Logo

वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी घट्यो, प्रतिफल बढ्यो

लगानीयोग्य तरलताको अभाव तथा प्रतिस्पर्धाका बीच वाणिज्य बैंकहरूको औषत प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा बैंकहरूको औषत ईपीएस १९.१८ रुपैयाँ थियो भने चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ वटा बैंकहरूको अपरिष्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी औषतमा १९.०५ रुपैयाँ देखिएको छ ।
सञ्चालनमा रहका बैंकमध्ये ११ बैंकको मात्रै ईपीएस बढेको तर, बाँकी १६ वटा बैंकको घटेको कारण औषत प्रतिसेयर आम्दानी घटेको हो । तर, तर बैंकहरूको नाफा भने बढेको छ । चालू आर्थिक वर्ष २०७८-०७९ को दोस्रो त्रैमासिकमा बैंकहरूले ३४ अर्ब २१ करोड नाफा गरेका छन् । जुन गत आर्थिक वर्षको पुस मसान्तभन्दा नाफा ३ अर्ब १३ करोड बढी हो । जसका कारण उनीहरूले दिने प्रतिफल गत आर्थिक वर्षको पुस मसान्तसम्ममा भन्दा बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मा ३१ अर्ब ८ करोड खुद नाफा थियो ।
बैंकहरूले चालु आर्थिक वर्षको पुससम्ममा कमाएको रकमबाट औषत १४.३३ प्रतिशतले पुँजीमा प्रतिफल (आरओई) दिन सक्ने देखिएको छ । जुन गत आर्थिक वर्षको पुस मसान्तभन्दा १.६४ प्रतिशतले बढी हो । पछिल्ला वर्षहरूमा कोरोनाका कारण व्यापार विस्तार गर्न नसकेपछि बैंकहरूको प्रतिफल घट्दै गइरहेको थियो ।
बंैकर अनलराज भट्टराईका अनुसार प्रतिफल थोरै नै छ । “जसरी बैंक तथा वित्तीय संस्थाको लगानी तथा जोखिमको अनुपातमा प्रतिफल थोरै नै हो,” उनले भने, “गत आर्थिक वर्षको र चालू आर्थिक वर्षको तुलनामा कूल सम्पत्तिको आधार मात्र बढेको छ । साथै, नियामकीय नियमका कारण पुँजीको आकार त बढ्यो तर प्रतिफल भने त्यसअनुसार बढ्न सकेन ।”
उनले थपे, “अन्य व्यवसायको तुलनामा बैंक पारदर्शी छन्, सबैको आँखा पनि लाग्छ तर प्रतिफल भने न्यून छ । अन्य क्षेत्र पारदर्शी नभएका कारण उनीहरूको प्रतिफल देखिँदैन तर बंैक तथा वित्तीय संस्थाको भन्दा बढी प्रतिफल भएका अन्य धेरै क्षेत्र छन् ।”

वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी (आर्थिक वर्षको पुस मसान्तसम्म)

प्रतिक्रिया दिनुहोस्