मल कारखाना खोल्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह «

मल कारखाना खोल्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् । उनले उद्योगी, व्यवसायीहरुले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए ।
“व्यापार, उद्योग सबै क्षेत्रहरुसँग, त्यो अत्यन्त राम्रो कुरा हो । हामी प्राइभेट एयरलाइन्स मात्रै होइन, उद्योगधन्दा जुनसुकैका पनि सरकार सहयोग गर्न चाहन्छ” उनले भने, “कतिपय सरकारलाई प्रायोरेटिजहरु हुन्छन्, जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरेटीको कुरा भएन, पाइएकै छैन के गर्नु ? यहाँ त्यो उद्योग खोल्नुस् ।”
प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरुलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे ।
प्रधानमन्त्री देउवाले अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताए । उनले कोरोनाबिरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकाले सबैले लगाएर कोरोनाबाट सुरक्षित हुन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्