चाबहिल र मित्रपार्कमा आकाशे पुल बन्ने «

चाबहिल र मित्रपार्कमा आकाशे पुल बन्ने

काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ ।
आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् । पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए । उनले स्थानीयको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माणकार्य सम्पन्न हुने बताए ।
मेयर शाक्यले भने, “काठमाडौं महानगरपालिकामा ट्राफिक जामको समस्या धेरै छ । जहाँ गयो त्यहीँ ट्राफिक जाम हुन्छ । त्यसमा पनि चाबहिल चोक अति जाम हुने ठाउँ हो । बाटो फराकिलो छ तर जाम हुन्छ । पहिला पनि यहाँ स्थानीयको मागअनुसार चाबहिल चोकको दक्षिणपट्टि एउटा पुल हामीले बनाइसक्यौँ । त्यो पुल धेरै उपयोगी पनि भयो । धेरैले सरहाना पनि गरे । यस्तै पुल अर्को ठाउँमा पनि बनाइदिनुपर्छ भनेपछि चाबहिल चोकको उत्तरपटि शिलान्यास गरेका हौँ । अर्को एउटा पुल फेरि मित्रपार्कमा पनि शिलान्यास गरिएको छ । यही बाटोमा एउटा पुल कम्प्लिट गरिसक्यौँ, एउटा कम्प्लिट हुने अवस्थामा छ । जयवागेश्वरीमा पनि सुरु भइसकेको छ, तार व्यवस्थापनका लागि केही समय लागिरहेको छ । त्यो पनि चाँडै सकिन्छ । यो क्षेत्रमा नै ४ वटा पुल भइसकेपछि सडक दुर्घटना पनि कम हुने र पैदल यात्रीलाई धेरै सहज हुने अनुमान छ । स्थानीयबासीको सहयोग भए समयअघि नै काम सक्छौँ ।”
पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्सनले पाएको छ भने २०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नु पर्नेछ । दुवै पुल ३३ मिटर लम्बाइ र २ मिटर चौडाइको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्