नियन्त्रणले पनि घटेन आयात «

नियन्त्रणले पनि घटेन आयात

गत आर्थिक वर्षको ६ महिनामा भएको कुल निर्यातको तुलनामा ५४.८६ प्रतिशत बढी निर्यात गरेर चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एक खर्ब १८ अर्ब १८ करोड रुपैयाँबराबरको वस्तु निर्यात गर्न नेपाल सक्षम भएको छ । गत आर्थिक वर्षमा नेपालले ७२ अर्ब २० करोड रुपैयाँका वस्तु निर्यात गरेको थियो । तर, उक्त निर्यातबाट प्राप्त रकम नेपालले आयात गर्ने एउटै वस्तुलाई तिर्न पनि पुग्दैन । किनकि ६ महिनामा नेपालले १ खर्ब ५३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ मात्र आयात गरिसकेको छ । त्यसैले १ खर्बको निर्यात भयो भनेर गर्व गर्नु सट्टा उक्त निर्यातबाट प्राप्त रकमले एउटै वस्तु आयात गर्न पनि नपुग्ने विषयमा चिन्ता गर्नु उपयुक्त होला । लामो समयदेखिको सरकारको १ खर्ब निर्यात गर्ने धोको पुग्दै गर्दा आयातको आयतन बढ्दै गएको सरकारले चालै नपाएको होइन । आयात अत्यधिक बढ्यो भनेर अर्थमन्त्रालयको निर्देशनमा नेपाल राष्ट्र बैंकले आयातमा कडाइ पनि गरेको थियो । सरकारले उच्च आयात नियन्त्रण गर्न पुस पहिलो साता नियन्त्रणात्मक प्रावधान ल्याएको भए तापनि त्यसको प्रभाव तथ्यांकमा देखिन्न । आयात बढ्दै गएपछि सरकारले विलासी वस्तुको आयातमा रोक लगाएको थियो तर पुस महिनामा मात्र १ खर्ब ६१ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ । पहिलो कुरा आयातमा कडाइ गर्नु सिद्धान्ततः नै गलत थियो । यसरी आयातमा कडाइ गरेर आयात घट्दैन, बरु आयात प्रतिस्थापनका विभिन्न उपायहरू अपनाउनुपर्छ । हुन त निर्यात प्रोत्साहन तथा आयात प्रतिस्थापनको सुगा रटाइ गरेको पनि दुई दशक हुन लाग्यो तर त्यसको कार्यान्वयनमा कसैको पनि गम्भीरता नदेखिएको तथ्यांकले उदांगो बनाएको हो । किनकि भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म आयात ५१ प्रतिशतले बढेर ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख ८ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख ९४ हजार रुपैयाँको आयात भएकोमा चालू आर्थिक वर्षमा कोरोना महामारीका बाबजुद करिब १० खर्बको आयात भएको छ ।
तर, आयात बढ्दै गए पनि आयातको अनुपातका निर्यात नबढ्दा व्यापारघाटा ४६.६४ प्रतिशतले बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको व्यापारघाटा ६ खर्ब ४४ करोड ६१ लाख ८१ हजार रुपैयाँ थियो । भन्सार विभागका अनुसार नेपालले व्यापार गर्ने १ सय ४८ मुलुकमध्ये २४ मुलुकसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ । २४ मुलुकमध्ये पनि ४ वटा मुलुकसँगको व्यापार नाफा करोडमा छ भने २० वटा मुलुकसँगको व्यापार नाफा लाखमा रहेको छ । अर्थात् व्यापार नाफा भएका मुलुक पनि कुनै पनि बेला व्यापारघाटामा जान सक्ने सम्भावना प्रचुर छ, किनकि ती मुलुकलाई बेच्ने नेपालको विशेष वस्तु केही पनि छैन, न त त्यसको गृहकार्य भएको छ । तर, नेपालले संसारको सबै मुलुकबाट करिब–करिब सबैजसो वस्तु आयत गर्छ । उच्च आयात भएका वस्तुमा सदाझैं पेट्रोलियम पदार्थ एक नम्बरमा छ । जसका लागि नेपालले आफ्ना योजनाहरूमा धेरै व्याख्या गरेको छ, तर व्यवहारमा भने पेट्रोलियम पदार्थको विकल्प नभएझैं आयात बढेको बढ्यै छ । त्यसपछि फलाम तथा स्टिलजन्य वस्तुको आयात ८४ अर्ब ९३ करोड, वनस्पति तेल तथा घिउजन्य वस्तुको आयात ७८ अर्ब ९ करोड, सवारी साधन ६१ अर्ब ७७ करोड ६४ लाख, मेसिनरी पार्ट्स ७६ अर्ब ३३ करोड १६ लाख र सबैभन्दा लज्जास्पद ४२ अर्ब ७२ करोड ४५ लाखको खाद्यान्न आयात भएको विभागको तथ्यांकले देखाएको छ । तसर्थ, करिब ४३ अर्बको खाद्यान्न आयातले कृषिमा गएको बंैक तथा वित्तीय संस्थाको कर्जाका बारेमा पनि पुनर्विचार गर्नुपर्ने तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्