आठवटा प्रयोजनका लागि खाडी र मलेसिया जान पाइने «

आठवटा प्रयोजनका लागि खाडी र मलेसिया जान पाइने

सरकारले शुक्रबार गरेको खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक लगाउने निर्णयलाई आइतबार संशोधन गरी खुकुलो बनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले भिजिट भिसामा जान सबैलाई रोक लगाउने शुक्रबारको निर्णय खुकुलो बनाएको हो ।
सोमबारदेखि खाडी राष्ट्रबाहेक कम्तिमा दुई मुलुकको भ्रमण गरिसकेकालाई भ्रमण अनुमति दिइने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिअनुसार बिरामी कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई पनि जान दिइने छ, तर त्यसका लागि नेपाली दूतावासको सिफारिसपत्र परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्छ ।
यस्तै, वैदेशिक रोजगारी व्यवसाय प्रवद्र्धनका लागि जाने म्यानपावर कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधि पनि जान पाउनेछन् भने वार्षिक न्यूनतम ६ लाख रुपैयाँ करयोग्य आम्दानी भएर त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध व्यक्तिले पनि भिजिट भिसामा जान पाउने भएका छन् ।
साथै, नेपालमा सामान आयात–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधि, सरकारी कामको सिलसिलामा जाने प्रतिनिधि र अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि लगायतलाई पनि यो सुविधा दिइने विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी औद्योगिक तथा व्यावसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध विशिष्ट संस्थाको विशिष्ट कार्यका लागि जार्नुपर्ने संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरु पनि भिजिट भिसामा जान पाउनेछन् ।
कोभिड–१९ ओमिक्रोन भेरिएन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रुपमा फैलिँदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरू र मलेसिया गई बिचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचना प्राप्त भएको भन्दै माघ १० गतेदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि सरकारले शुक्रबारबाट त्यस्ता राष्ट्रहरूको भिजिट भिसामा भ्रमण गर्न जान रोक लगाइएको थियो । तर आइतबार नै सरकारले सो आदेशमा संशोधन गर्दै विभिन्न उद्देश्यले खाडी राष्ट्रहरु र मलेसियाको भिजिट भिसामा भ्रमणमा काम विशेषले जानेको हकमा सहज गरेको हो ।

प्रतिक्रिया दिनुहोस्