Logo

सन्दर्भ : विश्व भन्सार दिवश

मेची भन्सारको विस्तार

पूर्वी नाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालयमा कुनै समय आयात र निर्यात गरिएका सामग्री राख्नै ठाउँ अभाव हुन्थ्यो । अहिले एकैपटक दुई सय गाडी अटाउने गोदाम छ । इन्टर मोडल विकास समितिले दिएको ठेक्काअनुसार यसको व्यवस्थापन ट्रास नेपालले गरिरहेको छ ।
तर भन्सारमा आयत निर्यातमा हुने वस्तुको मापनमा भने परम्परागत शैली प्रयोग हुँदै आएको छ । कार्यालयका एक कर्मचारीका अनुसार एउटा दररेट तोकिएको सामग्री पनि गुणस्तरअनुसार फरकफरक हुन्छ । “व्यक्तिगत रूपमै मिल्दो छ-छैन त हेरिन्छ तर फरक छुट्टयाउन नसक्दा सधैं एउटै मूल्यांकन भइरहेको छ,” उनी भन्छन्, “भन्सार जाँच पासमा खटिने अधिकृत विज्ञ नहुँदा पनि समस्या भइरहेको हो, यो समस्या यहाँको मात्रै होइन, हरेक नाकाको हो ।” समय–समयमा नयाँ प्रकृतिका सामानहरू आउने भएकाले जाँचपासमा खटिएका अधिकारीलाई तालिम पनि दिइराख्नुपर्ने उनी बताउँछन् ।   
कार्यालयका प्रमुख भन्सार अधिकृत केशवराज ओली पनि मूल्यांकनमा पुरानै शैली प्रयोग हुँदै आएको स्वीकार्छन् । उनका अनुसार मालबाहक गाडीमा आएका सामान परीक्षणका लागि चारवटा लेनमा राखिँदै आएको छ । र, सोहीअनुसार परीक्षण गर्ने गरिएको उनी बताउँछन् । यसरी भौतिक रूपमा परीक्षण गर्दा एउटा मालवाहक गाडी परीक्षण गर्न थोरैमा पनि २ घण्टा लाग्ने गरेको छ । यसरी समय खर्चेर जाँच गर्दा नेपाल भित्रिने मालबाहक गाडीको जाम नै हुने गरेको छ । जाम हुने समस्याले पनि कहिलेकाँही हतारमै परीक्षण गर्नुपर्ने कर्मचारीको गुनासो छ ।
“भन्सारमा परीक्षणलाई चुस्त राख्न र चुहावट होक्न भेहिकल स्क्यानर आवश्यक छ,” ओलीले भने, “तर, ठूलो परिमाणमा रकम खर्चेर मेसिन किन्न सरकारले पनि सकिरहेको छैन । मेसिन खरिद गरिए पनि दक्ष प्राविधिक नहुँदा सञ्चालन गर्न सकिने अवस्था नेपालमा छैन ।” सरकारले प्राविधिकका लागि दरबन्दी राखेर स्क्यानर मेसिन ठूला भन्सारमा सञ्चालनमा ल्याउन आवश्यक रहेको उनले औंल्याए ।
भन्सारलाई आधुनिकीकरण गर्न भन्दै अहिले सफ्टवेयर पनि राखिएको छ । तर सञ्चालनमा दिनहुँजसो समस्या हुने गरेको छ । कहिले इन्टरनेट कहिले दक्ष जनशक्ति नहुँदा सफ्टवेयरमा समस्या आइराख्छ, जसले दैनिकजसो केही समय सेवा अवरुद्ध हुने गरेको कर्मचारीहरू बताउँछन् ।
पूर्वी नाका हुँदै भारतलगायत तेस्रो देश नेपाली उत्पादन निर्यात गर्दै आएका निर्यातकर्ता भने नेपालतर्फ भन्सारका कुनै समस्या नभए पनि भारतीय भन्सारले नियोजित अवरोध गर्दै आएको बताउँछन् । नेपालबाट निरन्तर उत्पादन भइरहेका नगदेजन्य बालीमा भारतीय भन्सारले अवरोध खडा गरेर अन्तर्राष्ट्रिय व्यापारका नियममाथि नै धज्जी उडाउँदै आएको बताउँछन् । चिया, अलैंची, अदुवाजस्ता नेपाली उत्पादनमा भारतले निर्यातमा अवरोध गर्ने गरेको छ ।
“बदनियत राखेरै भारतीय भन्सार प्रशासनले निर्यातमा अवरोध गर्ने गरेको छ,” अलैंची निर्यातकर्ता ओम विमलीले भने, “अलैंचीकै कुरा गर्ने हो भने भारतमा उत्पादन बढ्यो भने नेपाली उत्पादनलाई अवरोध खडा गरिन्छ । भारतमा उत्पादन कम छ भने यस्ता समस्या आउँदैन ।”

प्रतिक्रिया दिनुहोस्