भन्सार महसुल अब अनलाइनबाट «

भन्सार महसुल अब अनलाइनबाट

व्यवसायीले भन्सार महसुल अब अनलाइनबाट भुक्तानी गर्ने भएका छन् ।
७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बुधबार आयोजित भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्माले सुरुवात गरेका हुन् ।
इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत् तिर्न सक्ने भएका छन् । अनलाइन भुक्तानीबाट घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहजता प्रदान गर्न सकिने छ ।
“व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ”, अर्थमन्त्री शर्माले भने, “यसले भन्सारमा काम गर्ने कर्मचारीको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।” उनले भन्सार विन्दुमा चाँडै ‘भेइकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । भन्सारको निरन्तर सुधार अन्तर्गत भेइकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको अर्थमन्त्री शर्माको भनाइ छ ।
अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने भन्दै दै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवम् तालिमको व्यवस्था हुनुपर्ने बताए । भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने भन्दै उनले यस्ता सुधारमा निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्यांकन सुधार गर्नुपर्ने माग गरे । परम्परागत प्रणालीबाट नै मूल्यांकन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको बताए । उनले नयाँ पुस्तालाई व्यवसायमा आउन निरुत्साहित भइरहेको उल्लेख गरे ।
राजस्व प्रयोजनका लागि भन्सार विन्दुसम्म बोकिने नगदका कारण आइपर्ने झमेला पनि अन्त्य गर्ने उनले बताए । गत आवमा विभागले आयातबाट मात्रै ४ खर्ब २० अर्ब ९७ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो । चालु आवको ६ महिनामा २ खर्ब ५७ करोड ६० लाख रुपैयाँ हाराहारी छ । यस्तो सबै राजस्व संकलन अब अनलाइन प्रणालीमा आधारित हुने भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार, नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको समन्वयमा भन्सारको आसिकुँडा प्रणालीमा भुक्तानी संयन्त्रको संयोजन गरिएको छ । विद्युतीय भुक्तानी गर्दा प्रयोगकर्ताले आफूलाई उपयुक्त उपकरण छनोट गरी त्यसमा युजर नाम र पासवर्ड प्राप्त गर्नुपर्ने भन्सार विभागले जनाएको छ ।
विद्युतीय भुक्तानी गर्न प्रयोगकर्ताले नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपीएस, मोवाइल एप, कपोरेट पे, एनसीएचएल बैंक सेन्टर तथा नेपाल क्लियरिङ हाउससँग आवद्व रहेका डिजिटल वालेटहरुमार्फत राजस्व दाखिला गर्न सक्नेछन् ।
प्रयोगकर्ता व्यवसायी तथा व्यक्तिहरुले उपयुक्त जुन कुनै उपकरणमार्फत आफ्नो बैंक खाताबाट भन्सारमा तिर्नुपर्ने राजस्व रकम भन्सार कोष खातामा जम्मा हुने गरी भुक्तानी गर्न सकिने छ ।
सुख्खा बन्दरगाहको सफल परीक्षणपछि बुधबारदेखि देशभरका थप २४ भन्सार कार्यालयमा यो सेवा सुरु भएको विभागले जनाएको छ । परीक्षणको रुपमा सुरु गरी त्यसमा सफलता देखिएपछि अगाडि बढाउने निर्णय भएको हो । विद्युतीय भुक्तानी गर्न प्रयोगकर्ताले नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपीएस, मोवाइल एप, कपेर्ट पे, एनसीएचएल बैक सेन्टर तथा नेपाल क्लियरिङ हाउससँग आवद्व रहेका डिजिटल वालेटहरु प्रयोग पनि गर्न सक्नेछन् ।
विद्युतीय भुक्तानी गर्दा प्रयोगकर्ताले आफूलाई उपयुक्त उपकरण छनौट गरी त्यसमा युजर नाम र पासवर्ड प्राप्त गर्नुपर्छ । त्यसमा आफ्नो बैंक खाता लिंक गरी बैंक शाखाबाट सो प्रमाणित गराउनुपर्छ । भन्सारमा मालबस्तुको घोषणा तथा जाँचपासको कार्य सम्पन्न भएपश्चात प्रज्ञापनपत्रको साधारण विवरणहरु प्रविष्ट गरी भुक्तानी हुनुपर्ने रकमसमेत यकिन गरी आफूले प्रयोग गरेको बैंकिङ माध्यमबाट सिधै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । भुक्तानीकर्ताले पैठारीकर्ताको नाम तथा भुक्तानी हुने राजस्व यकिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउने र भुक्तानी सफल भएको जानकारी आएमा भन्सारमा रहेको बैंक शाखाबाट राजस्व भुक्तानीको रसिद समेत प्राप्त हुनेछ ।
यसको प्रयोगबाट व्यवसायीहरुले भन्सार राजस्व तिर्न बुझाउन नगद बोक्नुपर्ने वा गुड फर पेमेन्टको चेकमार्फत भुक्तानी गर्न बैंकमा पुग्नु पर्ने समस्याबाट मुक्त भएर इन्टरनेट सेवा भएका स्थानबाट राजस्व भुक्तानी गर्ने सुविधा प्राप्त हुने विभगको भनाइ छ ।
विद्युतीय भुक्तानीको प्रयोगले भन्सार कार्यालयहरुमा जम्मा भएको राजस्वको वास्तविक तथ्यांकसमेत तत्कालै प्राप्त गर्न सकिने विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्