Logo

कोरोना रोक्न ‘मास्क लगाऊ’ अभियान सञ्चालन

कोरोना भाइरसको तेस्रो लहरको संक्रमण बढ्दै गएपछि खोटाङमा ‘मास्क लागऊँ’ अभियान सञ्चालन गरिएको छ । जिल्लामा दैनिक संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम हुन थालेपछि यसको रोकथाम र नियन्त्रणका लागि ‘मास्क लगाऊ’ अभियान’ सुरु गरिएको हो ।
जिल्लाको हलेसीबजारमा हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालय हलेसीको आयोजनामा ‘मास्क लगाऊ’ अभियान सुरु भएको छ ।
नगरपालिकाका मेयर इवन राई र इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रमोद कार्कीको संयोजकत्वमा अभियान सञ्चालन गरिएको हो । ‘कोरोना नियन्त्रणको लागि मास्क अनिवार्य लगाउँ’, ‘तपाइँको मास्क खै ?’ लगायतका पर्चासहित मेयर राई, प्रहरी निरीक्षक कार्की, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको टोलीले ¥यालीसहित माइकिङ गरेको थियो ।
यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, नेपाल पत्रकार महासंघ र जिल्ला प्रहरी कार्यालय खोटाङको सहआयोजनामा सदरमुकाम दिक्तेलबजारमा पनि सोही अभियान सञ्चालन भएको छ ।
अभियानमा व्यापारी तथा अन्य नागरिकहरूलाई कोरोना संक्रमणको उच्च जोखिमबाट बच्न स्वास्थ्यका मापदण्ड अपनाइ हिँडडुल तथा नियमित कामकाज गर्दा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ । मास्कको प्रयोग नगरेको पाइएमा कारबाही तथा एक सय रुपैयाँ जरिवाना गरिने अभियानमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए ।
मानिसलाई भीडभाड नगर्न, अत्यावश्यक काम पर्दाबाहेक घर बाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्क र कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्