निर्वाचनमा आलटाल नगर्न आग्रह «

निर्वाचनमा आलटाल नगर्न आग्रह

पूर्वमहान्यायाधिवक्ता रमेश बडालले निर्वाचन हुनै नदिने षड्यन्त्रस्वरुप तीन वटै तहको निर्वाचन एकैचोटी गर्ने प्रस्ताव अघि सारिएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता बडालले अहिले तीन वटै तहको निर्वाचन एकैचोटी सम्भव छ भन्ने र पछि सुरक्षा लगायतका चुनौती देखाएर तिनै तहको निर्वाचन नगर्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।
देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पु¥याउन लागिएको उनको दावी थियो । बडालले तीन वटै तहको निर्वाचन एकैचोटी गर्ने कुरा व्यवहारिक नभएको पनि उल्लेख गरे । स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्ने उनको भनाइ छ ।
सोही कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले सबै तहको निर्वाचन एकैचोटी गर्ने विषयमा सकारात्मक रुपमा छलफल गर्नुपर्ने बताए । तिनै तहको निर्वाचनलाई सँगै गर्ने भन्ने विषयमा कोही पनि आतंकित हुन नहुने उनले बताए । आगामी निर्वाचन स्वच्छ, निर्भिक, स्वतन्त्र र बिना खर्च सम्पन्न हुनेगरी छलफल केन्द्रीत गर्नुपर्ने उनले बताए ।
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसीले बैशाख महिनासम्ममा स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने धारणा राखे । तीन वटै तहको निर्वाचन एकैपटक गर्दा झन्झट हुने भन्दै उनले पहिले स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए । स्थानीय सरकार बलियो भएमात्रै प्रजातान्त्रिक प्रणाली बलियो हुने उनले उल्लेख गरे । पूर्वअध्यक्ष केसीले सरकारले अविलम्ब निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्