चैतसम्ममा उपभोक्ताको धारामा खानेपानी आउने दाबी «

चैतसम्ममा उपभोक्ताको धारामा खानेपानी आउने दाबी

मेलम्ची खानेपानी आयोजनाको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु भएको छ । दु्रत प्रक्रियाबाट पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबाट मेलम्ची मर्मतको काम सुरु भएको हो ।
सरकारले आगामी चैत मसान्तभित्र नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने प्रतिबद्धता जनाएको छ । मेलम्ची खानेपानी आयोजना मर्मतको काम फास्ट ट्रयाकबाट अगाडि बढाउनका लागि मन्त्रीपरिषद्मा प्रस्ताव स्वीकृत गरेपछि काम अगाडि बढाउन बाटो खुलेको हो । चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी आयोजना मर्मतको काम सम्पन्न गर्दै उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउन फास्ट ट्रयाकको माध्यमबाट आयोजना मर्मतको काम अगाडि बढाइएको खानेपानी मन्त्रालयको भनाइ छ ।
झन्डै २ दशकको पर्खाइपछि उपत्यकामा आएको मेलम्ची खानेपानी आयोजनामा मनसुन सुरुवात भएको साता दिन पनि नपुग्दै गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले क्षति पुगेको थियो । आयोजनामा क्षति भएसँगै मेलम्चीको पानी कहिले आउँछ भन्ने कुरा अझै पनि अनिश्चित बनेको छ । मन्त्रालयले तोकिएको समयमा नै पानी वितरण हुने गरी छिटो आयोजना मर्मतको काम सम्पन्न गर्न फास्ट ट्रयाकको माध्यमबाट अगाडि बढाएको भन्दै चैतभित्र नै उपभोक्ताको धारामा पानी आउने दाबी गरेको छ ।
मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले आयोजनाको हेर्डवक्र्स सफाइको काम सुरु भएको जानकारी दिए । “तत्काल अस्थायी बाँधबाट मेलम्ची खानेपानी चैतसम्ममा उपत्यकामा ल्याउने कोसिस गरिरहेका छौं, स्थायी रुपमा निर्माण गर्न समय लाग्ने भएपछि अस्थायी मर्मतका लागि पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएका छौं,” उनले भने, “अन्य कुनै प्राविधिक समस्या नआएमा चैत मसान्तसम्ममा नै मेलम्चीको पानी आउने छ ।”
समितिका अनुसार मेलम्ची खानेपानी आयोजनामा करिब २ अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको स्थायी बाँधमा क्षति पुग्नुका साथै आयोजनासम्म पुग्ने ८ किलोमिटर सडक भत्किएको छ । यसैगरी ३ वटा हेडवक्र्स नजिकका पुल र २ प्रवेशमार्गका पुल भत्किनुका साथै ढुंगा गिट्टी माटो तथा बालुवाले हेडवक्र्स नै पुरिएको छ ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले हेडवक्र्स पुरिए पनि ठूलो क्षति भने भएको छैन । बाढी कारण मेलम्ची नदीमा थुप्रिएका ढुंगा, गिट्टी, बालुवा सफा गर्न मात्रै ३५ करोड लागत लाग्ने समितिको अनुमान छ । आयोजना मर्मत गर्न अझै कति लागत लाग्ने र ठ्याक्कै समय कति लाग्ने भन्ने विषयमा बिस्तृत अध्ययनको प्रतिवेदन भने आउन बाँकी छ ।
समितिका अनुसार आयोजनासम्म जान जोडिएको करिब ८ किलोमिटर सडक मर्मत पनि समितिले नै गर्ने छ । ३० मिटर फराकिलो नदी बाढी आएपछि ६० मिटर फराकिलो बनेको आयोजनाले बताएको छ । भत्किएका ५ वटा पुल निर्माण गर्नुपर्ने आयोजनाको दायित्व थपिएको छ । नदीको क्षेत्रफल झन्डै आधा बढेपछि पुलको लम्बाइ पनि बढेसँगै लागत थपिने छ ।

प्रतिक्रिया दिनुहोस्