Logo

अर्थोडक्स चियाको निर्यात लागत तेब्बर बढ्यो

झापा-कोभिड–१९ भाइरसको महामारीका कारण अर्थोडक्स चियाको निर्यात लागत तीन गुणाले बढेको छ । महामारीयता विदेशी ढुवानी कम्पनीले अस्वाभाविक रूपमा मूल्य बढाउँदा निर्यात लागत तेब्बरले बढेको हो ।
झापाको नेचर हिमालय चिया उद्योगका अध्यक्ष डा. एकनारायण चापागाईंका अनुसार महामारीअघि १५ हजार किलो चिया रसिया निर्यात गर्दा पाँच हजार डलर खर्च हुन्थ्यो । “अहिले सोही परिमाणको चिया निर्यातमा १५ हजार डलर खर्च हुन थालेको छ,” उनले कारोबारसँग भने, “मूल्य वृद्धिअघि एक किलो अर्थोडक्स चियाको ढुवानी खर्च ४० रुपैयाँ थियो, अहिले प्रतिकिलोे १ सय १५ रुपैयाँ पुगेको छ ।”
चापागाईंका अनुसार महामारीपछि भारत र श्रीलंकाले युरोपियन मुलुकबाट हुँदै आएको आयातलाई घटाएका छन् । ती देशले ढुवानीका लागि प्रयोग गर्ने कन्टेनर युरोपियन मुलुकमा नै थुप्रिएपछि चिया ढुवानीका लागि मात्र युरोपियन मुलुकबाट कन्टेनर ल्याउनुपर्दा खर्च ह्वात्तै बढेको उनी बताउँछन् ।
ढुवानी गर्ने फ्रेन्च–अमेरिकी कम्पनीले आफूखुसी मूल्य वृद्धि गर्दा व्यापारिक चेन नै लथालिंग बनेको चापागाईंको भनाइ छ । ढुवानी मूल्यवृद्धि नियन्त्रणको कुनै पनि उपाय नेपाली निर्यातकर्ता र सरकारसँग नरहेको पनि उनी बताउँछन् ।
नेचर हिमालय चिया निर्यात गरी नेपालमा डलर भित्र्याउने साथै नेपाली अर्थोडक्स चिया विश्वबजारमा पु¥याउने पहिलो चिया उद्योग हो । नेचर हिमालयले यस वर्ष तीन लाख किलो अर्थोडक्स चिया रसिया निर्यात गरेको छ । उद्योगमा बाँकी ५० हजार किलो चिया निर्यातका लागि तयारी अवस्थामा छ । तीन लाख किलो चियाको निर्यात खर्चमात्र एक करोड ६० लाख रुपैयाँ पुगेको उद्योगका अध्यक्ष चापागाईंले जानकारी दिए ।
२०४७ सालपछि भारत र श्रीलंकाको चिया रसिया निर्यात गर्दै आएका चापागाईंले चार वर्षअघि झापामा पहिलोपटक अर्थोडक्स चिया उत्पादन सुरु गरेर नेपाली चिया रसियाको बजारमा पु¥याउँदै आएका छन् । “रसियामा भारत र श्रीलंकाको चिया पु¥याउँदा मलाई आफ्नै देशको उत्पादन किन नल्याउने भन्ने महसुस भयो, त्यसैले झापामा चिया उद्योगमा लगानी गरेर उत्पादन रसिया ल्याउन सुरु गरेको थिएँ,” उनी भन्छन्, “तर, रसियाको बजारमा श्रीलंका, भारत, चीन, भियतनामको चियासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ, ती देशहरूको उत्पादन र ढुवानी खर्च कम हुने र नेपालको धेरै हुनाले तेस्रो मुलुकमा चिया निर्यात चुनौतीपूर्ण बन्दै गएको छ ।”
हिमालय अर्थोडक्स टी एसोसिएसनका अध्यक्ष एवं गोर्खा टी स्टेट इलामका सञ्चालक उदय चापागाईं पनि नेपाली चियाको ढुवानी खर्च अस्वाभाविक रूपमा वृद्धि भएको बताउँछन् । कोरोना महामारीअघि १५ हजार किलो चिया जर्मन निर्यात गर्दा चार हजार डलर खर्च हुने गरेकोमा कोरोना महामारीपछि सोही परिमाणको चिया निर्यातमा १२ हजार डलर खर्च हुन थालेको उनले बताए ।
गोर्खा टी स्टेटले गत जेठदेखि मंसिरसम्म जर्मन, जापन, फिनल्यान्ड, चेकोस्लाभाकिया गरी ५५ हजार किलो अर्थोडक्स चिया निर्यात गरेको छ । जसको ढुवानी खर्चमात्र ५० हजार डलरभन्दा बढी परेको सञ्चालक चापागाईंले जानकारी दिए । “हामी उत्पादनकर्ता महँगो मूल्य तिरेर विश्वबजारमा चिया निर्यात गर्न बाध्य छौं,” चापागाईं भन्छन्, “कोभिडले अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजार पुग्न समस्या पैदा गरेको छ ।”
क्रेतासँगको व्यापारिक सम्बन्ध कायम राख्नका लागि भए पनि चिया निर्यात गरिरहनुपर्ने बाध्यता रहेको चापागाईं बताउँछन् । समुद्रपारिका मुलुकमा ‘फस्ट फल्स’ नेपाली अर्थोडक्स चिया लोकप्रिय रहे पनि ढुवानी खर्च धान्न नसक्दा नेपाली चियाको बजार सुरक्षित हुन नसकेको उनले बताए ।
“ढुवानी खर्च नियन्त्रण सरकारको पहुँचभन्दा बाहिरको कुरा भयो,” चापागाईंले भने, “सरकारले निर्यातकर्तालाई सहयोग गर्ने हो भने नेपालका लागि चुलिँदो व्यापार घाटा नियन्त्रणमा टेवा पुग्छ साथै लाखौं डलर नेपाल भित्र्न सक्छ ।” अन्तर्राष्ट्रिय बजारले खोज्ने गुणस्तरको प्रमाण पु¥याएर पूर्वीनाका काँकडभिट्टा हुँदै कोलकता पुग्ने अर्थोडक्स चिया कोलकाताबाट पानीजहाजमा श्रीलंका पु¥याइन्छ । यसपछि श्रीलंकाबाट जर्मनी हुँदै रसियासम्म पुग्ने गरेको छ ।
नेपालका नेचर हिमालय चिया उद्योग, गोर्खा टी स्टेट इलाम, हिमालय सांग्रीला टी स्टेड इलाम, कञ्चजंघा टी स्टेट पाँचथर, जुन चियाबारी उद्योग धनकुटा, गुँरास टी स्टेट धनकुटाले विश्व बजारमा नेपाली अर्थोडक्स चिया निर्यात गर्दै आएका छन् । यी उद्योगबाट जर्मनी, जापान, अमेरिका, रसिया, फ्रान्स, चेकोस्लाभाकिया, भारतलगायतका १३ वटा देशमा अर्थोडक्स चियाको निर्यात हुँदै आएको छ । चिया उद्योगले आफ्नै उद्योगको ब्रान्डमा चिया निर्यात गर्छन् ।

प्रतिक्रिया दिनुहोस्