विपन्न बालबालिकालाई न्यानो स्विटर

सर्लाहीको गोडैताको सरस्वती विद्यालयमा अध्ययतरत १२५ बालबालिकालाई न्यानो स्विटर वितरण गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति, सर्लाहीले गोडैता नगरपालिका–५ रामवनस्थित श्रीमती सरस्वतीदेवी कुशवाहा सामुदायिक आधारभूत विधालयमा अध्ययनरत गरिब, दलित तथा अतिविपन्न परिवारका बालबालिकालाई कठ्यांग्रिदो चिसोबाट बच्न एक कार्यक्रमकाबीच न्यानो स्विटर वितरण गरेको छ
तराई मधेसको शीतलहरबाट प्रभावित भएका गरिब, असहाय र विपन्न परिवारका सरस्वती विद्यालयकोे पूर्व प्राथमिक÷बालविकास र कक्षा–१ बालबालिकालाई जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसार्ईं र निमित्त इकाइ प्रमुख सुनील कुशवाहाले विद्यालयमै एक कार्यक्रमकाबीच संयुक्त रूपमा हस्तानान्तरण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी थनेश्वर गौतमले तराई मधेसमा विगत केही दिनदेखि जारी बाक्लो हुस्सुसँगै जारी शीतलहरबाट सबै विद्यार्थीहरूलगायत आम नागरिकहरूसमेत प्रभावित भएको बताए ।
यस्तो विषम परिस्थितिमा जाडोबाट बच्न सबै बालबालिकालाई न्यानो स्वीटर आवश्यक छ, उनले भने । हामीसँग भएको सीमित स्रोत, साधनका कारण सबै बालबालिकालाई न्यायो स्विटर वितरण नसकिएको हो । आम नागरिकको घर आँगनको स्थानीय सरकारले समेत यस्ता कार्यहरूलाई प्राथमिकतामा राखेर गरून् भन्ने उद्देश्यले स्विटर वितरण गरिएको बताए ।
तराईमा कठ्यांग्रिदो जाडो तराईमा बर्सेनि शीतलहरका कारण कतिपय निम्न आय भएका मानिसहरूले ज्यान गुमाउने गरेका छन् । त्यस्तो अवस्था आउन नदिन मानिसहरूले घरभित्रै बस्नुपर्ने, आगो ताप्नुपर्ने, उपलब्ध न्यानो कपडाहरू लगाउनुपर्ने र कुनै समस्या देखिए तत्कालै स्वास्थ्यचौकी जानुपर्ने लगायत सुझाए ।
उनले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तीव्र गतिमा फैलिरहेकाले समुदाय स्तरमा फैलिनबाट रोक्न र भयावह स्थिति सिर्जना हुन नदिनसबै नागरिक सुरक्षा मापदण्ड पालन गर्न आह्वानसमेत गरे ।
कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, विपद् उद्धार, फरार प्रतिवादी पक्राउ र सीमावर्ती अपराध नियन्त्रणमा प्रतिवद्व रहेको बताए । उनले भविष्यका देशका कर्णधार युवा पिंढीलाई लागू औषधको कुलतबाट टाढा राख्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख सुनील कुशवाहाले सरकारले भौतिक रूपमा विधालयको पठनपाठन मात्र बन्द गरेकोले उक्त अवधिमा वैकल्पिक शिक्षण सिकाइ प्रक्रियाबाट निरन्तर विद्यार्थीहरूको सिकाइ अभिवृद्धिमा जुट्न शिक्षकहरूलाई आग्रह गरेका छन् ।
कार्यक्रममा विधालयले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं र कम्प्युटर अपरेटर मुकेशकुमार यादवलाई मायाको चिनो, दोसल्ला, खादा र अविर लगाएर सम्मान गरेको छ ।
विद्यालयका प्रधानाध्यापक रामप्रकाश महतोले स्वागत मन्तव्य राखे थियो भने शिक्षक शंकर महतोले कार्यक्रम सञ्चालन गरेका थिए ।