राजस्वमा अब्बल, पूर्वाधारमा निरीह «

राजस्वमा अब्बल, पूर्वाधारमा निरीह

राजस्व संकलनका लागि मुलुककै अब्बल भन्सारको रुपमा स्थापित भैरहवा भन्सार कार्यालय पूर्वाधारतर्फ भने निरीह देखिएको छ । २०७२ सालमा मधेश आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दीका कारण देश बचाउने लाइफलाइन नाका बनेको थियो भैरहवा । त्यतिबेला देशका प्रायः सबै नाका ठप्प हँुदा देशलाई भैरहवा नाकाले जोगाएको थियो । तर, राज्यबाट यो नाका उपेक्षित जस्तै भएको छ । “पूर्वाधार पर्याप्त छैन । पार्किङ, यार्ड, गोदाम, सेडघरको अभाव छ,” भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले भने, “हामीसँग नेपाल सरकारले आईसिपी निर्माणका लागि अधिग्रहण गरेको ५२ बिगाहा जमिन छ । आईसिपी नबन्दासम्म त्यो जमिनमा अस्थायी पार्किङ बनाउन हामीले माथिल्लो निकायमा पत्र पठाएका छौं । कार्यान्वयन छिटो भए आयात निर्यात अझ सहज हुने थियो ।”
ढकालका अनुसार अहिले भन्सार परिसरमा रहेको पार्किङ साँघुरो छ । दैनिक ३ सय ५० देखि ४ सयसम्म मालबाहक ट्रक एवं अन्य अन्य सवारीसाधन भन्सार प्रवेश गर्छन् । भैरहवा भन्सारले अहिले अधिग्रहण गरेको ५२ बिगाहा मध्ये पाँच बिगाहा जमिनमा माटो पाटेर अस्थाई पार्किङ बनाई काम चलाउ व्यवस्था मिलाएको भए पनि त्यो हात्तीको मुखमा जिरा जस्तै छ । पार्किङ अभावले कतिपय ट्रकहरू भारतीय भूमिमा पन्ध्र बिस किलोमिटरसम्म लाइन हुँदा नेपाली आयातकर्ताहरूले ढुवानीबापतको अतिरिक्त शुल्क र डेमरेज चार्ज क्षतिको रुपमा व्यहोर्दै आएका छन् ।
पूर्वाधारका हिसाबले भैरहवा भन्सार कार्यालय निरीह नै देखिन्छ । ट्रकबाट सामान निकालेर राख्ने गोदाम घर, सेड,पार्किङ लगायत सुविधा नहँुदा चेकजाँच नभएसम्म सामान ट्रकमै राख्नुपर्ने बाध्यता रहेको भन्सार एजेन्ट संघ रुपन्देहीका अध्यक्ष मधु पन्थीले बताए ।
एकीकृत भन्सार चेक पोष्ट (आईसिपी) भैरहवामा निर्माण गर्ने सम्झौता भएको डेढ दशक पुग्न लाग्दा पनि अहिलेसम्म निर्माणको सुरुवात नै भएको छैन । सन् २००७ मा नेपाल र भारत सरकार बिच भएको सम्झौता अनुसार भैरहवा सहित विरगन्ज, विराटनगर र नेपालगन्ज नाकामा आईसिपी निर्माण गर्ने थियो । नेपाल सरकारले जग्गा उपलब्ध गराउने तथा भारतिय पक्षले प्राविधिक तथा पूर्वाधार निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार विरगन्ज, विराटनगरमा निर्माण सम्पन्न भैसकेको छ भने नेपालगन्जमा निर्माण भैरहेको छ । तर भैरहवामा भने निर्माणको कुनै सुरसार नै छैन ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र राज ढकालले आईसिपी निर्माणका लागि नेपालका तर्फबाट आवश्यक जग्गा अधिग्रहण भैसकेको बताए । “भारतिय क्षेत्रमा जग्गा अधिग्रहण अझै बाँकी र केही समस्या भएकाले आईसिपि निर्माण कार्य अघि बढ्न नसकेको हो । हामी आईसिपि निर्माणका लागि तयारी अवस्थामा छौं । ५२ बिगाहा जग्गा अधिग्रहण भैसकेको छ, अब भारतिय क्षेत्रमा आवश्यक जग्गा छिटै उपलब्ध भए निर्माण कार्य सुरु होला,” ढकालले भने ।
नेपाल भारतबीच हुने आयात निर्यात सहज रुपमा गराउने उद्देश्यले सन् २००७ मा आईसिपि निर्माणका लागि दुई देशबीच हस्ताक्षर भएको थियो । आईसिपीमा भन्सार कार्यालय, बैंक, पशु तथा कृषि क्वारेन्टाइन, भन्सार प्रयोगशालालगायत आवश्यक पूर्वाधार निर्माण हुनेछन् । नेपाल भारत दुवैतर्फ एकै प्रकृतिका संरचना निर्माण हुनेछ । भैरहवा नाकामा आईसिपि नबन्दा यो नाका हुँदै आयात निर्यात गर्ने व्यवसायीहरू यहाँबाट ढिलो, समय लाग्ने कारणले अतिरिक्त शुल्क बढने भएकाले अन्य नाकातिर डाइभर्ट भैरहेको नेपाल भन्सार एजेन्ट संघका सचिव कृष्ण प्रसाद घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्