Logo

जिल्लाका पालिकाहरूमा पनि सेवा विस्तार गरिने

लमजुङ अस्पतालमा टेलिमेडिसिन सेवा सुरु गर्ने तयारी

लमजुङ जिल्ला अस्पतालले टेलिमेडिसिन सेवा प्रवाह गर्ने भएको छ । अस्पताल आउने बिरामीहरूको सेवा प्रवाहलाई गुणस्तरीय बनाउन विशेषज्ञ सहितको टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो ।
जिल्ला अस्पतालले पहिलो चरणमा छाला सम्वन्धी समस्या भएका विरामीहरूका लागि टेलिमेडिसिन सेवा मार्फत उपचार गर्ने तयारी गरेको हो । आगामी फागुन भित्रै टेलिमेडिसिन सेवा सञ्चालनको तयारी भएको अस्पताल प्रशासन प्रमूख हेमन्त श्रेष्ठले बताए ।
अस्पताल प्रमुख श्रेष्ठका अनुसार छालासम्बन्धी टेलिमेडिसिन उपचार सेवाका लागि काठमाण्डौस्थित डि स्किन हेल्थ एन्ड रिफरल सेन्टर सँग प्रारम्भीक छलफल अघि बढेको छ । गत विहिबार मात्रै पहिलो चरणमा दुई पक्षबीच प्रारम्भीक छलफल भएको र निकट भविष्यमा सेवा सुरु गर्ने अस्पताल प्रमुख श्रेष्ठले बताए ।
छलफलका क्रममा टेलिमेडिसिन सेवाका लागि आवश्यक उपकरण र व्यवस्थापन जिल्ला अस्पतालले गर्ने र डि स्किन हेल्थ एन्ड रिफरल सेन्टरका तर्फबाट विज्ञ चिकित्सक उपलब्ध गराउने तयारी भएको छ । तत्कालका लागि टेलिमेडिसिन सेवा दैनिक गर्ने वा साप्ताहिक गर्ने भन्ने विषयमा अझै टुंगो नलागेको अस्पतालले जनाएको छ ।
टेलिमेडिसिन सेवाका लागी अस्पतालले आवश्यक उपकरण व्यवस्थापनमा लागिसकेको जनाएको छ । सेवा प्रवाहका लागि आवश्यक कक्षसहित इन्टरनेट, हाइरेजुलेसन क्यामेरा, मनिटर लगायतको व्यवस्थापनको तयारी भएको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पतालमा आएका बिरामीहरूको सहजताका लागि अस्पतालले न्युनतम खर्चमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य सहित टेलिमेडिसिन सेवा शुरु गर्न लागेको हो । अस्पतालले यसअघि प्रवाह गर्दै आएको सेवा सुविधालाई अझ गुणस्तरीय र सहज बनाउन विशेषज्ञ सहितको टेलिमेडिसिन सेवा शुरु गर्न लागेको जनाएको छ ।
पहिलो चरणमा छाला रोग सम्वन्धी उपचारका लागि फागुन महिनाभित्रै टेलिमेडिसिन सेवा शुरु गर्ने र त्यसपछि अन्य अस्पतालहरूसँग पनि सम्झौता गरी थप रोगहरूको उपचारको लागि सेवा सुविधा उपलब्ध गराउने अस्पतालको तयारी छ । अस्पतालकै संयोजनमा जिल्ला अस्पताल सहित जिल्लाका अन्य पालिकाहरूमा पनि टेलिमेडिसिन सेवा विस्तार गर्ने अस्पतालको योजना रहेको अस्पताल प्रशासन प्रमूख श्रेष्ठको भनाइ छ ।
गण्डकी प्रदेश सरकार मातहतमा रहेको जिल्ला अस्पताल मानव विकास तथा सामूदायिक सेवा नामक गैरसरकारी सँस्थाको व्यवस्थापनमा सञ्चालनमा रहेको छ । जिल्ला सदरमुकाम बेसीशहरमा रहेको यस अस्पतालले लमजुङ लगायत वरपरका छिमेकी जिल्लाहरू तनहूँ, गोरखा र मनाङका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । यस अस्पतालले आफ्नो सेवालाई समान रुपमा पहुँच बिहिन समूदायसम्म पुयाउने लक्ष राखेको छ ।
नेपाल सरकारको स्वामित्वमा १५ शय्यामा रहेको जिल्ला अस्पताल २०५८ सालमा मानव बिकास तथा सामुदायिक सेवाले व्यवस्थापन जिम्मा लिई सामुदायिक अस्पतालका रूपमा सञ्चालनमा आएको थियो । संघीयता कार्यान्वयनसँगै गत वर्ष मात्रै सो अस्पताल प्रदेश सरकारको मातहतमा गएको हो । हाल अस्पतालमा ६० शय्या छन् ।

प्रतिक्रिया दिनुहोस्