डिवाईसीद्वारा विभिन्न स्थानमा न्यानो वस्त्र वितरण «

डिवाईसीद्वारा विभिन्न स्थानमा न्यानो वस्त्र वितरण

राधा माधव समिति नेपाल सम्बद्ध डिभाइन युथ क्लब (डिवाईसी ) नेपालका विभिन्न शाखाहरूद्वारा विद्यार्थीहरूलाई न्यानो वस्त्र वितरण गरियो । यस क्रममा श्रीकृष्ण प्रावि चापाकोट स्यांङ्खजाका २७ जना, चण्डेस्वरी आधारभूत विद्यालय रामथुम्की व्यास नपा ११ तनहुँका २५ जना, सरस्वती आधारभूत विद्यालय महाकाली २ मा ३७ जना, सिद्ध प्रावि घोराही उपमहानगर पालिका १ मा २५ जना, शिशु कल्याण सामुदायिक प्रावि खल्लंग पोखरा पनपा ३३ मा ५७ जना सहित कुल.१ सय ७१ विद्यार्थीलाई तत्–तत्स्थानमा आयोजित संक्षिप्त कार्यक्रमहरूकाबीच न्यानो वस्त्र वितरण गरियो ।
सो अवसरमा स्थानीय महानुभावहरूले डिवाईसीका भाइवहिनीहरूले खाजा खर्च जोगाएर गरेको यस उदाहरणीय पावन सेवाका निम्ति सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्दै क्लबबाट आगामी दिनमा दीन दुखीको सेवामा थप सक्रियताको अपेक्षा गरेका थिए । उपरोक्त कार्यक्रमहरूमा स्थानीय महानुभावहरू, राधा माधव समिति नेपाल तथा डिवाईसि नेपाल का स्थानीय पदाधिकारीहरूको उपस्थिति थियो ।
भक्तियोगरसावतार जगदगुरुत्तमश्री कृपालुजी महाराजको साधना र सेवाको दिव्य निर्देशन अनुशरण गर्दै नेपालका राष्ट्रिय सन्त स्वामी हरिदासजीको सत्प्रेरणाबाट डिभाइन युथ क्लव नेपालले विगत ९.वर्षयता विविध सामाजिक सेवाका कार्यहरू संचालन गर्दै आएको छ । यसै सिलसिलामा देशव्यापी न्यानो वस्त्र वितरण अभियान २०७८ अन्तर्गत यसअघि नेपालका विभिन्न ५ स्थानमा वितरण गरिएकोमा विपन्न विद्यार्थी तथा परिवारलाई लक्षित यस कार्यक्रमलाई अन्यत्र पनि द्रुतगतिमा विस्तार गर्ने डिवाईसीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्