१ उद्योग दर्ता भएकोमा यस वर्ष ५७ उद्योग दर्ता भएका छन् । यस्तै, साना उद्योगतर्फ गत वर्ष ६५ उद्योग दर्ता भएकोमा यस वर्ष ५२ उद्योग दर्ता भएका छन् ।
चालू आवको पुससम्म उद्योग विभागमा दर्ता भएका सम्पूर्ण उद्योगले २४ खर्ब ७० अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । यद्यपि यो प्रतिबद्धताअनुसार उद्योग स्थापना भए नभएको र सञ्चालनमा रहे नरहेको विषयमा वास्तविक तथ्यांक भने छैन । चालू आर्थिक वर्षको पहिलो छ महिनामा कोरोना महामारीको असर कम भएका कारण उद्योग दर्तामा वृद्धि भएको विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुली बताउँछन् । गत आवको लगानी प्रतिबद्धताबाट ६ हजार २ सय ८८ रोजगारी सिर्जना हुने प्रस्ताव गरिएकोमा चालू आवको लगानी प्रतिबद्धताअनुसार उद्योग स्थापना भएमा १३ हजार ७ सय ४८ को संख्यामा नयाँ रोजगारी सिर्जना हुने अनुमान विभागको छ ।
औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार १५ करोडसम्म स्थिर पुँजी भएका उद्योग साना उद्योग हुन् भने १५ करोडभन्दा बढी र ५० करोडसम्म पुँजी भएका उद्योगलाई मझौला उद्योगको वर्गीकरणमा छन् । यस्तै ५० करोडभन्दा बढी पुँजी भएका उद्योग ठूला उद्योग हुन् तर ६ अर्बभन्दा बढी स्थिर पुँजी भएका उद्योग भने लगानी बोर्डमा दर्ता हुने व्यवस्था छ ।

एफडीआई प्रतिबद्धता ३० प्रतिशत बढ्यो
विभागका अनुसार चालू आवको पहिलो ६ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३०.२० प्रतिशतले बढेको छ । गत आवको पुससम्म २३ अर्ब ४७ करोड रुपैयाँ रहेको वैदेशिक लगानी चालू आवको सोही अवधिमा ३० अर्ब ५६ करोड रुपैयाँ रहेको छ । यससँगै कुल वैदेशिक लगानी प्रतिबद्धता तीन खर्ब ९५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । यो लगानी शतप्रतिशत भित्रिए मुलुकमा दुई लाख ८२ हजार ३ सय ११ जनामा रोजगारी सिर्जना हुने विश्वास छ । गत वर्षको वैदेशिक लगानी प्रतिबद्धताबाट ३ हजार ४ सय ८० र यस वर्ष ८ हजार १ सय ४६ रोजगारी सिर्जना हुने उद्योग विभागले जनाएको छ ।
वैदेशिक लगानीतर्फ पनि साना उद्योग दर्ता घटेको देखिन्छ भने ठूला उद्योग दर्ता स्थिर छ । मझौला उद्योग दर्ता भने बढेको छ । ठूला उद्योग गत आव र चालू आवमा दुई÷दुईवटा स्थापना भए पनि मझौला उद्योग गत आवमा दुई र चालू आवमा ३७ वटा दर्ता भएका छन् । यसैगरी वैदेशिक लगानीका साना उद्योग गत आवमा १ सय १९ दर्ता भएकोमा चालू आवमा ९० वटामात्रै छन् ।

प्रतिक्रिया दिनुहोस्