एक खर्बको निर्यात हुँदा १० खर्ब आयात

चालू आर्थिक वर्षको ६ महिनामा एक खर्बको निर्यात हुँदा १० खर्बको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म आयात ५१ प्रतिशतले बढेर नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख आठ हजार रुपैयाँको सामान आयात भएको छ ।
यस्तै अघिल्लो वर्ष सो अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख ९४ हजार रुपैयाँको आयात भएको थियो । चालू आवको ६ महिनामा निर्यात ९५.४८ प्रतिशतले बढेर एक खर्ब १८ अर्ब ८५ करोड ९ लाख ६० हजार रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ६० अर्ब ७९ करोड ९२ लाख १४ हजार रुपैयाँको निर्यात भएको छ ।
सरकारले उच्च आयात नियन्त्रण गर्न पुस पहिलो साता नियन्त्रात्मक प्रावधान ल्याएको थियो । आंकडामा भने त्यसको प्रभाव परेको देखिँदैन । पुस महिनामा मात्र एक खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । आयात बढ्दै गएपछि सरकारले विलासी वस्तुको आयातमा रोक लगाएको थियो ।
आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात नहुँदा व्यापार घाटा ४६.६४ प्रतिशतले बढेर आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँको व्यापार घाटा भएको छ । गत वर्ष सो अवधिमा ६ खर्ब ४४ करोड ६१ लाख ८१ हजार रुपैयाँको व्यापार घाटा भएको थियो ।
विभागको तथ्यांकअनुसार चालू आवको पहिलो ६ महिनामा एक खर्ब १८ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ५४.८६ प्रतिशत बढी हो । गत आवमा वैदेशिक व्यापारको आकार ७२ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।
६ महिनाको आंकडा हेर्दा पेट्रोलियम पदार्थको आयातमात्र एक खर्ब ५३ अर्ब रुपैयाँको भइसकेको छ । फलाम तथा स्टिलको आयात ८४ अर्ब ९३ करोड रुपैयाँको भइसकेको छ । वनस्पति तेल तथा घिउजन्य वस्तुको आयात ७८ अर्ब नौ करोड र निर्यात ६८ अर्ब ६७ करोड रुपैयाँ बराबरको भएको छ । यस्तै ६१ अर्ब ७७ करोड ६४ लाख २९ रुपैयाँको सवारी साधन, ७६ अर्ब ३३ करोड १६ लाख ४८ हजार रुपैयाँको मेसिनरी पार्टस, ४२ अर्ब ७२ करोड ४५ लाख ७० हजार रुपैयाँको खाद्यान्न आयात भएको विभागको तथ्यांक छ । ६ महिनामा वस्तु तथा सेवा आयातवापत दुई खर्ब ५७ अर्ब ६० करोड ४६ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
चालू आवको पहिलो ६ महिनामा नेपालमा १ सय ४१ देशबाट नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रूपैयाँ मूल्य बराबरका वस्तु आयात भएको छ । विभागको तथ्याङ्कअनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।
भारतबाट सो अवधिमा ६ खर्ब तीन अर्ब ५४ करोड ५१ लाख रूपैयाँको आयात भएको छ । भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा चीनबाट एक अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख रूपैयाँ मूल्य बराबरका वस्तु आयात भएको छ ।
यसैगरी नेपालले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा भारततर्फ ९६ अर्ब ५६ करोड तथा चीनतर्फ ४५ करोड ६२ लाख ४७ हजार रूपैयाँ मूल्य बराबरका वस्तु निर्यात गरेको विभागले जनाएको छ ।