वैदेशिक रोजगारीमा मन्दी आए पनि घटेन ठगी

कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आए पनि यसको नाममा हुने व्यक्तिगत ठगी भने गत वर्षको ६ महिनाको तुलनामा बढेको छ । सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो ।
नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली गर्ने प्रवृत्तिका कारण ठगी रकम र उजुरी संख्या बढेको विज्ञको भनाइ छ । वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको गत आवको ६ महिनाको विवरणमा ठगीको दाबी रकम गत वर्ष भन्दा १ करोड ५१ लाख ८७ हजार रुपैयाँ बढेर १६ करोड ८५ लाख ६२ हजार ४६० रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको पुस महिनासम्म १५ करोड ३३ लाख ७५ हजार ५ सय २९ रुपैयाँ बराबर ठगिएको जनाउँदै पीडित युवाले रकम दाबी गर्दै विभागमा उजुरी दिएको विभागका निर्देशक विनोद पौडेलले जानकारी दिए । गत वर्षको पुससम्म ठगीमा परेर विभागमा उजुरी दिनेको संख्या १ सय ६१ रहेकोमा चालु आवमा सो संख्या २ सय ९० पुगेको छ ।
सरकारले वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्ट राख्न नपाउने निर्णय गरेको भए पनि चालु आर्थिक वर्षको ६ महिनामा व्यक्तिगत १ करोड ५१ लाख रुपैयाँले बढेको उजुरी विभागमा दर्ता भएको छ । गत आर्थिक वर्षको पुससम्म वैदेशिक रोजगारी पठाइदिने भन्दै १६१ वटा व्यक्तिगत उजुरीमा १५ करोड ३३ लाख ७५ हजार ८१ रुपैया बराबरको ठगीको उजुरी परेकोमा यो वर्ष बढेको छ । विभागले गत वर्ष ५८ वटा उजुरीविरुद्ध अदालतमा मुद्दा दायर गरेको जनाएको छ । विभागको अनुुसन्धान तथा मुद्दा शाखाका अनुसार यो वर्ष ५ करोड ६१ लाख विगो दाबी सहित अदातलमा मुद्दा दायर गरेको जनाएको छ । यो वर्षको पुससम्म ३३ उजुरी अदातलमा दर्ता गरिएको थियो । विभागका अनुसार व्यक्तिगत व्यवस्था खारेज भएसँगै मेनपावर कम्पनीको आडमा व्यक्तिगत ठगी गर्ने गिरोह सक्रिय रहेका कारण उजुरी बढेको छ । व्यक्तिगत रुपमा ठगीमा परेका युवाले पैसा मेनपावर कम्पनीमा बुझाएको जनाएपनि पैसा बुझने व्यक्ति संस्थाको कर्मचारी नभएको पाइएको विभागले जनाएको छ ।
श्रमिकबाट पैसा लिने स्थान मेनपावरको परिसर बनाउँदै व्यक्तिगत रुपमा युवासँग पैसा असुल्न र मेनपावर कम्पनी पन्छिने गरे ठगी मेनपावरको आडमा र समूह बनाएर गिरोहको रुपमा हुन थालेको छ । व्यक्तिगत ठगीका उजुरीमा मेनपावर कम्पनी भित्रै पैसा लेनदेन हुने गरेको पाइएको छ । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भए पनि व्यक्तिगत ठगी कमी आएको छैन ।
संस्थागत रुपमा भने वैदेशिक रोजगारीमा जाने कामदारबाट तोकिएको भन्दा बढी शुल्क लिएको, सम्झौतामा उल्लेख भएको भन्दा फरक काम दिएको, सम्झौतामा उल्लेख भएको भन्दा घटी पारिश्रमिक दिएको लगायतका उजुरी पर्ने गरेका छन् । सम्झौतामा खान र बस्नको लागि व्यवस्था भएको भनिएकोमा सोको लागि तलबबाट रकम कट्टा गरेको लगायतबाट ठगी हुने गरेको छ । ठगीको उजुरी सम्बन्धमा विभागले क्षति पूर्तिको कारबाही गर्ने गरेको भएपनि उजुरीका घटनामा भने कमि आएको छैन । वैदेशिक रोजगारीको ठगीमा वृद्धि भएकोले नियन्त्रणात्मक उपाय खोजी गर्ने र समयमा जाहेरी फरफारक गर्नुपर्ने विज्ञको भनाइ छ ।