पर्यटन पुनरुत्थानमा ढिला नगरौं «

पर्यटन पुनरुत्थानमा ढिला नगरौं

कोभिड–१९ का कारण विश्वभर नै थलिएको पर्यटन क्षेत्र अन्य मुलुकमा विस्तारै तङ्ग्रिन थालेको भए पनि पछिल्लो समय कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर वृद्धि भएकाले नेपालमा पर्यटक आगमन वृद्धिमा कमी आएको छ । तर, अब कोभिडसँगसँगै जानुको विकल्प नभएकाले स्वास्थ्य मापदण्डको पालना गरी पर्यटन बजार तङ्ग्रिने गरी सरकारले नीति तर्जुमा गर्नुपर्ने जानकारहरू बताउँछन् । पर्यटन व्यवसायीले कोरोना महामारीपछि पर्यटन क्षेत्रमा लगाइएको असहजता हटाउँदै खुला गरिनुपर्ने माग गर्दै आएका छन् भने सरकारले पनि सोहीअनुसार आगमनमा सहजता प्रदान गर्दै आएको छ ।
पर्यटन व्यवसायीहरूले नेपालका प्रायःजसो सबै मुख्य गन्तव्यमा कोभिडविरुद्धको खोप लगाउने दर उच्च रहेको र अग्रपंक्तिमा सेवा दिने सबै पर्यटनकर्मीले उक्त खोपको मात्रा पूरा गरिसकेकोे सन्दर्भमा पर्यटन क्षेत्रलाई चलायमान बन्ने क्रममा रहेको छ ।
पूर्ण डोज खोप लगाएका पर्यटकलाई क्वारेन्टाइनमा बस्नु नपर्ने, पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने निर्णय पछिल्लो समय सरकारले गरेका सकारात्मक पहल हुन् । सुरक्षित गन्तव्य र गतिविधिहरू पहिचान गरी प्रचारप्रसार गरेको खण्डमा नेपालमा पर्यटक आगमन दर बढेर जाने विश्वास लिएको छ ।
लामो समय पर्यटन क्षेत्र चलायमान नहुँदा यो क्षेत्रको रोजगारी, लगानी, यसमा रहेका पूर्वाधार जोखिममा परेको बताउँदै व्यवसायीले अब पर्यटन पुनरुत्थान गर्न ढिला भएको बताउँदै आएका छन् । पूर्ण खोपको मात्रा लगाएको सुनिश्चित गरेर पर्यटन बजारमा सुरक्षित पर्यटन क्षेत्र भनेर सकारात्मक सन्देश प्रवाह गर्न सकेको खण्डमा पर्यटक आगमन नेपालमा बढाउन सक्ने पर्यटन व्यवसायीको भनाइ छ ।
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) कोभिडले सन् २०२१ मा गरेको अध्ययनले पनि सबैभन्दा बढी नेपालको पर्यटनमा असर गरेको उल्लेख गर्दै यसका कारण दुई लाख ३० हजारको रोजगारी जोखिममा परेको, २० हजार टुर र ट्रेकिङ गाइडहरू बेरोजगार भएको र दुई हजार ६ सय ट्रेकिङ एजेन्सीमा असर पर्दा करिब ५३ करोड अर्थात् ४ सय ६० मिलियन डलर बराबरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) गुमाएको प्रतिवेदनमा उल्लेख छ । यही सन्दर्भमा रहेर कारोबारले सरोकारवालासँग गरेको कुराकानीको सार ः

पर्यटन क्षेत्र पुरानै लयमा फर्कने सम्भावना छ
वसन्त मिश्र
पर्यटन व्यवसायी
कोभिड–१९ का कारण पर्यटन क्षेत्र मारमा परेको अवस्था छ । सन् २०१९ को अन्त्यबाट फैलिएको यो महामारीले गर्दा पर्यटन गतिविधि प्रायः ठप्प रहेको अवस्था छ । पछिल्लो अवस्था हेर्दा अन्य देशमा पर्यटक आगमनलाई सहज बनाउँदै लगिएको छ । महामारी जहिले पनि अन्त्य हुने समयमा कमजोर भएर जाने गरेको विगतको इतिहास हेर्दा कोभिडको महामारी अब बिस्तारै निस्तेज हुने आकलन गरिएको छ । ओमिक्रोनको प्रभाव पछिल्लो समय कम रहेको देखिन्छ । योसँगै पर्यटकहरू पनि लामो यात्रामा भन्दा छोटो यात्रामा निस्कने प्र्रचलन बढेर गएकाले गर्दा पर्यटन क्षेत्र चाँडै पुरानै लयमा फर्कने सम्भावना देखिएको छ । सरकारले कोभिड–१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएकालाई सहज रूपमा नेपालमा भ्रमणको वातावरण विकास गरेको छ । अब विस्तारै नेपालमा पर्यटन बजार फस्टाएर जानेछ । माल्दिभ्स र दुबई पछिल्लो समयका उदाहरण हुन् सबै देशले नै पर्यटन उद्योगलाई जोड दिएको छ । प्रतिस्पर्धा पनि छ । हामी पनि भारत, चीन, माल्दिभ्सलगायतका देशहरूसँग प्रतिस्पर्धा गरि नै रहेका छौं । सरकारले पछिल्लो समय पूर्ण मात्राको खोप लगाएकाले अनअराइभल भिसा दिने निर्णय पनि गरेको छ ।
विदेशमा पीसीआर गरेर आएका पर्यटकमा पनि कोरोना संक्रमण हुने जोखिम हुन सक्छ । यसको समाधानका लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै एन्टिजेन, पीसीआर परीक्षण गर्ने व्यवस्था ग¥यौं र छिटोभन्दा छिटो नतिजा पनि दियौँ भने संक्रमण नदेखिएका पर्यटकलाई सहजै नेपालमा घुम्न दिने व्यवस्था गर्न सकिन्छ । हामीले सधंै नेपालको नेचर बिक्री गरिरहेका छौं । नेपालको सौन्दर्यता भनेकै प्राकृतिक सम्पदा भएकाले गर्दा र हामीकहाँ क्राउड नभएकाले गर्दा नेपाल सधैं पर्यटकको रोजाइमा पर्दै आएको छ । भारत सरकारले अन्य देश हुँदै नेपाल आइने पर्यटकलाई खुला गरेको छैन । यसमा पनि सरकारले पहल गर्न सकेको खण्डमा नेपालको पर्यटक आगमन वृद्धि हुनेछ भने यसअघि भारतीय नागरिक नेपाल आएर अन्य देश जाने गरेका थिए, यसले पनि नेपालको पर्यटन बजारमा टेवा पु¥याएको थियो । यसलाई पनि पुरानै अवस्थामा लान सकेको खण्डमा अझ राम्रो हुन्छ । नेपाल सरकारले पनि नेपाल आएर अन्य देशका यात्रुमा प्रतिबन्ध गरेपछि त्यसको असर पर्यटन बजारमा परेको अवस्था छ । भारतको व्यापार सञ्जाल विश्वभर नै रहेको छ । तर, हामीकहाँ आएर अन्य देश जाने ट्रेन्डलाई सरकारले प्रतिबन्ध लगाएसँगै अहिले माल्दिभ्समा पर्यटन फस्टाएर गएको हो ।
मार्केटिङ निरन्तर गरिरहनुपर्ने हुन्छ । यसको परिणाम विस्तारै आउने भएकाले गर्दा सरोकारवाला निकायले नयाँ रणनीतिका साथ प्रचारप्रसारमा केन्द्रित हुनुपर्छ । यात्रामा पनि सरकारले झन्झटरहित यात्रा पर्यटकलाई गराउन सकेको खण्डमा अझ राम्रो हुँदै जानेछ । सरकारले र नीजी क्षेत्रले पर्यटन क्षेत्रबाट नै नेपालको वैदेशिक मुद्रा आर्जनको राम्रो माध्यम भएकाले गर्दा सबै सरोकारवालासँगको समन्वयमा कसरी काम गर्ने, कसरी पर्यटकलाई नेपाल भिœयाउने जस्ता विषयमा प्रस्ट भएको खण्डमा राम्रो हुँदै जानुपर्छ । सरकारको नीति र निजी क्षेत्रको प्रचारप्रसार सँगसँगै गर्न सकेको खण्डमा आगामी दिनमा पर्यटक आगमनमा वृद्धि ल्याउन सकिने देखिन्छ ।
नेपालको हस्पिटालिटीदेखि हवाई यात्रा र पर्यटन बजारमा पनि विश्व स्वास्थ्य संगठनको निर्देशनमा सरकारले जारी गरेको मापदण्ड लागू गरेकाले गर्दा पछिल्लो समयमा पर्यटकबाट नै वृद्धि हुने सम्भावना कम रहेको अवस्था छ । अब हामी सर्भाइबल भएको अवस्थामा छौं । अब भने रिभाइबलको रणनीतिमा काम गर्न सकेको खण्डमा अझ राम्रो भएर जानेछ । सबै देशले पर्यटकको प्रचारप्रचारमा काम गरिरहेका छन्, हामीले पनि हाम्रो स्रोत बजारमा प्रचारप्रचारमा लाग्नु नै अबको रणनीति हुनुपर्छ ।
सरकार बन्देजमुखी कार्यव्यवस्थाको पक्षमा रहेकाले गर्दा पर्यटन क्षेत्र अझ मारमा पर्ने भएकाले कोरोनाविरुद्धको सावधानी अपनाएर काम गर्नुपर्छ ।
विश्वमा पर्यटनमुखी देशहरूले पर्यटन आगमनमा सहजता प्रदान गरेकाले त्यहाँको पर्यटन बजार फस्टाएर गएको अवस्था छ । नेपालमा भने सरकारले यो वा त्यो बहानामा विगतमा पर्यटकलाई सहज आगमनको नीति नलिएकाले गर्दा पछिल्लो समय नेपाल आगमन गर्ने पर्यटकको संख्यामा वृद्धि हुन नसकेको अवस्था छ । अब भने यसमा सरकारले सहज नीति लिएकाले पछिल्लो पर्यटक आगमन दर वृद्धि भएर गएको छ । पछिल्लो पर्यटक आगमन तथ्याङ्क हेर्दा पनि नेपालमा पर्यटक आगमन दर वृद्धि हुँदै गएको छ ।
पूर्ण मात्राको खोप लगाएका मुलुकमा पर्यटकको आगमन दरमा उल्लेख्य वृद्धि भएकाले गर्दा सरकारले खोप पहुँच सबै वर्गमा पु¥याउनुपर्छ । पहिलो भनेको त कोभिड–१९ विरुद्धको खोप नै हो । यसका लागि सरकारले चाँडोभन्दा चाँडो सबैको पहँुचमा खोप वितरण गर्नुपर्छ । नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूको सिट क्षमता बढाउनुपर्छ । अन्तर्राष्ट्रिय उडानमा लगाइएको सीमालाई हटाएर उडान संख्यामा वृद्धि गर्नुपर्छ । अर्काे भनेको नेपाल–भारतबीचको एयर बबल सम्झौतालाई हटाएर भारत हुँदै तेस्रो देशको नागरिक आगमनमा खुला गर्नुपर्छ । बाह्य पर्यटकको आगमनमा वृद्धि भएसँगै आन्तरिक पर्यटक पनि वृद्धि भएर जानेछ । यसले गर्दा थलिएको पर्यटन क्षेत्रलाई थप राहत पु¥याउन सहयोग र टेवा पुग्नेछ । अहिलेको समस्या भनेकै पर्यटन आगमन नहुनु हो । पर्यटन बजारमा नेपालको स्वास्थ्य सुरक्षा र यहाँ अपनाउने सजगता, त्यसपछि यहाँ रहेको स्वास्थ्य पूर्वाधारका सूचनालाई प्रवाह गर्नुपर्छ । फ्रन्टलाइनमा कामदारको खोपको मात्रा पूरा गरेका ९० प्रतिशत रहेकाले गर्दा यसलाई पनि स्रोत बजारमा सन्देश प्रवाह गर्नुपर्छ ।
 

पर्यटक आगमन सहज हुँदै गएको छ
चन्द्र रिजाल
उपाध्यक्ष
नेपाल पर्यटन बोर्ड
कोरोना महामारीको जोखिमका कारण गत दुई वर्षयता पर्यटन व्यवसाय प्रायः ठप्प भएको अवस्था थियो । पछिल्लो समयमा कोरोना संक्रमण बढी भए पनि जोखिम कम भएसँगै नेपालमा पर्यटकका लागि अनअराइभल भिसा उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ भने विस्तारै पर्यटन व्यवसायलाई चलायमान बनाउनका लागि आवश्यक पर्ने स्रोत, साधन र व्यवस्थापकीय काम गर्न आन्तरिक रणनीति नै बनाएर अघि बढेको छ । बोर्डले अहिले पर्यटन क्षेत्रमा रोजगारी गुमाएकाहरूका हकमा अस्थायी रोजगारी दिनका लागि संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको अवस्था छ । बोर्डले पर्यटन क्षेत्रलाई लयमा ल्याउनका लागि र प्रचारप्रसार तथा मार्केटिङलाई रणनीतिक रूपमा अगाडि बढाउनका लागि हाम्रो अन्तर्राष्ट्रिय बजारमा प्रस्तुति कस्तो हुने, कसरी प्रस्तुत हुने भन्ने विषयमा बढी केन्द्रित रहेको र सोहीअनुसार स्पेनमा मार्ट मेलामा नेपालले सहभागिता जनाइरहेको छ । त्यस्तै विदेशस्थित नेपाली नियोगहरूसँगको सहकार्य तथा समन्वयलाई अगाडि बढाएका छौं भने भारत–चीनमा आगामी दिनमा प्रचार केन्द्रित गर्ने नीतिका साथ बोर्डले बजेटमा नै व्यवस्था गरेर काम गरिरहेको छ । पर्यटन आगमन नहुँदा पछिल्लो समयदेखि बोर्डको आम्दानी छैन । यसले गर्दा बोर्डले सहभागी हुने मेला मार्ट तथा प्रमोसनका कामहरूमा बजेट अभावले प्रत्यक्ष असर परेको भए पनि हामीले मन्त्रालयको समन्वयमा काम गरिरहेका छौं । सरकारलाई बजेट व्यवस्थापनका लागि पनि अनुरोध गरेका छौं । पर्यटनको आगमन बढाउन र वैदेशिक मुद्राको मुख्य स्रोत पर्यटन नै भएकाले गर्दा सरकार पनि यसमा सकारात्मक रहेको छ । यो वर्षको बजेटको कार्यतालिकाअनुसार पहिलो भनेकै भारतलगायतका देशमा प्रचारप्रसार गर्ने योजना रहेको छ । साथै युरोप, डब्लूटीएमलगायतका देशमा प्रचारप्रसार गरेर नेपालमा पर्यटक बढाउने काममा बोर्ड लागिरहेको छ ।
नेपालको पर्यटन विकासका लागि निजी क्षेत्र, पर्यटन व्यवसायी, सरोकारवाला निकाय, मातहतको निकायसँगको निरन्तर छलफल र समन्वयका साथ बोर्डले आफ्ना गतिविधि अगाडि बढाउने नै छ । ९० प्रतिशत पर्यटक आन्तरिक पर्यटकले नै धानेको अवस्था छ । बाह्य पर्यटकको आगमन दरमा वृद्धि तत्काल नहुने भएकाले गर्दा पनि आन्तरिक र बाह्य पर्यटकलाई सँगैसँगै लानुपर्ने बोर्डको दायित्व रहेको छ । आन्तरिक पर्यटनलाई पनि प्रवद्र्धन गर्नुपर्छ भन्ने बोर्डको धारणा रहेको छ । त्यही भएर बोर्डको कार्यनीति, रणनीति विकास गरि नै रहेको छ । बोर्ड नाकालाई तत्काल बन्द गरेर हवाई नाकालाई सहज बनाएर लानुपर्छ भन्ने सोचअनुसारले नै सरकारले नीति तथा नियम बनाएर काम गरि नै रहेको छ । सरकारले पनि पछिल्लो समयमा जारी गरेको नीतिले पनि सोही कुराको सम्बोधन गरेको छ । चीन, भारत, बंगलादेश, श्रीलंकालगायतका हाम्रा छिमेकी राष्ट्रहरूबाट छोटो रुटमा पर्यटक आउने सम्भावना भएकाले गर्दा हामीले पनि सोहीअनुसार प्रचारप्रसार केन्द्रित गर्नुपर्ने भएकाले यसको कार्यान्वयन आगामी दिन गर्दै जानेछौं । नजिकबाट गन्तव्यमा अलि कम खर्च लाग्ने, आउन पनि सहज हुने, हाम्रा धेरै कूटनीतिक सम्बन्ध पनि नजिककै सम्बन्धका कारणले रहेको बोर्डले आन्तरिक र सार्क राष्ट्रको पर्यटकमा बढी ध्यान दिएर आफ्नो पर्यटन प्रवद्र्धन योजना रहेको छ ।
 हामीले सातवटै प्रदेशमा मार्टको अवधारणा ल्याएका छौँ, सोहीअनुसार एक गाउँ एक गन्तव्यको अवधारणामा काम भइरहेको छ । अन्तर्राष्ट्रियमा हाम्रो सहभागिता जनाउनको लागि हामी डिजिटल मार्केटमा बढी जानुपर्छ भनेर नै बोर्डले सोही अनुसार काम गर्र्दै आएको छ । हामीले प्राकृतिक सुन्दरतालाई बेचेर मात्रै हुँदैन, प्राकृतिक सुन्दरतालाई नै पर्यटन बजारमा विक्री गरेर अरू मुलुकभन्दा फरक बन्दै जाने हो ।
नेपालको पर्यटन विकासका लागि निजी क्षेत्र, पर्यटन व्यवसायी, सरोकारवाला निकाय, मातहतको निकायसँगको निरन्तर छलफल र समन्वयका साथ बोर्डले विभिन्न आफ्ना गतिविधि अगाडि गर्ने कार्यक्रम रहेको छ । सोहीअनुसार पर्यटन क्षेत्रका सरोकारवाला निकायसँग छलफल गर्दै पर्यटन पुनरुत्थानका काममा बोर्डले खाका बनाएर काम गर्नेछ । यसका साथै नेपाल भित्रिने पर्यटकका तथ्यांकहरू निश्चित एकाइ वा निकायमा रहने र नीति–नियम, योजना कार्यान्वयनको क्रममा स्पष्ट तथ्यांकको अभाव रहेको हुँदा पर्यटनसम्बन्धी तथ्यांकको वर्गीकरण गरी एकीकृत पर्यटन तथ्यांक प्रणालीको विकास गर्दै सहज पहुँच स्थापित गर्नका लागि बोर्डले संयुक्त राष्ट्रसंघको सहयोगमा स्याटेलाइट एकाउन्टको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्