भन्सार मूल्यांकन कारोबार मूल्यको आधारमा गर्न माग «

भन्सार मूल्यांकन कारोबार मूल्यको आधारमा गर्न माग

निजी क्षेत्रले विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्यांकन गर्न सरकारसँग माग गरेको छ ।
बुधबार ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयमा डिजिटल भुक्तानी कारोबारको उद्घाटन कार्यक्रममा बोल्दै निजी क्षेत्रका संगठनहरुले विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्यांकन गर्न सरकारसँग माग गरेका हुन् ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले आयातित वस्तुको भन्सार मूल्यांकन कारोबार मूल्यको आधारमा गर्नुपर्ने बताए । उनले अहिले भन्सारमा मूल्य पुस्तिकाका आधारमा वस्तुको मूल्याङ्कन गरिने भन्दै त्यो विश्व व्यापार संगठनसँगको सम्झौता विपरीत भएको बताए । भन्सार मूल्यांकनमा समस्या रहेकाले यो समस्या सरकारले तत्काल  समाधान नगरे भन्सारमा मात्रै नभएर समग्र अर्थतन्त्र संकटमा पर्ने पनि उनले बताए । सरकारको नीतिका कारण उर्जाशिल युवाहरु उद्योग व्यवसायमा आउन नखोजेको उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यवसायी स्थानीय निकायले लगाउने फरक फरक करले समेत समस्यामा परेको बताए । श्रेष्ठले स्थानीय तहले सम्पत्ति करको नाममा उद्योग तथा व्यवसायलाई कर लगाउनु गलत भएको भन्दै भन्सार भनेको राजस्वको शुरुवात मात्रै नभएर जनताको सुरक्षाको उद्गम विन्दु पनि भएको बताए । सरकारले भन्सारमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला स्थापना गर्नुपर्ने बताउँदै उनले यस्तो प्रयोगशाला नहुँदा अहिले चीन र भारतमा नेपालको निर्यात शून्य जस्तै भएको बताए ।
“दुई वर्षदेखि कोरोनाका कारण चीनमा निर्यात बन्द छ तर आयात भइरहेको छ,” उनले भने, “चीनलाई नेपालबाट सामान लिँदा कोरोना लाग्ने तर नेपाललाई कोरोना नलाग्ने यो विषयमा सरकार गम्भिर हुनुपर्छ ।”
यस्तै, राष्ट्र बैंकले जारी गरेको सामान आयात गर्न शतप्रतिशत मार्जिनको राख्नु पर्ने व्यवस्थाले गाडी भन्सारमा रोकिएर बसेको भन्दै उनले कुनै व्यवसायीले नगद तिरेर सामान आयात गरेको छ भने भन्सारमा रोकिएका गाडी भन्सारले तुरुन्त छोड्नुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नुपर्ने बताए । उनले अहिले बढ्दै गएको मुलुकको व्यापार घाटा कम गर्न सरकारले निर्यात प्रर्वद्धन गर्नुपर्ने भन्दै सरकारले भन्सारमा आयात भएको वस्तुको कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिए । मल्लले भन्सार नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याब राख्न सुझाव पनि दिए ।

प्रतिक्रिया दिनुहोस्