सबै विद्यार्थीलाई कोभिड खोप दिने सरकारी प्रतिबद्धता

सरकारले सबै विद्यार्थीलाई चाँडोभन्दा चाँडो कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरिने प्रतिबद्धता जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सेवा प्रवाह सुधार सम्बन्धी प्राथमिकता र हालसम्मका उपलब्धिहरु सार्वजनिक गर्ने क्रममा सबै विद्यार्थीलार्ई कोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।
देशभरिका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक बिदामा मिलान हुने गरी गत पुस २७ देखि माघ १५ सम्म बिदा दिने निर्णय गरेको थियो । बिदाको उक्त अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेको शिक्षा मन्त्रालयको भनाइ छ । विद्यालय बाहेक कलेज र विश्व विद्यालयहरूले पहिले नै तालिका निकालेका परीक्षाहरु पनि रद्द भएका छन् । ओमिक्रोन संक्रमणको दर बढ्न थालेपछि परिक्षाहरु रद्द गरिएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सेवा प्रवाह सुधार सम्बन्धी प्राथमिकता र हालसम्मका उपलब्धिहरु सार्वजनिक गर्ने क्रममा मन्त्रालयले शिक्षा सम्बन्धि अन्य योजनाहरु पनि सर्वजनिक गरेको छ । “सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गरिने । सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन र नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ,” घोषणामा भनिएको छ, “कक्षा १२ सम्मका पाठ्यपुस्तकको छपाई गुणस्तरीय एवम् रंगिन बनाइनेछ, अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ संचालनमा ल्याइनेछ, स्थायी शिक्षक पदपूर्तीको लागि विज्ञापन प्रकृया तत्काल अगाडि बढाइनेछ ।”
समयमै सबै सेट पाठ्यपुस्तकहरु विद्यार्थीको हातमा पु¥याइने र संघीय शिक्षा ऐनको मस्यौदा उपर सरोकारवालासँग छलफल गरी अगाडि बढाइने शिक्षा मन्त्रालयको प्रतिबद्धता छ ।
एकैदिन लाखभन्दा बढीले लगाए खोप
विगत २४ घण्टामा एक लाख १९ हजार ३७१ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ८९ हजार ४२५ जना र पूर्ण मात्रा एक करोड २९ लाख ६६ हजार ३६२ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज एक लाख ६८ हजार ९६९ मात्रा लगाइएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा २१ हजार २०१ परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्र्रमण पुष्टि भएको हो ।
सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ । पछिल्लो समय दुई हजार ५४० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने संख्या आठ लाख २४ हजार २३९ पुगेको छ । यो दर ८९.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
विगत २४ घण्टामा चार जनाको संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६५९ जनाको संक्रमणका कारणले मृत्यु भइसकेको छ । यस्तै ५०० भन्दा बढी संक्रमण भएको जिल्ला १५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाके, रुपन्देही र कैलाली रहेका छन् ।
यस्तै २०० भन्दा बढी संक्रमित भएका १७ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, गोरखा, तनहुँ, स्याङजा, बागलुङ, दाङ, पाल्पा र कञ्चनपुर रहेका छन् । नेपालमा संक्रमण दर १७.९ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा ८० हजार ७७९, संस्थागत आइसोलेशनमा एक हजार ७७१, सघन उपचार कक्ष २३८ र भेन्टिलेटरमा ४३ जनाको उपचार हुँदैछ ।