औद्योगिक सम्बन्धको विकासमा उत्पन्न समस्या «

औद्योगिक सम्बन्धको विकासमा उत्पन्न समस्या

आधुनिक व्यवस्थापनमा व्यवस्थापनका कार्यमध्ये संस्थाभित्र असल औद्योगिक सम्बन्ध कायम गर्ने कार्य पनि महत्वपूर्ण कार्य हो । असल औद्योगिक सम्बन्धको विकासले मुलुकको आर्थिक विकासमा मद्दत पुराउँछ । संस्थाभित्र औद्योगिक सम्बन्ध खलबलिन पुग्यो भने संस्था र संस्थासँग सरोकारित पक्षहरू लगानीकर्ता, निक्षेपकर्ता, ग्राहकवर्ग हुँदै सिंगो समाज र मुलुककै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ । अतः संस्थाको अग्रगति र प्रगतिको कुरा गरिरहँदा वा मुलुकको आर्थिक विकास र समृद्धिको कुरा गरिरहँदा औद्योगिक सम्बन्धलाई सुमधुर बनाउने दिशामा ध्यान दिनु जरुरी हुन्छ ।
सामान्यतया औद्योगिक सम्बन्ध भन्नाले उद्योग कलकारखानामा संलग्न मालिक-नियोक्ता-रोजगारदाता र त्यहाँ कार्यरत कामदार, कर्मचारीबीचको विद्यमान सम्बन्धलाई जनाउँछ । तर, औद्योगिक सम्बन्धको गतिशील धारणाले उद्योग, सेवा–व्यवसायको उत्पादन, सेवा र वितरणसँग सम्बन्धित पक्षहरू सरकार, रोजगारदाता र कामदार कर्मचारीबीचको त्रिपक्षीय सुमधुर सम्बन्धलाई औद्योगिक सम्बन्धका रूपमा परिभाषित गरिन्छ ।
औद्योगिक सम्बन्धका उद्देश्यहरूमा सरकार, व्यवस्थापन र मजदुरबीचको सम्बन्ध सुमधुर बनाउने, औद्योगिक द्वन्द्व न्यून गर्ने र गुणात्मक कार्य वातावरण बनाइराख्ने रहेको हुन्छ ।
जुनसुकै संस्थामा पनि उपर्युक्त उद्देश्य प्राप्तिको दिशामा प्रयत्न गर्न सक्दा संस्थाभित्र सुमधुर सम्बन्ध कायम हुन्छ र यसले औद्योगिक सम्बन्ध कायम गर्न मद्दत गर्छ । यसको विपरीत नकारात्मक कार्य हुन थाले औद्योगिक सम्बन्ध खलबलिन पुग्छ ।
यसले उत्पादनको काममा व्यवधान उत्पन्न गर्छ । सेवा प्रदानमा व्यवधान उत्पन्न गर्छ । उत्पादकत्वमा कमी आउँछ । लगानी गर्नमा प्रतिकूल वातावरण सिर्जना गर्छ । यसले सामाजिक समस्याहरू (बेरोजगारी, आर्थिक मन्दी र मूल्य वृद्धि) सिर्जना गर्न थाल्छ ।
औद्योगिक सम्बन्ध भनेकै संस्थाभित्रको व्यवस्थापन–श्रमिकबीचको सम्बन्ध हो । औपचारिक सम्बन्ध राम्रो हुँदा यसको सकारात्मक प्रभाव भएको पाइन्छ । अतः यसलाई संस्थाभित्रका सबै पक्षलाई समेटेर विकास गर्नुपर्छ । औद्योगिक सम्बन्धको विकास सकारात्मक रूपमा हुदै जाँदा सामूहिक सौदाबाजीको विकासबाट ट्रेड युनियनको सकारात्मक भूमिका बढ्न थाल्छ, । यसको माध्यमबाट द्वन्द्व न्यून हुन थाल्छ र व्यवस्थापनमा श्रमिकको सहभागिता रहन्छ । संस्थाको विकासमा श्रमिकको भूमिका बढ्न थाल्छ । सामूहिक प्रयत्नबाट संगठनको विकास हुन थाल्छ, संस्थाभित्र कानुनी शासन स्थापित हुन्छ ।
वास्तवमा संस्थाभित्र सुदृढ, सबल, लोकतान्त्रिक एवं जिम्मेवार टे«ड युनियन र व्यवस्थापन भएमा स्वाभाविक रूपमा कर्मचारीको सेवा–सुरक्षा हुनुका साथै यसले संस्थाको विकासमा प्रवद्र्धन गर्ने कार्य गर्छ । यी सबै कार्य गर्न मूलतः सामूहिक सौदाबाजीको विधि प्रयोग गर्नुपर्छ । यदि संस्थाभित्र स्वस्थ ढंगले सामूहिक सौदाबाजीको प्रक्रिया अगाडि बढ्ने र सामूहिक सौदाबाजीबाट भएको सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने हो भने यसैका माध्यमबाट कर्मचारीहरूको सेवा–सुरक्षा, वृत्तिविकास हुनुका साथै संस्थाभित्र अनुशासनको विधि र पद्धतिलाई स्थापित गर्न सकिन्छ ।
यसका साथै संस्थाभित्र राज्यद्धारा पारित श्रम कानुन (श्रम ऐन, ट्रेड युनियन, बोनस ऐन र नियमावलीहरू) को इमानदारितापूर्वक पालना र कार्यान्वयन हुने हो भने संस्थाभित्र हुने सबै खाले द्वन्द्व र अशान्तिलाई न्यूनीकरण गरी औद्योगिक शान्ति कायम गर्न सकिन्छ ।
यस्तै संस्थाभित्र औद्योगिक लोकतन्त्र स्थापना भएमा कामदार कर्मचारीहरू कुनै किसिमको भय, त्रासमा नरही इमानदारी र स्वाभिमानका साथ काम गर्ने वातावरण सिर्जना हुन्छ । यसका लागि कामदार कर्मचारीलाई हाम्रो आफ्नै सरकार छ भन्ने अनुभूति प्रदान गर्न सहभागितामूलक व्यवस्थापनको अवधारणाअनुरूप संस्थाको नीति निर्माण गर्दा कर्मचारीवर्गको सल्लाह–सुझाव लिने र नीति निर्माणको तह सञ्चालक समितिमा कामदार कर्मचारीवर्गको प्रतिनिधित्व सुनिश्चित हुँदा स्वाभाविक रूपमा सहभागितामूलक व्यवस्थापनको अभ्यासका विकास हुन्छ । यसका साथै श्रमिक कर्मचारीका आधारभूत अधिकारका रूपमा रहेको मानवअधिकार र टे«ड युनियन अधिकारको सम्मान गर्नुका साथै उत्पादकत्व अभिवृद्धिका लागि कर्मचारी कार्यक्षमता विकाससम्बन्धी तालिम प्रदान गरेर कामप्रति उत्प्रेरित गर्न सक्दा संस्थाभित्र हार्दिकता, एकता र लोकतान्त्रिक वातावरण सिर्जना भई औद्योगिक सम्बन्धको विकास गर्न मद्दत पुग्दछ ।
औद्योगिक सम्बन्धको विकासमा खास गरी राज्यको श्रमनीति, अर्थनीति, श्रम कानुन, सामूहिक सौदाबाजी र व्यवस्थापनको सोच शैली र दृष्टिकोणले संस्थागत प्रभाव पारेको हुन्छ । यस्तै राज्यले अवलम्बन गर्ने आर्थिक नीति (पुँजीवादी, समाजवादी र उदारवादी) ले संस्थाको संरचना, श्रमशक्तिको संरचना, श्रमिक आपूर्तिको स्थिति, श्रमबजार, मुद्रास्फीतिले औद्योगिक सम्बन्धमा प्रभाव पारेको हुन्छ । यस्तै सामाजिक तत्वहरूअन्तर्गत समाजको मूल्य, मान्यता, संस्कृतिले संस्थाभित्रको मान्यतामा प्रभाव पार्छ । बढ्दो प्रविधिको विकासले श्रमिक कर्मचारीको रोजगारी कटौती हुँदै गएको र यसले रोजगारीका अवसरहरूलाई संकुचन गरिरहेको छ र यसले औद्योगिक सम्बन्धको विकासमा व्यवधान खडा गरिरहेको छ । यस्तै संस्थाभित्र व्यवस्थापक र कर्मचारीहरूको मनोवैज्ञानिक पक्षले प्रभावित गरिरहेको हुन्छ ।
यस्तै मुलुकको विद्यमान राजनीतिक स्थिति, संक्रमणकालीन अवस्था, मूल्य–मान्यतामा भइरहेको परिवर्तन आदिले पनि संस्थाभित्र सम्बन्ध खलबल्याइरहेको हुन्छ । विश्वव्यापी पुँजीवादी अर्थनीति, जसलाई नवउदारवादी अर्थनीति भनिन्छ, यसले अत्यधिक मात्रामा श्रमशोषणको मात्रा बढाउँदै लगेको छ । यसअन्तर्गत हायर एन्ड फायर, नो वर्क नो पे, आउट सोर्सिङजस्ता नीति अगाडि सारिएको सन्दर्भमा यसले संस्थाभित्र औद्योगिक सम्बन्धको विकासमा थप चुनौती खडा गरिदिएको छ ।
संस्थाको अग्रगति र प्रगतिका साथै औद्योगिक सम्बन्धको विकासका लागि युनियन–व्यवस्थापनबीचको आपसी सम्बन्ध व्यवस्थित र सुमधुर हुनुपर्छ । संस्थाभित्र व्यवस्थापन र युनियन दुवैको अस्तित्व र भूमिका अपरिहार्य छ । यीमध्ये कुनै एकको अभावमा वा एक पक्षलाई अर्को पक्षले नजरअन्दाज वा बेवास्ता गर्ने हो भने संस्थाको अस्तित्व र भविष्य नै समाप्त हुन्छ ।
अतः यी दुई पक्षबीचको सम्बन्धलाई व्यवस्थित र सुमधुर बनाउन प्रथमतः दुवैले एक–अर्काको अस्तित्व र भूमिकालाई सम्मान गर्दै तदनुरूप उत्पन्न समस्यालाई आपसी संवाद र सहमतिका माध्यमबाट समाधान गरिनुपर्छ । व्यवस्थापनबाट सदैव स्वच्छ, निष्पक्ष र तटस्थ भएर युनियनहरूसँग गरिने व्यवहार र आपसी सम्बन्धले स्वाभाविक रूपमा सम्बन्ध सुधारमा विकास हुन्छ, यस्तै राज्य, सरकार र नीति निर्माताहरू, राजनीतिज्ञहरूको पनि श्रमिक वर्ग र तिनको प्रतिनिधिमूलक ट्रेड युनियनहरूप्रति सकारात्मक सोचका साथै उनीहरूको भूमिकालाई आत्मसात् गर्न श्रमिकमैत्री वातावरण सिर्जना गर्न तदनुरूप नीति, नियम, कानुनको तर्जुमा, अनुगमन विस्तार गर्न जरुरी छ । यस्तै युनियनहरूका बीचमा पनि साझा सरोकारका विषयमा आपसी सहकार्य गरी एकले अर्काको अस्तित्वलाई स्वीकार गरी हातेमालो गर्दै साझा हित र संस्थाको प्रगतिमा इमानदारिताका साथ अगाडि बढ्न सके समग्रमा औद्योगिक सम्बन्धको विकासको आधार तयार भई संस्थाले परिलक्षित उद्देश्य हासिल गर्ने विषयमा विश्वास लिन सकिन्छ ।

प्रेमलकुमार खनाल

प्रतिक्रिया दिनुहोस्