मिरगञ्जको पुल सुचारु नहुनु विराटनगर भन्सारको मुख्य समस्या «

मिरगञ्जको पुल सुचारु नहुनु विराटनगर भन्सारको मुख्य समस्या

विश्व भन्सार दिवश मनाइरहँदा विराटनगर भन्सारको प्रमुख समस्या भनेको भारतको जोगबनीस्थित मिरगञ्ज पुल भत्किनु नै हो । यो पुल भत्किँदा आयात–निर्यात नै प्रभावित भएको छ । विराटनगर नाकाबाट आयात–निर्यात गर्दै आएका व्यवसायीहरू अन्य नाकाबाट मालसामान आयात–निर्यात गर्न थालेपछि विराटनगर भन्सार कार्यालयको राजस्वसमेत प्रभावित भएको छ ।
पुसमा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ७६ प्रतिशतमात्रै राजस्व असुली गरेको छ । पुसलाई चार अर्ब ३० करोड पाँच लाख ६८ हजार रुपैयाँ राजस्वको लक्ष्य दिइएको थियो । तर तीन अर्ब २७ करोड ६१ लाख ७० हजार रुपैयाँमात्रै राजस्व असुली भएको छ । जुन गत वर्ष पुसको तुलतनामा समेत ४२ करोड ६८ लाख ७० हजार रुपैयाँ कम हो ।
दैनिक १४÷१५ करोड रुपैयाँ राजस्व संकलन हुँदै आएको भन्सार कार्यालयमा हाल दैनिक दुईदेखि सात करोड रुपैयाँसम्म मात्रै राजस्व संकलन भइरहेको छ ।
यस्तै, विराटनगर भन्सार कार्यालयका प्रवक्ता रामचन्द्र ढुंगानाका अनुसार अर्को समस्या भनेको सुविधा सम्पन्न ल्याब छैन । काम चलाऊ मात्रै छ, उनी भन्छन्, “कर्मचारीका लागि भन्सार कार्यालयभित्रै बस्ने सुविधा छैन ।”
अहिले एकीकृत भन्सार जाँचचौकी बनेपछि नयाँ भवनमा भन्सार सरेको छ । यहाँ राति ७–८ बजेसम्म काम हुन्छ । बस्नका लागि सात किलोमिटर टाढाको पुरानो भन्सार कार्यालय भएको भवनमा पुग्नुपर्छ । अहिले सञ्चालनमा रहेको भन्सार कार्यालयभित्रै कर्मचारीका लागि क्वाटरको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
पछिल्लो समय आईसीपी बनेपछि विगतको तुलनामा धेरै सहज भएको छ । तर, अझै केही समस्या रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्