Logo

सवारी प्रदूषण मापदण्ड चरणबद्ध लागु गर्न नाडाको आग्रह

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारी प्रदूषण मापदण्ड चरणबद्ध रूपमा लागु गर्नुपर्ने जनाएको छ ।
सरकारले सम्पूर्ण सवारी तथा यातायातका साधनहरूमा युरो ६ लागु गर्ने प्रस्तावलाई सकारात्मक रूपमा लिएको तर युरो ४ पछि युरो ६ मा जानुपर्ने नाडाले जनाएको छ ।
नाडाले आइतबार पत्रकार सम्मेलन गरेर युरो ६ लागू गर्न समग्र पुर्वाधार नबनिसकेकाले चरणबद्ध रूपमा लागु गर्दै जानुपर्ने जनाएको छ । युरो ६ मा जान अहिले नै देशमा उपयुक्त पूर्वाधारलगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार भइनसकेको नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बताए ।
उनले हाल कार्यान्वयमा रहेको युरो ३ पछि युरो ४ लागु नगरी युरो ६ मा जादा लागत बढ्ने बताए । सोही कारण चरणबद्ध रूपमा युरो ६ मा जानुपर्ने उनले बताए । युरो ६ लागु भए कमर्सियल भइकलमको मूल्य ४० प्रतिशतसम्म बढ्न सक्ने देखिएको उनले बताए ।
युरो ६ मा जान भारतले पनि ४ वर्ष लगाएको भन्दै उनले अझै पनि विकसित मुलुक युरो ६ मापदण्डमा नगइसकेको बताए । उनले व्यवसायीहरू पनि युरो ६ मा जान चाहेको तर चरणबद्ध रूपमा जानुपर्ने बताए । उनले युरो ६ मा जानको लागि अब २ वर्षको समय दिनुपर्ने बताए । उनले सुरूमा हाल प्रयोग भइरहेको युरो ३ बाट युरो ४ मा जाने सहमति भएको पनि बताए ।
नाडाका अध्यक्ष ध्रुव थापाले युरो ४ लागु गर्न तयार रहेको तर एकै पटक युरो ६ मा जानुभन्दा क्रमिक रूपमा जानुपर्ने बताए । युरो ३ बाट एकैपटक युरो ६ मा जान व्यवहारिक पनि नभएको उनले बताए । प्राविधिक पक्षमा बलियो हुन दुई वर्ष लाग्ने नाडाले जनाएको छ । यसलाई व्यवसायीहरू वातावरणका पक्षमा नलागेको भनेर नबुझ्न पनि उनले आग्रह गरे । सक्षम प्राविधिक नबनिसकेको हुनाले गाडी बिग्रिएमा बनाउन नजाने त्यसले थप वातावरण प्रदूषण बढाउन सक्नेतर्फ ध्यानाकर्षण नाडाले गराएको छ ।

प्रतिक्रिया दिनुहोस्