कोभिड संक्रमणले प्रशासनको सेवा बन्द «

कोभिड संक्रमणले प्रशासनको सेवा बन्द

धनगढी– कर्मचारीलाई कोभिड–१९ संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीको सेवा बन्द भएको छ ।
प्रशासनले शनिबार एक सूचना जारी गरी केही कर्मचारीलाई कोभिड संक्रमण भएकाले अत्यावश्यक बाहेक सबै सेवा स्थगन गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले १५ जना कर्मचारीमा कोभिड संक्रमण भएको जनाएका छन् ।
उनलले अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवा स्थगन गरेको जनाएका छन् । उनले जारी गरेको सूचनामा कार्यालयमा कार्यरत अन्य कर्मचारीहरूमा पनि कोभिडको लक्षण देखिएको र उनीहरू सबै जना होम आइसोलेसनमा बसिरहेको जनाइएको छ । प्रशासनका एक जना प्रशासकीय अधिकृतसहित कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । सूचनामा शान्ति सुरक्षा र मुद्दा बाहेकका सबै सेवा स्थगन गरिएको जनाइएको छ ।
शनिबार सुदूरपश्चिममा ३ सय ८८ जना कोभिड संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालमा परीक्षण गरिएको २ सय ८२ नमुनामा पछिल्लो २४ घण्टामा १ सय ७६ जनामा संक्रमण देखिएको छ ।
सेती प्रादेशिक अस्पतालका अनुसार दैनिक परीक्षण गरिएको नमुनामध्ये ६० प्रतिशतभन्दा बढी संक्रमण पुष्टि हुँदै आएको छ । शुक्रबार २ सय ८२ जनाकै नमुना परीक्षण गर्दा १ सय ६४, बिहीबार २ सय ८३ जनाको नमुना परीक्षण गर्दा १ सय ६७, बुधबार २ सय ६३ जनाको नमुना परीक्षण गर्दा १ सय ६६, मंगलबार ३ सय २९ जनाको नमुना परीक्षण गर्दा १ सय ९९ र सोमबार १ सय ५६ जनाको नमुना परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै कैलाली र त्यसपछि कञ्चनपुरमा कोरोना संक्रमण भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा पीसीआर परीक्षणबाट पत्ता लागेका एक हजार ५ सय ५२ जना सक्रिय संक्रमित छन भने एन्टिजेन विधिबाट पत्ता लागेका २ हजार ९१ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्