Logo

मूल्यवृद्धि खारेज गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसमा आबद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन सुरु गरेको छ ।
शुक्रबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरूले काठमाडौंको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका स्थानमा भेला भई पेट्रोलियम पदार्थसहितको दैनिक उपभोग्य वस्तुहरूमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । त्यस क्रममा उनीहरूले मूल्यवृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका छन । मूल्यवृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियान समेत संचालन गरिएको र त्यो छिट्टै सरकारले बुझाउने नेपाल विद्यार्थी संघ, प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष आदर्श मल्लले जानकारी दिनु भयो । उनले कोरोना संकटमा पनि सरकारले दैनिक उपभोग्य बस्तुहरूको चर्को मूल्यवृद्धि गरेकाले त्यसको विरोध गर्नु परेको स्पष्ट पारे ।
विरोध प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अस्कल क्याम्पसका एकाइ समिति, नेपाल कमर्स क्याम्पसका एकाइ समिति, कोटेश्वर बहुमुखी क्याम्पसका एकाइ समिति र प्राविधिक विद्यार्थी परिषद्ले नेतृत्व लिएका छन । उनीहरूले मूल्यवृद्धि खारेज गर्ने आफूहरूको अभियानमा साथ दिन आह्वान गर्दै ‘मूल्यवृद्धि खारेज गर’ लेखिएको मास्कसमेत सर्वसाधारणलाई वितरण गरेका थिए ।
नेपाल आयल निगमले गत बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि ३ रुपैयाँ मूल्य बढाएको छ । यसले अन्य दैनिक उपभोग्य वस्तुहरूको समेत मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्